अचेल 'गीत एक भर्सन अनेक'को समय छ। पछिल्लो समयको चर्चित 'फूलबुट्टे सारी' यसको राम्रो उदाहरण हो।
हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका यस गीतका संगीतकार तथा गीतकार राजनराज शिवाकोटीको यो गीतले करोडौं भ्यूज नाघिसकेको छ। तर यत्तिमै उनको धीत मरेको थिएन।
उनले आज सरस्वती पूजाको साइत पारेर मदनकृष्ण श्रेष्ठको स्वरमा यही गीतको नयाँ भर्सन सार्वजनिक गरेका छन्। मंगलबार बिहान सार्वजनिक भएको भिडिओमा मदनकृष्णको स्वरसँगै अभिनय पनि हेर्न पाइने भएको छ। भिडिओमा अभिनेत्री मिथिला शर्मा र मदनकृष्ण जोडी बनेकी छन्।
'फूलबुट्टे सारी'मा मदनकृष्णको स्वर जोडिनुको पृष्ठभूमि यही गीतको चाइल्ड भर्सन सार्वजनिक कार्यक्रमबाट भएको हो।
'त्यो कार्यक्रममा म प्रशंसापत्र वितरण गर्ने अतिथिका रूपमा सहभागी भएको थिएँ। त्यही मैले यो गीतको अंश आफ्नै शैलीमा गुनगुनाएँ। अनि राजनजीले यो गीतको नयाँ भर्सन आउने घोषणा गर्नुभयो, तर मैसँग काम गर्ने भन्नुभएको थिएन,' मदनकृष्णले टेलिफोनमा सेतोपाटीसँग भने।
फूलबुट्टे सारी, सपक्क पारी पछ्यौरी मलमलको
फूलहरू हेरी आफूलाई हेर्दा उमेरको अलमल भो
हास्यव्यंग्य विधाका कुशल अभिनेता मदनकृष्णले गीतलाई त्यो दिन यसरी गाएका थिए। अलग पुस्ता र फरक-फरक शैलीमा यो गीत निकाल्ने क्रममा राजनराज अघिल्लो पुस्ताको स्वरमा रेकर्ड गराउनेबारे सोचिरहेका थिए।
'मेलोडियस आवाजमा रेकर्ड गराउँदा फूलबुट्टे सारी कस्तो सुनिएला भन्ने ममा कौतुहल थियो। त्यो पक्कै राम्रो सुनिन्छ भन्ने आत्मविश्वास पनि थियो,' संगीतकार राजनले भने, 'कसको आवाजमा बढी सुहाउला भनेर सोचेकै बेला मदन बुवाले फ्याट्टै गुनगुनाइ दिनुभयो।'
त्यसपछि केही दिनमै राजन फूलबुट्टे सारी मदनकृष्णको आवाजमा रेकर्ड गराउने इच्छा जाहेर गरे।
पार्किन्सन्स रोगसँग लडिरहेका मदनकृष्ण पहिला जसरी सहजै गीत गाउन सकिन्न कि भन्ने अवस्थामा पुगिसकेका बेला यस्तो प्रस्ताव आएको थियो।
'गीत गाउन आत्मसमर्पण गर्ने सोच बनाइसकेको थिएँ। तर फूलबुट्टे सारी मार्मिक, मिलन र अरिष्मा, जसको स्वरमा सुन्दा पनि मन परेको थियो। यस्तो गीत गाउन पाउनु मेरो लागि अवसर हो। अवसर खेर जान दिन हुन्न सोचेर हुन्छ भनेँ,' मदनकृष्णले भने।
तै पनि उनको मनमा गीत राम्रोसँग गाउन सकिएला नसकिएला भन्ने धुकचुक बाँकी नै थियो। उनले भने, 'रेकर्डिङका बेला सुरूमा हाई नोटमा गाउन अलि गाह्रै पनि भयो। तर केहीबेरको प्रयासपछि लय पक्रिएँ। गीत राम्रै बन्यो भन्ने लागेको छ।'
पछिल्लो पटक दुई महिनाअघि मदनकृष्णले 'वर झरे पीपल गीत' बोलको गीत गाएका थिए।
'गाउँदा सास फुल्ने समस्या भएकाले त्यसपछि गीत नगाऊँ भन्ने सोच बनाएको थिएँ। तर फूलबुट्टे सारी गाएपछि ऊर्जा थपिएको छ। अझै नयाँ गीत गाउने फूर्तिफार्ती बढेको छ,' उनले भने।
