कर्णाली साहित्य समाज सुर्खेतले स्थापना गरेको कर्णाली प्रदेशकै ठूलो राशीको पुरस्कार ‘मोहपथ’लाई प्रदान गरेको छ।
ललित विष्टद्वारा लिखित 'मोहपथ'लाई ५० हजार राशीको पुरस्कार प्रदान गरिएको हो।
बुधबार सुर्खेतको वीरेन्द्रनगरमा एक कार्यक्रमको आयोजना गरी कर्णाली साहित्य समाजले स्थापना गरेका विभिन्न पुरस्कार श्रष्टा तथा कृतिलाई प्रदान गरिएको हो।
यसैगरी, शताब्दी पुरूष सत्यमोहन जोशीलाई ‘कर्णाली साहित्य समाज साधना सम्मान’ प्रदान गरिएको छ।
यो सम्मान जोशीले नेपाली भाषा, साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै प्रदान गरिएको कर्णाली साहित्य समाजका अध्यक्ष खगेन्द्र अधिकारी 'अमृत'ले जानकारी दिए।
नेपाली लोक साहित्य, लोकगीत र वाद्यवादनको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै लोकसाधक प्रेमदेव गिरीलाई २५ हजार राशीको ‘कर्णाली साहित्य समाज प्रतिभा’ पुरस्कार प्रदान गरिएको छ।
शताब्दी पुरूष जोशीलाई सुर्खेत बोलाएर प्रत्यक्षरूपमा सम्मान गरिने योजना भए पनि स्वास्थ्य अवस्थाका कारण उनी उपस्थित हुन नसकेको अधिकारीले जानकारी दिए।
जोशीको तर्फबाट कर्णाली साहित्य समाजका संरक्षक महेशविक्रम शाहले उक्त सम्मान ग्रहण गरेका छन्।