नेपाली सिनेमामाथि आरोप छ- यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।
यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यद्यपी बेलाबेला नेपाली सिनेमाले केही पृथक दिन्छ।
गत शुक्रबार रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित 'आमा' एउटा त्यस्तै सिनेमा हो। चार वर्ष पहिला 'पशुपति प्रसाद' मा भुइँमान्छेको कथा भनेर नेपाली दर्शकलाई एउटा उत्कृष्ट समय पस्किएका दीपेन्द्रले त्यही प्रयास 'आमा' मार्फत गरेका छन्।
सिनेमाले नेपाली समाजको वर्तमान अवस्था बोलेको छ।
सन् १९५७ मा मेहबुब खानको निर्देशनमा 'मदर इण्डिया' नामक सिनेमा रिलिज भएको थियो। 'मदर इण्डिया'ले एउटी भारतीय महिलालाई 'विम्व'का रुपमा प्रस्तुत गर्दै कसरी उनी आफ्नो आत्मसम्मानमा सम्झौता रक्षा गर्दै सत्यको पक्षमा विशेषगरी नारी गरिमाको लागि सन्तान मोह त्यागेर न्यायको बाटो रोज्छिन् भन्ने देखाएको थियो। यसका अलावा कृषि प्रधान तात्कालीन भारतको समाज पनि सिनेमाले प्रस्तुत गरेको छ।
तर ठीक यसको विपरित दीपेन्द्रको 'आमा' सिनेमाले भने अप्रिय परिस्थितिसँग जुध्न विवश एउटी आमा-श्रीमतीको कथा भन्छ। सिनेमाले भाइ, छोरा श्रीमान मुग्लान पसेपछि यता आमा, श्रीमती र दिदीबहिनीले भोग्नुपर्ने पीडा र गर्नुपर्ने संघर्ष देखाउँछ।
सिनेमाले लडेपछि टाउकोमा रगत जमेका एक पात्रलाई उपचारका लागि अस्पतालमा भर्ना भएपछि उनीहरूले भोग्ने पीडा र त्यसबाट उम्कन गर्ने संघर्ष पेस गर्छ।

यो सँगै नेपाली समाजको पित्तृसमाजको मनोविज्ञानले एउटा महिला कुन स्तरको अन्तरस्करणसम्म पोषिएकी हुन्छे भन्ने कुरा सिनेमामा मिथिला शर्माको चरित्रमा देख्न सकिन्छ। यता छोरी सुरक्षा पन्त (छोरी)ले उपचाररतः बाबुको ज्यान बचाउन आफ्नै परिवारसँग लडिरहेकी हुन्छिन् भने उता आमा (मिथिला शर्मा)ले पटकपटक छोरा(अर्पण थापा) खोजिरहन्छिन्। यो परिस्थितिको गतिलो जवाफ सिनेमाको अन्तिममा मिल्छ। सिनेमाले अब बन्ने नयाँ आमाहरू कसरी बलियो हुँदैछन् भन्ने देखाएको छ।
रेमिट्यान्सले देशमा धेरै घरका रंग उज्याला र जग बलिया भएका छन्। तर यसले पारिवारिक-सामाजिक खुशीको रंग पनि उसैगरी खुइल्याएको छ।
सिनेमाले 'टेक्स्ट'मा जति कुरा भन्छ त्यो भन्दा बढी यसको 'सब-टेक्स्ट'मा सिनेमाले धेरै कुरा भन्छ, अनुभूत गराउँछ। यसको महशुस आफ्ना परिवारका सदस्य बाहिर जान बाध्य दर्शकहरूले मनदेखि नै बुझ्छन्। यो नै सिनेमाको सबल पक्ष हो।

