बलिउड अभिनेता आमिर खान र सनी देओल एकसाथ फिल्ममा काम गर्दैछन्।
उनीहरूले राजकुमार सन्तोषीले निर्देशन गर्ने फिल्म 'लाहोर १९४७' मा एकसाथ काम गर्ने लागेका हुन्। मंगलबार आमिर खान प्रोडक्सनले एक पोस्ट सेयर गर्दै फिल्मको नाम सार्वजनिक गरेको हो।
'म र आमिर खान प्रोडक्सनको पुरै टिम उत्साहित छौं। आगामी फिल्म सनी देओलसँग घोषणा गर्न पाउँदा निकै खुशी छौं। 'लाहोर १९४७' लाई राजकुमार सन्तोषीले निर्देशन गर्नेछन्,' उक्त पोस्टमा लेखिएको छ। निर्माण टिमले अहिलेसम्म फिल्मको कहानीबारे खुलासा गरेका छैनन्।
आमिर पछिल्लो समय 'लाल सिंह चड्ढा' मा देखिएका थिए। यो फिल्म बक्स अफिसमा फ्लप सावित भएको थियो। यसअघि आमिरको फिल्म 'ठग्स अफ हिन्दोस्तान' पनि बक्स अफिसमा असफल भएको थियो। लगातार दुई फिल्म फ्लप भएपछि आमिरले समय लिएर फिल्ममा काम गर्ने बताएका थिए।
यतिबेला सनी देओलको फिल्म 'गदर २' प्रदर्शन भइरहेको छ। यस फिल्मले भारतीय बक्स अफिसमा ५२४ करोड भारूबढी कमाइ गरिसकेको छ।