लम्बाई कम हुँदैमा छोटा फिल्मले पार्ने प्रभावको असर छोटो हुँदैन। कम समयमा चरित्र स्थापित गर्ने, द्वन्द्व सिर्जना गरी रोमाञ्च र संवेदना जगाउने, कथा र दृश्यमा आफ्नो शिल्प देखाउने चुनौती स्वीकार्दै छोटा फिल्मका सर्जकहरूले उम्दा काम गर्दै आएका छन्।
अर्कोतिर, दैनिक जीवनका मसिना घटनाबाटै कथा टिपेर सामाजिक कथा भन्ने मामिलामा पनि छोटा फिल्मको योगदान महत्वपूर्ण छ। छोटा फिल्मलाई सिर्जनशील निर्देशकले छोटो समय र थोरै लगानीमा आफ्नो प्रतिभा देखाउने माध्यमसमेत बनाएका छन्।
यस्तै विशेषताका कारण फिचर फिल्मसँगै छोटा फिल्मले ओस्कार, कान्सलगायत संसारभरका अवार्ड समारोहमा आफ्नो स्थान बलियो बनाएका छन्। सन् १९२९ देखि वितरण हुन थालेको ओस्कारका केही वर्षमै छोटा फिल्मबीच नियमित प्रतिस्पर्धा हुन थालेको हो।
सन् १९३२ मा जेम्स प्यारोटको 'म्युजिक बक्स' पहिलो पटक पुरस्कृत छोटो फिल्म हो। त्यसपछि मार्सल करीको 'द नेवर्स विन्डो'सम्म आइपुग्दा ओस्कारमा विभिन्न देशका सयौं राम्रा फिल्मले प्रतिस्पर्धा गरिसकेका छन्।
तिनैमध्ये पछिल्लो तीस वर्षका १० फिल्म यहाँ छानिएको छ। यी सबै एकेडेमी अवार्ड फर लाइभ एक्सन सर्ट फिल्मअन्तर्गत पुरस्कार जित्न सफल फिल्म हुन्। यिनले मान्छेका निजी दुःखसुखका कथादेखि अल्पसंख्यक समूहका मुद्दासम्म छोएका छन्।
यो सूचीमा पनि रमाइला किस्सादेखि बालमनोविज्ञान, शारीरिक अपांगता र रंगभेदजस्ता गम्भीर विषयमा बनेका फिल्म समेटिएका छन्।
द लन्च डेट (१९९०), निर्देशक: एडम डेभिड्सन
फिल्ममा धनी महिलाको भूमिकामा स्कटी ब्लक र अफ्रिकी मूलका गरिब अमेरिकी पुरुषको भूमिकामा क्लिबर्ट फोर्डको अभिनय छ। फिल्मको केन्द्रमा यिनै दुई पात्र छन्।
एक जना धनी महिला अमेरिकाको म्यानहटन स्टेसन पुग्दा नपुग्दै उनको रेल छुट्छ। अर्को रेल कुरुन्जेलसम्म समय कटाउन उनी क्याफेमा पस्छिन्। रेल छुटेपछि आफ्नो पर्स हराएको थाहा पाएकी उनी सलाद मात्रै मगाएर टेबलमा राख्छिन् र काँटा लिन जान्छिन्। काँटा लिएर फर्कंदा उनले अफ्रिकी मूलका एक जना गरिब पुरुषले आफ्नो सलाद खाइरहेको देखेर ट्वाल्ल पर्छिन् अनि मुर्मुरिन थाल्छिन्।
आफ्नै धुनमा सलाद खाइरहेका पुरुषबाट खाेसेर उनले प्लेट आफूतिर तान्न खोज्छिन्। तर ती व्यक्ति रिसाएपछि उनी डराइ डराइ त्यही प्लेटबाट सलाद निकाल्दै खान थाल्छिन्। यी दुई पात्रको द्वन्द्वमा संवाद हुँदैन। उनीहरूको हाउभाउका माध्यमबाट दर्शकले यो द्वन्द्वको भरपुर मजा उठाउँछन्। उनीहरू नबोले पनि हरेक गतिविधिले दर्शकसँग संवाद गरिरहन्छ।
