सुजित बिडारीकाे लेखन तथा निर्देशन रहेको 'ऐना झ्यालको पुतली' निर्माण सकिएको करिब पाँच वर्षपछि शुक्रबारबाट प्रदर्शनमा आएको छ।
सार्वजनिक प्रदर्शनअघि नै यो फिल्मले विभिन्न अन्तर्राष्ट्रिय महोत्सवहरूमा अवार्ड पाइसकेको छ। यही फिल्मबाट निर्देशक बिडारीले ढाकामा उत्कृष्ट निर्देशकको अवार्ड जितेका थिए। यो बुसान महोत्सवको ३० हजार डलर पुरस्कारमा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली फिल्म हो। प्रतिस्पर्धामा यो अन्तिम दसमा परेको थियो।
अहिलेसम्म जतिले यो फिल्म हेरे, उनीहरू सबैले यसपालि रिलिज भएका फिल्मको लहरमा सबभन्दा उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।
'ऐना झ्यालको पुतली' विद्या (कञ्चन चिमरिया) को जीवन वरिपरि घुम्छ।
उनी सहर गएर माध्यमिक विद्यालयमा पढ्न चाहन्छिन्। गाउँमा सधैं प्रथम हुने विद्यालाई आठ कक्षामा पनि प्रथम हुनुछ। किनभने आठ कक्षाको नतिजा उनको सहर गएर पढ्ने सपनासँग जोडिएको छ। आठ कक्षामा प्रथम हुनेले माध्यमिक विद्यालयमा अध्ययन गर्न छात्रवृत्ति पाउँछ। विद्या जसरी भए पनि यो छात्रवृत्ति जित्न चाहन्छिन् र सहर गएर अगाडिको पढाइलाई निरन्तरता दिन चाहन्छिन्।
तर उनको सपना चकनाचुर हुन्छ।
विद्या आठ कक्षाको परीक्षामा दोस्रो हुन्छिन्। आफ्नो मिहिनेतप्रति भरोसा भएकी विद्यालाई जाँचको नतिजा स्वीकार्य हुँदैन। उनी आफ्नो नम्बर पुनर्योग गर्न चाहन्छिन्। तर निम्न माध्यमिक तहको परीक्षामा यस्तो सुविधा नभएको शिक्षकले बताउँछन्।
विद्याकी आमा (सिरू विष्ट) लाई पनि छोरीप्रति पूर्ण विश्वास छ। उनलाई आफ्नी छोरी प्रथम हुनेमा शंका छैन।
विद्या भने सहर गएर पढ्न नपाइएला भन्ने डरले आफू दोस्रो भएको कुरा घरमा लुकाउँछिन्।
सत्य कति दिन लुक्छ र!
एकदिन उनका भाइ वसन्त (दिनेश खत्री) ले दिदी दोस्रो भएको थाहा पाउँछ। वसन्तलाई पढ्नभन्दा फिल्म हेर्न रूचि छ। उनी आमाकाे मुखबाट दिदीले जस्तै पढ्नुपर्छ भनेको सुन्दासुन्दा दिक्क भइसकेका छन्। फिल्म हेर्नकै लागि घरको पैसा चोर्नधरि पछि नपर्ने वसन्तलाई दिदीको झूट थाहा भएपछि कहिले आमालाई कुरा लाइदिऊँ जस्तो हुन्छ।
यहाँ विद्याका बाबु पनि उनको सपनामा बाधक बन्छन्। छात्रावृत्ति नपाउने भएपछि उनी छोरीलाई सहर पठाउन आनाकानी मात्र गर्दैनन्, छोरीको पढाइ निम्ति आमाले जम्मा गरेको पैसा चोरेर रक्सीमा उडाउँछन्।
यसरी स्कुल जाने विद्याको सपनामा एकपछि अर्को चिरा पर्दै जान्छ।
जसरी पखेटा चुँडिएको पुतली उड्न नसकेर भुइँमा फ्याटफ्याट गर्छ, विद्या पनि आफ्नो टुटेको सपना स्याहार्दै स्कुल पोसाकमै घरको पिँढीमा छटपटाउँछिन्।
त्यही बेला घरमा उनका भाइ वसन्त साँझको दियो बाल्छन्।
पिँढीमा फडफडाइरहेको विद्याको सपना र घरभित्र बलेको साँझको भरभराउँदो दियोको संयोजन फिल्मको उत्कृष्ट दृश्यमध्ये एक हो। यसमा निराशाका बीच पनि आशाको धिपधिपे उज्यालो छ।
त्यसपछि के हुन्छ?
