गुड फ्राइडे सिनेमा
गत सोमबार ओस्कर अवार्डको २३ विधामा मनोनित उत्कृष्ट फिल्मको नाम सार्वजनिक भयो। यो सूची सार्वजनिक भएसँगै ओस्करमा मनोनित फिल्महरू डिजिटल प्लेटफर्ममा खोजेर हेर्ने क्रम तीव्र भएको छ।
तपाईं 'ननफिक्सन'मा रूचि राख्नुहुन्छ भने यसपालि ओस्करमा मनोनित 'बेस्ट डकुमेन्ट्री सर्ट सब्जेक्ट' विधाका केही फिल्म युट्युबमा सहजै हेर्न सक्नुहुनेछ।
यो विधामा 'कोलेट', 'अ कन्सर्टो इज अ कन्भर्सेसन', 'डु नट स्प्लिट', 'हंगर वार्ड' र 'अ लभ सङ फर नताशा' बीच प्रतिस्पर्धा हुँदैछ।
यहाँ युट्युबमा उपलब्ध 'अ कन्सर्टो इज अ कन्भर्सेसन', 'कोलेट' र 'डु नट स्प्लिट' बारे छोटो जानकारीसहित लिंक दिइएको छ।
अ कन्सर्टो इज अ कन्भर्सेसनः
अ कन्सर्टो इज अ कन्भर्सेसन दुई व्यक्ति बीचको कुराकानीमा बुनिएको छ। क्यामरामा सिधा हेरेर ती पात्रले दर्शकलाई अमेरिकाको काला वर्णका मानिसको जीवन कहानी सुनाउँछन्। उनीहरूको भावनात्मक लडाइँ र सफलताको यो कथासँगै डकुमेन्ट्रीको प्रस्तुतिले पनि मन जित्छ।
डकुमेन्ट्रीले १३ मिनेटमा ज्याज पियानोवादक र फिल्म कम्पोजर क्रिस बोवर्स र उनका हजुरबुवा होरेस बोवर्सको जीवन चित्र उतारेको छ।
क्रिस बोवर्स हलिउडका उदीयमान संगीतकार हुन्। ओस्कर बिजेता 'ग्रीन बुक' फिल्मका संगीतकार उनले वाल्ट डिजनी कन्सर्ट हल, लस एन्जलसमा 'फर अ यंगर सेल्फ' नाममा भायलिन कन्सर्टो प्रिमियर गरेर फेरि चर्चामा आए। डकुमेन्ट्रीमा हजुरबुवा होरेस बावर्सले अप्ठ्यारो परिस्थितिमा पनि लस एन्जलसमा कसरी ड्राइ क्लीनिङ व्यवसायी बन्छन् देखाइएको छ।
कोलेटः
९० वर्षीय कोलेट मारिन-क्याथरिन संघर्ष र त्रासदीको ज्यूँदो साक्षी हुन्। कोलेट नाजी जर्मनीविरूद्ध फ्रान्सेली प्रतिरोध गर्ने थोरै जीवित सदस्यमध्येकी एक हुन्। २५ मिनेटको यस डकुमेन्ट्रीमा नाजी जर्मनी र दोस्रो विश्वयुद्धका बेलाको कथा कोलेटको नजर र भोगाइबाट भनिन्छ।
नाजीहरुले बनाएको मानव बधशाला भनिने यातना शिविरमा उनको भाइको मृत्यु भोगेकी उनले चाहेर पनि इतिहासका नमीठा क्षण बिर्सन सक्दिनन्।
डु नट स्प्लिटः
सन् २०१९-२० को हङकङ प्रदर्शन धेरै कारणले ऐतिहासिक बन्यो। सन् २०१९ जुनमा हङकङमा तत्कालीन प्रस्तावित विधेयकविरूद्ध आन्दोलन भएको थियो।
जारी 'एन्टी एक्स्ट्राडिसन' विधेयकले अभियुक्तहरूलाई चिनियाँ मूलथलोमा निर्वासन गर्न पाउने अनुमति दिएको थियो। यही विधेयकलाई लिएर भएका आन्दोलन र प्रहरी दमनबारे नर्वेजियन निर्देशकले बनाएको डकुमेन्ट्री हो 'डु नट स्प्लिट'।
३५ मिनेट लामो यस डकुमेन्ट्रीले हङकङको सडकमा सन् २०१९ मा भएका प्रदर्शन र प्रहरी दमनका शृंखलाबद्ध दृश्य कैद गरेको छ। यसमा 'एन्टी एक्स्ट्राडिसन' कानुन संशोधन विधेयकबारे प्रदर्शनकारी र विज्ञका विचारहरू पनि समेटेको छ।
विभिन्न पुरस्कार जितेर चर्चा बटुलेको 'डु नट स्प्लिट' ले 'एन्टी एक्स्ट्राडिसन' कानुन आन्दोलनका धेरै उल्लेखनीय घटनाको अभिलेख हो।