बलिउड अभिनेता अक्षय कुमारको फिल्म 'मिसन रानीगञ्ज' ले बक्स अफिसमा राम्रो सुरूवात गरेको छ।
गत शुक्रबारदेखि प्रदर्शन भएको फिल्मले दुई दिनमा ७ करोड ५० लाख भारू कमाएको छ। २ करोड १० लाखमा ओपनिङ गरेको फिल्मले दोस्रो दिन ४ करोड ७० लाख भारू कमाएको हो।
आइतबार फिल्मको कमाइमा सुधार आउने बलिउड फिल्मकर्मीको आशा छ।
यो फिल्म सत्य घटनामा आधारित छ। ३४ वर्ष पहिला बंगालस्थित रानीगञ्जको कोइला खानीमा घटेको घटनालाई फिल्ममा देखाएको छ। त्यतिबेला अमृतसरका इन्जिनियर जसवन्त सिंह गिलले ६५ जना मजदुरको ज्यान बचाएका थिए। फिल्ममा जसवन्तको भूमिकामा अक्षय कुमार देखिएका छन्।
टिनु सुरेश देसाईंले निर्देशन गरेको फिल्ममा अक्षयसँगै परिणिती चोपडा, कुमुद मिश्रा, पवन मल्होत्रा, रवि किशन, वरुण बडोला, दिव्यन्दु भट्टाचार्य, राजेश शर्मा, वीरेन्द्र सक्सेना, शिशिर शर्मा, अनन्त महादेवन, जमील खान, सुधीर पाण्डे, बचन पचेरा, मुकेश भट्टलगायत कलाकारको अभिनय छ।