उनको मूल्यांकनमा 'फूलबुट्टे सारी' लोक र आधुनिकपनको मिश्रण भेटिने सरल तर मीठो गीत हो।
'यस गीतको शब्द चिटिक्क परेको छ, संगीत पनि क्याची छ। धेरै झकिझकाउ छैन,' उनले भने, 'राजनजीको संगीत कम्पोजिसनमा सबै खालका स्रोतालाई तान्ने जादु भेटिन्छ। यो गीत झन् विशेष छ।'
मदनकृष्ण कुशल अभिनेता मात्र नभई राम्रा गायक पनि हुन्। नेपालीभन्दा नेपाल भाषामा धेरै गीत गाएका उनका 'अर्बौं मान्छेहरूमा', 'हे भगवान मेरो खल्तीको घाउ', 'खोलावारि' लगायत नेपाली भाषाका गीत चर्चित छन्।
मदनकृष्णका अनुसार, नेपालभाषामा दर्जनौं रोमान्टिक गीत गाए पनि उनले नेपालीमा गाएका धेरैजसो गीत गम्भीर छन्।
उनले भने, 'फूलबुट्टे सारी गाएपछि भने यस्तो रोमान्टिक गीत मेरो स्वरलाई सुहाउने रहेछ भन्ने लागेको छ। अझै यस्ता रोमान्टिक गीत गाउनु पर्छ भन्ने रहर जागेको छ।'
संगीतकार राजनका अनुसार, मदनकृष्णको भर्सनलाई उनले मेलोडियस बनाउने प्रयास गरेका छन्।
'गीतको संगीतमा हेरफेर नगरी मदन बुवाको स्वरमा मिल्ने गरी मेलोडीलाई प्राथमिकता दिएको छु,' राजनले भने।
राजनले मदनकृष्णले अडियो रेकर्डिङका क्रममा ठट्टा गर्दै रोकी-रोकी धैर्यसाथ दोहोर्याइ-तेहर्याई गीत राम्रो बनाउन समय दिएको पनि बताए। गीतको अडिओबाहेक भिडिओमा पनि अभिनय गरेका मदन यही गीतका लागि अभिनेत्री मिथिला शर्मासँग काम गर्न पाउनुलाई पनि रमाइलो अनुभव मान्छन्। यसअघि उनले 'सुख दुःख' फिल्म र टेलिफिल्म 'रात'मा पनि मिथिलासँग काम गरेका थिए।
भिडिओबारे उनले भने, 'गीतको भिडिओमा घरायसी पाको उमेरका बुढाबुढीको लभ सिक्वेन्स देखाइएको छ। वृद्ध अवस्थामा हुने माया प्रेम र सद्भाव नै यसको कथा हो।'
स्वास्थ्य केही गले पनि मदनकृष्णले कसरत र औषधिको बलमा आफूलाई क्रियाशील राख्दै आएका छन्।
भन्छन्, 'निष्क्रिय बसे मस्तिष्कले पनि कम काम गर्छ। फूलबुट्टे सारीले मलाई गायनमा थप सक्रिय हुने बल दिएको छ।'
आफूलाई अपडेटेड राख्न उनी अहिले पनि विभिन्न कार्यक्रम र समारोहमा सहभागी हुन्छन्। विभिन्न कम्पनीको ब्रान्ड एम्बेसडर बनेका उनी विज्ञापन र छोटो फिल्ममा काम गरेर समयको सदुपयोग गरिरहेको बताउँछन्।
कलाकार हरिवंश आचार्यका जोडीका रूपमा ख्याति कमाएका मदनकृष्णका लागि फूलबुट्टे सारी गीत गाउनु अवसर मात्र भने थिएन। नयाँ पुस्ताका फरक गायक, गायिकाले गाइसकेर हिट बनिसकेको गीत गाउनु चुनौतीपूर्ण थियो।
'यो मेरा लागि ठूलो जोखिम हो,' उनले भने, 'तर गीत मिठै सुनिएको छ भन्ने लाग्छ। आशा छ स्रोता दर्शकले मनपराइदिनु हुनेछ।'
संगीतकार राजन भने मदनकृष्णको स्वरमा 'फूलबुट्टे सारी' रेकर्ड गराउनुलाई ठूलो उपलब्धि मान्छन्। राजनले केही वर्षअघि मह जोडीसँगै दुबई यात्रा गर्ने अवसर पाएका थिए।