सिनेमाले नेपाली समाजको एउटा सामान्य मध्यम वर्गले भोग्ने पीडालाई सजिव रूपमा प्रस्तुत गरेको छ। सिनेमाले नेपालमा सब हुनु तर विरामी नहुनु भन्ने देखाएको छ। अस्पतालका लागि कसरी एउटा मान्छे जीवन नभई एउटा कमाउने अवसर हुन्छ भन्ने कुरा मन कटक्क खान्छ भने अर्को तर्फ डा. केसीको लडाइँ सम्झाइदिन्छ। योसँगै सिनेमाले बदलिँदै गएको नेपाली समाजमा छोरी, आमा, श्रीमतीका भूमिकाहरू पुरुषहरूको अनुपस्थितिमा परिवर्तन हुँदैछ र विपरीत परिस्थितिमा लड्न उनीहरू कसरी तयार हुँदैछन् र हुनुपर्छ भन्ने देखाएको छ।
कुनै पनि कुरा एकोहोरो भइरहँदा त्यो मानिसका लागि झिँजो लाग्दो हुन्छ। निर्देशक खनालले वर्षातको समयमा पात्रको भोगाइलाई प्रस्तुत गर्दै दर्शकलाई आफ्नो कथामा एकोहोरो बनाएका छन्। यो उनको निर्देशकीय खुबी हो। उनको यो खुबीले सिनेमालाई अब्बल बनाएको छ।
यसको मतलब सिनेमा कमजोरीमुक्त छ भन्ने होइन। कमजोरीका बाबजुद निर्देशकले पर्दामा प्रस्तुत कथाको संवेदनाले दर्शकलाई बाँधिराख्छ। यो उपक्रममा पहिलो हाफमा भन्दा दोश्रो हाफमा ज्यादा छ। सिनेमा सबैभन्दा बलियो नै यो भागमा छ। निर्देशकले संवेदना दर्शकको मन जम्मा गराउने ध्याउन्नमा कथालाई पहिलो हाफमा केही समय रोकेका छन्। यहाँ प्रशस्तै कैंची चलाउने ठाउँ छन्। उनले पटकथालाई थप कसिलो बनाउन सक्थे। त्यसमा उनी चुकेका छन्।

सिनेमा सबैभन्दा तारिफयोग्य कलाकारहरुको अभिनय हो। मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, अशान्त शर्मा, अर्पण थापा आदिले आफ्नो पात्रलाई जीवन्त बनाएका छन्।
विशेषगरी सिनेमाभर सुरक्षा पन्तको अभिनय एकनासको छ, उत्कृष्ट छ। यस्तै पर्दामा नदेखिए पनि संवादमा मात्र सुनिने अर्पण थापाको आवाजको उपस्थितिले उनको भौतिक अनुपस्थितिलाई कम हुन दिएको छैन।
यसैगरी लक्ष्मी भूषाल र मनिष निरौलाले पनि राम्रो काम गरेका छन्।
यस्तै सरिता गिरीले पनि असरदार अभिनय गरेकी छन् भने अशान्त शर्मा आफ्नो भूमिकामा स्वभाविक छन्।
सिनेमाको अर्को उल्लेखनीय पक्ष यसको पार्श्वध्वनि हो। यो कथाको लय अनुसार प्रयोग भएको छ। ४:३ फर्म्याटको छायाँकनले पात्रहरूको मनोदशालाई राम्ररी कैद गरेको छ। सट कम्पोजिसनले पनि सिनेमालाई थप बलियो बनाएको छ।

संवादहरू कहीँ कतै पात्रभन्दा बोझिला भाषामा भन्न लगाइएको छ। त्यसलाई साधारण भाषामा पनि उत्तिकै गहन बनाउन सकिन्थ्यो। यद्यपी सिनेमा हेरिरहँदा त्यसले खासै असर पारेको छैन।
'आमा' आफूले भन्न खोजेको कथामा लगभग खरो उत्रेको सिनेमा हो। सिनेमा हेरिरहँदा दर्शकले आफूलाई सिनेमा कहिले आफ्नो प्रत्यक्ष अनुभवका रुपमा भेट्छन् भने कहिले अप्रत्यक्ष रूपमा । सिनेमा यसै कुराले दर्शकलाई आफूतिर तान्न सफल भएको छ।
समग्रमा भन्नुपर्दा यस वर्ष बनेको एउटा उच्च कोटीको सिनेमा जसले सबै वर्गका दर्शकलाई आफूतिर आकृष्ट गर्छ। 'आमा' यो वर्षको एउटा छुटाउन नहुने नेपाली सिनेमा हो।