दिपिका पादुकोण पछिल्लो समय बलिउडमा सबभन्दा बढी चर्चा कमाएकी अभिनेत्री हुन्। हरेक फिल्ममा फरक–फरक भूमिका निर्वाह गरेकी उनले आफ्नो अभिनय कलाबाट दर्शक तथा समीक्षकहरूको प्रशंसा बटुल्दै आएकी छन्।
शाहरूख खानसँगको ‘ओम शान्ति ओम’ बाट बलिउडमा आफ्नो करिअर सुरू गरेकी दिपिकाले अहिलेसम्म रणवीर सिंह, रणवीर कपुर, सैफ अली खान, अक्षय कुमार, सिद्धान्त चतुर्वेदी लगायत थुप्रै अभिनेतासँग काम गरिसकेका छन्।
यसै क्रममा उनको नाम पहिले रणवीर कपुरसँग जोडिएको थियो। पछि उनले रणवीर कपुरसँग ब्रेकअप गरेर रणवीर सिंहसँग विवाह गरे। रणवीर सिंहसँग उनको नयाँ एक्सन फिल्म 'सिंघम एगेन' रिलिज हुने क्रममा छ।
यी सह–अभिनेताहरूमध्ये दिपिका पादुकोणलाई आफ्नो जोडी कोसँग सबभन्दा बढी जमेजस्तो लाग्छ त?
यो प्रश्नमा धेरैलाई या त रणवीर सिंह या शाहरूख खान भन्ने लाग्न सक्छ।
तर जब दिपिकासँग यही प्रश्न सोधियो, उनले यी दुईमध्ये कसैको नाम लिएनन्।
बलिउड निर्माता तथा निर्देशक करण जौहरले आफ्नो टेलिभिजन शो ‘कफी विथ करन’ को नयाँ संस्करणका लागि दिपिकासँग यही प्रश्न सोधेका थिए। उक्त कार्यक्रममा दिपिका आफ्ना पति रणवीर सिंहसँग सामेल भएका छन्। यो कार्यक्रम प्रदर्शन हुन बाँकी छ।
कार्यक्रममा करण जौहरले बलिउडका यी चर्चित जोडीलाई उनीहरूको फिल्मी करिअरदेखि व्यक्तिगत जीवनका विभिन्न प्रश्न सोधेका छन्।
त्यसै क्रममा करण दिपिकासँग सोध्छन्, ‘तपाईंलाई को अभिनेतासँग आफ्नो जोडी जमेजस्तो लाग्छ?’
जवाफमा दिपिका सँगै बसेका आफ्ना पति रणवीर सिंहको नाम लिँदैनन्।
उनी यसै वर्ष ‘जवान’ र ‘पठान’ गरी दुई सुपरहिट फिल्ममा सँगै काम गरेका शाहरूख खानको नाम पनि लिँदैनन्।
उनी भन्छन्, ‘मलाई हृतिक रोशनसँग मेरो जोडी सबभन्दा जमेजस्तो लाग्छ। अरूले पनि यस्तै महसुस गर्लान् भन्ने मैले ठानेको छु।’
रणवीर उनको जवाफमा टिप्पणी गर्दै भन्छन्, ‘म तिमीहरूको फिल्म हेर्न व्यग्र छु।’
दिपिका र हृतिक पहिलोपटक ‘फाइटर’ मा सँगै काम गर्दैछन्, जुन सन् २०२४ जनवरीमा रिलिज हुँदैछ। यही फिल्मका दुई रोमान्टिक गीत सुटिङका लागि उनीहरू हालै इटाली गएका थिए।
सिद्धार्थ आनन्द निर्देशित यो फिल्ममा अनिल कपुर र करण सिंह ग्रोवरको पनि मुख्य भूमिका छ।