'मदन बुवालाई त्यही बेला तपाईंसँग केही राम्रा गीतमा काम गर्न मन छ भनेको थिएँ। त्यसबेला गरेको बीजारोपण फूलबुट्टेमा फुल्यो,' उनले सुनाए।
राजनले आफ्नो संगीतमा यसअघि छोरी सरना श्रेष्ठको साथमा मदनकृष्णको स्वरमा 'पानी छाया' बोलको गीत रेकर्ड गराएका थिए। राजन मदनकृष्णलाई नयाँ पुस्ताले राम्रो अभिनेता मात्र नभई राम्रो गायकका रूपमा चिन्नुपर्ने मत राख्छन्।
'पुरानो पुस्तामाझ उहाँका गीत लोकप्रिय छन्। नयाँ पुस्तालाई कम थाहा होला। फूलबुट्टे सारी उहाँको स्वरमा रेकर्ड गराउनुको मुख्य कारण यही हो,' उनले भने।
हालसम्म 'फूलबुट्टे सारी' भिडिओले मार्मिकको स्वरमा झन्डै २ करोड युट्युब भ्युज पाइसकेको छ। ३ करोड भ्यूज नाघिसकेको मिलनको स्वरमा बनेको भर्सनले त झन् छिटो करोड भ्यूज नाघ्ने गीतको रेकर्ड नै बनाइसकेको छ। बालबालिकाका लागि भनेर राजनले आफ्नै छोरी अरिष्माको स्वरमा रेकर्ड भएको भर्सनको युट्युब भ्यूज ६ लाखमाथि छ।
मदनकृष्णले महाजोखिम भनेको यो नयाँ भर्सनलाई राजन भने भ्यूजमा मात्र मूल्यांकन नगर्ने मत राख्छन्।
'मेरा लागि मदनकृष्ण बुवाको स्वरमा यो गीत रेकर्ड हुनु भ्यूज र सफलताभन्दा माथिको प्राप्ति हो,' उनले भने।
तै पनि उनी यो गीत स्रोताले मन पराउनेमा आश्वस्त छन्। उनले भने, 'सकेजति मिहेनत गरेका छौं। गीत राम्रो बनेको छ। अरू भर्सनजस्तै यसलाई पनि स्रोता दर्शकले माया गर्नुहुनेछ भन्ने अपेक्षा छ।'
बालबालिका, युवा, मेल, फिमेल र अब वृद्ध उमेर समूहका लागि समेत निकालिएको यो गीतको पृष्ठभूमि कथा पनि कम रोचक छैन। खासमा 'फूलबुट्टे सारी' पहिलो पटक राजनराजको शब्द र संगीतमा १२ वर्षअघि रेकर्ड भएको गीत हो। यो गीत गायक मार्मिक लामाले गाएका थिए।
एकाएक टिकटकमा यो गीतको भिडिओ बन्न थाल्यो। स्रोता दर्शकले आफैं यो गीत खोज्दै युट्युब चहार्न थाले। त्यसबेला यो गीतको म्युजिक भिडिओ बनाइएको थिएन। तर युट्युबमा प्रतीक गुरुङले तीन वर्षअघि यसको कभर भर्सन अपलोड गरेका थिए। स्रोता-दर्शक प्रतीककै भर्सनमा रमाए। प्रतीकको भिडिओको भ्युज र च्यानल सब्सक्राइबर ह्वात्तै बढ्यो।
यसपछि बल्ल राजनले गीतको खोजी गरे र मार्मिकको स्वरमा गीत रेकर्ड गराए। गीतको भिडिओ समेत बन्यो।
त्यसपछि त गीत एक भर्सन अनेकको सिलसिला सुरू भइहाल्यो।
यो गीत मदनकृष्णको स्वरसँगै फरक उमेर समूहका पुस्तामा पुग्ने चक्र पूरा भएको छ। मार्मिकको स्वरमा रिरेकर्ड गरिएको गीतको भिडिओ युट्युबमा गत लक्ष्मीपूजाको दिन अपलोड भएको थियो। आज सरस्वती पूजाको दिन यसको शृंखला सकिँदैछ।
राजनले भने, 'लक्ष्मीपूजादेखि सरस्वती पूजासम्मको यो चक्र सँगै फूलबुट्टे सारीको पहिलो अध्याय सकिएको छ। अब यसको भाग २ बारे सोचिरहेको छु।'