एमाले मधेस संसदीय दलका नेता सरोजकुमार यादवलाई होटलमै मुख्यमन्त्री नियुक्त गर्दै शपथसमेत गराएपछि अहिले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी चर्चामा छिन्।
संविधानको धारा १६८ (२) अनुसार सरकार गठनको निम्ति आह्वान गर्न भन्दै लोकतान्त्रिक समाजवादी पार्टी सहितका दलले धर्ना दिन थालेपछि त्यसलाई छल्न प्रदेश प्रमुख भण्डारी काठमाडौं जाने भन्दै जनकपुरबाट निस्किएकी थिइन्।
तर बर्दिबासको पानस होटल पुगेर उनले एमाले दल नेता सरोज यादवलाई मुख्यमन्त्री बनाएपछि आलोचना भइरहेको छ।
प्रदेश प्रमुख भण्डारीले आफूखुसी यादवलाई मुख्यमन्त्री नियुक्त गरेकी होइनन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र पनि हुन्।
अध्यक्ष ओलीले नै संविधानको धारा १६८ (३) अनुसार यादवलाई ठूलो दलको हैसियतले मुख्यमन्त्री बनाउन प्रदेश प्रमुख भण्डारीलाई दबाब दिएका थिए।
त्यसको प्रतिवाद अहिले एमालेभित्रै भइरहेको छ। एमाले मधेस प्रदेशमा प्रमुख सचेतक हरिनारायण महतोले यसबाट दल र पार्टीकै बेइज्जत भएको बताएका छन्।
प्रदेश प्रमुख भण्डारीले होटलमा शपथ गराएपछि नेपाली कांग्रेस, नेपाली कम्युनिस्ट पार्टी, जनमत, नागरिक उन्मुक्ति लगायत दलले विरोध सुरू गरेका छन्। उनीहरूले मुख्यमन्त्री कार्यालय तोडफोड गर्नुका साथै कर्मचारी, प्रहरी समेतलाई हातपातको प्रयास गरेका थिए।
यसरी चौतर्फी विरोध निम्त्याउन उद्यत हुने गरी होटलमा शपथ खुवाउने प्रदेश प्रमुख भण्डारी २०७८ सालमा डेनमार्कका लागि राजदूत सिफारिस भएकी थिइन्। २०७८ वैशाखमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला उनले डेनमार्कका लागि राजदूत सिफारिस गरेका थिए।
२०७८ असारमा सर्वोच्च अदालतको परमादेशमार्फत् ओली सरकार ढलेपछि भण्डारीसहित त्यति बेला प्रस्तावित ११ जना राजदूत बन्न पाएका थिएनन्।
त्यसको दुई वर्षपछि २०८० फागुन २९ गते ओलीकै सिफारिसमा उनी प्रदेश प्रमुख बनेकी थिइन्। त्यति बेला एमाले र माओवादी केन्द्रबीच गठबन्धन भएको थियो।
गठबन्धन भई सरकार हेरफेर भएको ८ दिनमै ओली–प्रचण्डले प्रदेश प्रमुख फेर्ने निर्णय गरेका थिए। र, सुमित्रा सुवेदी भण्डारी मधेस प्रदेश प्रमुख बनेकी थिइन्।
ओलीले भण्डारीलाई नै अघि सार्नुको कारण उनी झापा, दमककै हुन्। दमक ओलीको निर्वाचन क्षेत्र हो।
६४ वर्षीया भण्डारी एमालेको पूर्णकालीन कार्यकर्ता हुन्। एमालेमै आबद्ध भएका कारण उनले पटक पटक लाभको पद पनि पाउँदै आएकी थिइन्।
भण्डारी झापामा लामो समय अखिल नेपाल महिला संघकी नेता भनेर चिनिएकी थिइन्। उनी तीन कार्यकाल त अनेमसंघ झापा जिल्लाको अध्यक्ष नै बनिन्।
प्रदेश प्रमुख भण्डारीले नेपाल परिवार नियोजन संघमा पनि काम गरेको एमाले नेताहरूले बताएका छन्। दमकमा रहेको स्थानीय खानेपानी समिति र जिल्ला शिक्षा समितिमा पनि काम गरेकी थिइन्।
उनले केही समय अध्यापनसमेत गरेकी थिइन्। पूर्णकालीन राजनीतिमा लाग्ने भएपछि उनले शिक्षण पेशा छाडेको एमालेका नेताहरूले बताएका छन्।