गेमिङ एप प्रचार गरेको आरोपमा बलिउड अभिनेता रणवीर कपूरलाई प्रवर्तन निर्देशनालय (इडी) ले सोधपुछका लागि बोलाएको छ।
भारतीय सञ्चारमाध्य दैनिक भास्करका अनुसार उनलाई ६ अक्टोबर अर्थात असोज १९ गते सोधपुछका लागि बोलाएको छ। महादेव अनलाइन बेटिङ एपको ५ हजार करोड भारू मनी लान्ड्रिङ प्रकरणमा रणवीरको नाम मुछिएको हो।
रणवीरसँगै टाइगर श्राफ, नुसरत भरूचा, सुखविन्द्र सिंह, नेहा कक्कड, सनी लियोनीसहित १७ जना बलिउड कलाकारले यस एपको प्रचार गरेको आरोप छ।
यस केसको मुख्य आरोपी सौरभ चन्द्राकरको विवाहमा रणवीर सहभागी थिए। दुबईमा भएको विवाहमा सौरभले २०० करोड भारू खर्च गरेका थिए।
उनको विवाह आर वान इभनेन्टले आयोजना गरेको थियो। मुम्बईस्थित यस कम्पनीमा छापा मार्दा सौरभले अवैध तरिकाले ११२ करोड भारू लगेको देखिएको थियो। ४२ करोड भारू होटल बुकिङमा खर्च गरिएको थियो।
गत शुक्रबार रायपुर, कोलकत्ता, भोपाल, मुम्बईलगायत स्थानमा छापामार गरेर ४१७ करोड भारू जफत गरेको थियो।