के विद्याको सहर गएर पढ्ने सपना पूरा होला? उनले आफ्नो सपनाको यात्रामा के-कस्ता अड्चन झेल्नुपर्ला?
'ऐना झ्यालको पुतली' ले विद्याको यही सपनाको उडानलाई पछ्याउँछ।
विद्याको सपना र वसन्तको रहरमा आउने बाधालाई फिल्ममा एकदमै सरल, सहज र यथार्थपूर्ण ढंगले प्रस्तुत गरिएको छ। फिल्मको कथा जति सरल छ, पटकथा उत्तिकै सहज छ।
डेढ घन्टा लामो फिल्म सुरूदेखि अन्तसम्म खोलाजस्तै सलल बग्छ। फिल्मको कथा बुझ्न दिमागमा जोडबल लगाइरहनुपर्दैन, तर जसै फिल्म सकिन्छ यसले तपाईंको दिमाग नराम्ररी हल्लाइदिन्छ।
तपाईंलाई वर्तमानबाट एकैचोटि बाल्यकालमा फर्काउँछ। स्कुले जीवनको याद दिलाउँछ।
ग्रामीण भेगमा हुर्केका र ग्रामीण स्कुलमा पढेकाहरूलाई फिल्मका एक-एक दृश्य यस्तो लाग्छ, मानौं आँखाअगाडि पर्दामा आफ्नै जीवनकथा चल्दैछ। जो सहरमा हुर्के र सहरकै स्कुलमा पढे, उनीहरूले पनि यो फिल्म हेर्दा गाउँले परिवेश र त्यहाँको विद्यालय जीवनसँग साक्षात्कार हुन पाउने छन्।
निर्देशक बिडारीले यो फिल्म एकदमै प्रेमपूर्वक बनाएका छन्। एक-एक दृश्य यस्तरी संयोजन गरेका छन्, जसरी रूखका हाँगाहरूको कापमा चराले गुँड बनाउँछ। उनले सानोभन्दा सानो कुरा पनि मिहिन रूपमा हेरेका छन्।
फिल्म भनेको दृश्य माध्यम हो। कुशल निर्देशकहरू वजनदार संवादबाट भन्दा वजनदार दृश्यबाट आफ्नो कथा अगाडि बढाउँछन्। त्यस्तै दृश्यले लामो समय दर्शकको मन छोइरहन्छ। संवाद बिर्सन सकिन्छ तर दृश्यले पारेको छाप रहिरहन्छ। यो फिल्ममा दृश्य माध्यमबाट कथा भन्न निर्देशक बिडारीले एकदमै राम्रो प्रयास गरेका छन्।
एउटा दृश्यमा विद्यालाई सिंगारिन मन लाग्छ। त्यसअघि कहिल्यै शृंगारमा ध्यान नदिएकी विद्या ऐना हेर्दै आँखामा गाजल र गालामा लाली लगाउँछिन्। यसो गर्दा उनको अनुहारमा लाजको भाव प्रस्टै झल्किन्छ। यही एउटा दृश्यले किशोरावस्था प्रवेश गर्दै गरेकी विद्याको मनको हलचल छर्लंग पार्छ।
विद्याले ऐनाअगाडि उभिएर शृंगार गरेको केही दिनपछि नै उनको पहिलो रजस्वला सुरू हुन्छ। दृश्यका माध्यमबाट पात्रको जीवनमा आइरहेको परिवर्तन झल्काउने निर्देशकको यो तरिका बेजोड छ।
पहिलोचोटि रजस्वला हुँदा दिदीबहिनीले आफ्ना दाजुभाइ हेर्न नहुने सामाजिक मान्यता पनि फिल्ममा देखाइएको छ। त्यो बेला विद्याकी भाइलाई हुने कौतूहल फिल्मको सुन्दर दृश्य हो।
निर्देशक बिडारीले गाउँको शिक्षा मात्र होइन, सामाजिक परिवेशमा पनि एकदमै 'माइक्रोस्कोपिक' नजर लगाएका छन्।
