सन् २०१६ मा रिलिज भएको बलिउड फिल्म 'ए दिल है मुश्किल' मा पाकिस्तानी कलाकार फवाद खानले काम गरेका थिए। त्यसयता कुनै पाकिस्तानी कलाकारले भारतीय फिल्ममा काम गरेनन्।
पछिल्ला सात वर्षयता पाकिस्तानी कलाकारलाई भारतीय फिल्ममा खेल्न प्रतिबन्ध नै लगाइएको थियो। तर अब यो प्रतिबन्ध नलाग्ने भएको छ।
भारतको मुम्बई उच्च अदालतले हालै गरेको एक निर्णयले प्रतिबन्ध फुकुवा हुने र पाकिस्तानी कलाकारले भारतीय सिनेमामा काम गर्न पाउने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमहरूले लेखेका छन्।
टाइम्स अफ इन्डियाका अनुसार पाकिस्तानी कलाकारलाई प्रतिबन्ध लगाइराख्नुपर्ने अर्थात् अझै समय बढाउनुपर्ने माग गर्दै अदालतमा परेको रिट मुम्बई उच्च अदालतले खारेज गरिदिएको छ।
पाकिस्तानी कलाकारलाई भारतमा काम गर्न प्रतिबन्ध लगाउने रिट एक फिल्मकर्मी र फैज अनवर कुरेशीले दायर गरेका थिए। यसपछि यो मामिला मुम्बई उच्च अदालतमा पुगेको थियो। यो रिटमा भारत सरकारले पाकिस्तानी कलाकार, संगीतकार, गायक, गीतकार र टेक्निसियनमाथि प्रतिबन्ध लगाउन र उनीहरूसँग कुनै सम्बन्ध नराख्न माग गरिएको थियो।
सन् २०१६ मा भएको उरी हमलापछि इन्डियन मोसन पिक्चर प्रोड्युसर्स एसोसिएसनले कुनै पनि पाकिस्तानीलाई भारतीय फिल्ममा नलिने घोषणा गरेको थियो।
यो प्रतिबन्धका कारण भारतीय फिल्ममा जमेका पाकिस्तानी कलाकारहरू माहिरा खान, फवाद खान, आतिफ असलम, अली जफर, जावेद शेख र राहत फतेह अली खानलाई समेत असर परेको थियो।
जस्टिस सुनील बी शुक्रे र फिरदौस पूनीवालाले यसबारे आफ्नो विचार राख्दै भनेका छन्, 'यस्तो खालको प्रतिबन्धले सांस्कृतिक सदभाव, एकता र शान्तिलाई बढावा मिल्दैन।'
पाकिस्तानी कलाकारमाथि प्रतिबन्ध गर्नुपर्ने माग गर्दै हालिएको रिटमा 'योग्यता' नभएको भन्दै यसलाई खारेज गरिएको उनीहरूले बताएका छन्।
अदालतको बेन्चले पनि यसबारे प्रतिक्रिया दिएको छ।
'कला, संगीत, खेल, संस्कृति, नृत्य आदि यस्ता गतिविधि हुन् जो राष्ट्रियताभन्दा माथि छन्। संस्कृतिहरूले वास्तवमा दुई देशबीच शान्ति, एकता र सदभाव ल्याउँछन्,' बेन्चका भनाइ उद्धृत गर्दै टाइम्स अफ इन्डियाले लेखेको छ, 'सच्चा देशभक्त निःस्वार्थ हुन्छ। देशभक्त हुनका लागि कुनै अर्को देश, अझ खासगरी छिमेकी देशका मानिसहरूप्रति दुश्मनीको भावना राख्न जरूरी हुँदैन। सच्चा देशभक्त उही हो जो निःस्वार्थ हुन्छ र आफ्नो देशका लागि समर्पित हुन्छ।'
सन् २०१६ मा 'ए दिल है मुश्किल' भन्दा अगाडि पाकिस्तानी कलाकार फवाद खानले 'खूबसूरत' र 'कपूर एन्ड सन्स' मा देखिएका थिए। त्यस्तै शाहरूख खानको फिलम 'रइस' मा माहिरा खान र 'मेरे ब्रदर की दुल्हन' र 'किल दिल' मा अली जफरले काम गरेका थिए।
पाकिस्तानी गायक राहत फतेह अली खानले पनि थुप्रै भारतीय गीत गाएका छन्।