एकैछिनमा ती व्यक्ति उठेर महिलाको लागि पनि चिया बोकेर आएपछि उनको ती व्यक्तिप्रतिको रिस अलि कम हुन्छ। यसपछि थप यस्ता घटना हुन्छन्, जसले यी दुई अपरिचितको भेट दुई अलग वर्ग र वर्णबीचको रोचक भेट बन्न पुग्छ। फिल्मको सबभन्दा महत्वपूर्ण पक्ष यही हो।
फिल्मको सुरुआती दृश्यमै धनी महिलाको सामान एक जना काला वर्णका व्यक्तिसँग ठोक्किएर खसेको हुन्छ। त्यतिबेला उनले काला मान्छेलाई राम्ररी हेर्न समेत नचाहेको प्रस्टै बुझिन्छ। उनी काला रङका मान्छेप्रति शंकालु छिन् र आफूलाई उनीहरुबाट असुरक्षित महशुस ठान्ने गोरा समूहकी प्रतिनिधि पात्र हुन्। तर पछि घटनाक्रम यसरी अघि बढ्छ, उनले काला वर्णकै मान्छेसँग बसेर सलाद खाने स्थिति आउँछ।
तपाईंले याद गर्नुभयो भने, ती अफ्रिकी मूलका पुरुष क्याफेमा देखिनुअघि नै निर्देशकले पर्दामा देखाइसकेका हुन्छन्। फिल्मको अन्त त झनै अप्रत्याशित छ। रंगभेदको विषयलाई रोचक रुपमा चित्रण गरिएको यो फिल्मले ओस्कारबाहेक कान्स फिल्म फेस्टिभलमा पामे डि’ओरसमेत जितेको थियो।
स्वार्जफारर/ब्ल्याक राइडर (१९९३), निर्देशकः पेप डान्क्वेर्ट
मन छुने संगीतको धुन सँगै सुरू र अन्त हुने यो फिल्म दैनिक जीवनमा दोहोरिरहने रंगभेद र नश्लभेदको अवस्था चित्रण गर्ने महत्वपूर्ण फिल्म हो।
जर्मनीको बर्लिन सहरको परिवेश छ। एक हुल मानिस ट्र्याममा चढेका छन्। कोही कार्यालय त कोही अरु नै काममा हिँडेका छन्। अन्तिममा चढेका अफ्रिकी मूलका युवक पाको उमेरकी जर्मन महिला भएको सिटमा बस्न पुग्छन्।
ती युवकलाई देख्दै मुख खुम्च्याएकी महिला तिनै कालो वर्णका युवातर्फ लक्षित गर्दै अनापसनाप बोल्न थाल्छिन्। सुरुमा कालालाई गाली गर्ने उनले बिस्तारै अन्य देशबाट आएर त्यहाँ बस्ने आप्रवासीलाई पनि तथानाम भन्छिन्। उनीहरूलाई दुर्घन्धित, अपराधी र एड्स फैलाउने मान्छे भन्दै आरोप लगाउँछिन्।
महिलाको कुरा चित्त नबुझे पनि सबै कुरा सुनिरहेका अन्य यात्रु पनि मौन हुन्छन्। केटाकेटी भने रमाइलो मानेर हाँस्छन्।
ती युवक त झन् एक शब्द बोल्दैनन्। हो, ट्र्याममा चढिसेककेपछि उनी एक शब्द निकाल्दैनन्। तर एउटा विन्दुमा पुगेपछि उनले ती महिलाको कुरामा प्रतिक्रिया भने जनाउँछन्।
ती महिलालाई सबक सिकाउने उनको त्यो प्रतिक्रिया के होला? हेर्नुस्, स्वार्जफारर/ ब्ल्याक राइडर।
ओम्निबस (१९९२), निर्देशक: स्याम कार्मन
यो फ्रान्सेली फिल्ममा पनि यात्राकै क्रममा घट्ने घटनालाई कथा बनाइएको छ। तर यो फिल्म अलि फरक छ। यो उत्कृष्ट कमेडी फिल्मले तपाईंलाई पक्कै हसाउँनेछ।
डेनियल महिनौंदेखि ९ बजेर छ मिनेटमा केतु जाने रेल चढ्दै आएका छन्। तर एक दिन उनी चढेको रेल केतुमा नराेकिई सोझै डेस्भ्रेस पुग्ने हुन्छ। गल्तीले एक्सप्रेस रेल चढेका उनीसँग डेस्भ्रेससम्म पुगेर फेरि अर्को बसमा केतु फर्किनुको विकल्प नभएको रेलका टिकट जाच्ने व्यक्तिले बताउँछन्।