पहिला गाउँमा टेलिभिजन हुनेको बेग्लै सान हुन्थ्यो। जसको घरमा टिभी हुन्थ्यो, गाउँभरिका बच्चा उसैकहाँ जम्मा हुन्थे। कतिले यसरी आउने बच्चाहरूसँग पैसा लिएर मात्र टिभी हेर्न दिन्थे। बच्चा मात्र होइन, गाउँका बूढापाका र तन्नेरी पनि त्यही घरमा टिभीअगाडि डल्लो पर्थे। टिभी हेर्ने क्रममा धेरैजसो महिलाको हात खाली हुन्थेन। उनीहरूका आँखा टिभीमा टाँसिएका हुन्थे, हात कुनै काममा व्यस्त हुन्थे।
फिल्ममा टिभी हेर्दै मकै छोडाइरहेका बालबालिकाको दृश्यले गाउँको त्यही समय झल्झल्ती सम्झाउँछ। यसले फिल्मलाई वास्तविकताको नजिक पुर्याउँछ।
फिल्मको अर्को दृश्यमा विद्याले स्कुलको निम्ति एउटा कविता लेखेकी हुन्छिन्। तर फिल्म हेर्न नपाएको झोकमा उनका भाइले त्यो कविता फालिदिन्छन्। पछि स्कुलका पालेदाइ 'मुना' किताबमा छाप्न कविता माग्दै आउँछन्।
वसन्तले दिदीले लेखेको त्यही कविता छपाउने योजना बनाउँछन्। उनी बाँसको झ्याङमा फालेको कविता टिप्न जान्छन्।
यो घटना फिल्मको मुख्य कथावस्तुभन्दा बाहिर छ तर यति सानो घटनालाई पनि निर्देशकले उठान गरेपछि यत्तिकै बीचमा छाडेका छैनन्। यो घटनाले बाल मनोविज्ञानको झलक पनि दिन्छ। यस्तै बाल मनोविज्ञान झल्काउने थुप्रै दृश्य फिल्ममा छन्।
फिल्ममा मुख्य भूमिका खेल्ने कञ्चन चिमरियादेखि सिरू विष्ट, दिनेश खत्री, राज थापा, बिशा चाम्लिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ लगायत सबै कलाकारको अभिनय उत्कृष्ट छ। कञ्चन, दिनेश, राज लगायतको त यो पहिलो फिल्म हो। तर उनीहरूको अभिनय हेर्दा पहिलो फिल्मजस्तो कतै देखिँदैन। उनीहरूले परिपक्व अभिनय गरेका छन्।
खासगरी कञ्चन चुलबुले बालापन र आफ्नो सपनाप्रति दृढ किशोरी दुवै भूमिकामा बराबरी जमेकी छन्। उनको अभिनयमा कहीँ बनावटीपन छैन। उनलाई हेर्दा कुनै बालिका अगाडि उभिएर आफ्नो कथा सुनाइरहेजस्तो भान हुन्छ।
फिल्मको छायांकन राम्रो छ। अनावश्यक क्यामरा हल्लाउने र जहाँसुकै ट्रली र क्रेन सटले दिमाग खल्बल्याउने रोगबाट फिल्म मुक्त छ। दृश्यहरू त्यसरी नै पर्दामा देखिन्छन्, जसरी हाम्रो आँखाले देख्छ।
फिल्मको पटकथाले सुरूदेखि अन्तसम्म बाँधेर राख्छ। फिल्मलाई राम्रो बनाउन कुनै मरमसला हालिएको छैन। अर्गानिक स्वादको फिल्ममा संवादहरू पनि अर्गानिक छन् — हामीले दैनिक जीवनमा बोल्नेजस्तो, हामीले गाउँघरमा सधैं सुन्नेजस्तो।
'ऐना झ्यालको पुतली' को सबभन्दा सम्झनलायक पक्ष के हो भने, यो फिल्म जति सरल छ, त्यति नै सुन्दर छ।
यो फिल्म ऐना झ्यालको पुतलीजस्तै छ — सानो तर सुन्दर।