डेनियलले सुरूमा रेलका टिकट जाच्ने व्यक्तिसँग याचना गर्छन्। समयमा कार्यालय नपुगे जागिर गुम्ने र बालबच्चा भोकै पर्नेसम्मका दुःख पोख्छन्। उनीप्रति सहानुभूति राख्दै टिकट जाँच्नेले आफ्नो हातमा केही नभएको भन्दै रेल चालकसँग कुरा गर्नु भनेर पठाउँछ। यसपछिको घटनाक्रम यति रोचक छ कि अहिले पढेर पछि फिल्ममा हेर्दा त्यसको असर खल्लो हुन्छ। फिल्म हेरिसकेपछि भने डेनियल पात्रलाई सायदै भुल्न सकिएला।
फिल्मको यही रोचकताले होला, ओस्कारसँगै फिल्मले कान्स फेस्टिभलमा पामे डि’ओर अवार्डसमेत जितेको थियो।
सिक्स सुटर २००४, निर्देशक: मार्टिन म्याक डोनफ
यात्रा र रेलको सिलसिला यहाँ पनि जारी छ। श्रीमतीको निधनले दुःखी डोन्नेली रेलमा यात्रा गर्ने क्रममा अजीव पात्र उसकै अगाडिको सिटमा बसेका हुन्छन्। धेरै बोल्नुपर्ने, अश्लील शब्द पनि प्रयोग गर्ने यो युवा आक्रामक छ। यिनीहरू अलि परको सिटमा भर्खरै छोराको मृत्युले दुःखी दम्पत्ति छन्।
युवाको उट्पट्यांग प्रश्न र प्रतिक्रियाले उनको र अलि परको सिटका पुरुषको झगडा नै पर्लाजस्तो स्थिति बन्छ। डोन्नेलीले उनीहरूलाई छुटाउँछन् र युवकलाई चुप बस्न आग्रह गर्छन्। अनौठो कुरा गर्ने त्यो युवकको करले डोन्नेली आफैं भने बोल्न बाध्य हुन्छन्।
युवकले सुनाउने अनौठो कथा सुनेर रमाउँछन् पनि। यत्तिकैमा छोरा बितेको शोकमा परेकी युवतीले रेलबाट हाम्फालेर आत्महत्या गरेपछि फिल्मले नाटकीय मोड लिन्छ।
फिल्ममा मुख्य भूमिकामा देखिने दुई पात्रको भेट, उनीहरू बीचको रोचक र अनौठो संवाद नै फिल्मको मुख्य हिस्सा हो। यी दुवै चरित्रको अभिनय राम्रो भए पनि फरक स्वभावको चरित्रमा युवकको अभिनय निकै रोचक छ।
डार्क कमेडी फिल्ममा छ जनाको मृत्युको हिसाब बुझिएन भने सुरूमा डाक्टरले डोन्नेलीलाई दिएको सूचना सम्झिनुहोला। अस्पतालमा श्रीमतीको लाश हेर्न गएको बेला डोन्नेलीलाई डाक्टरले केही विभत्स लाशबारे भनेका कुरा सम्झिए फिल्मको सुरूदेखि अन्तसम्मको सिलसिला बुझिन्छ।
टोयल्यान्ड (२००७), निर्देशक: जोसेन अलेक्जेन्डर
हिटलरको नेतृत्वमा दोस्रो विश्वयुद्धमा होमिएको जर्मनीमा यहुदी समुदायमाथि निर्मम अत्याचार भएको थियो। हजारौंको संख्यामा उनीहरूलाई 'कन्सन्ट्रेसन क्याम्प'मा लगेर मार्ने समेत गरिएको थियो।
'टोयल्यान्ड'मा यही समयको जर्मनीको परिवेशको कथा छ। खासमा टोयल्यान्ड भनेकै प्रतीकात्मक रुपमा कन्सन्ट्रेसन क्याम्प हो। यसमा आर्यन र यहुदी परिवारको मित्रताको मर्मस्पर्शी कथा छ। हेनरिक मेब्नर आर्यन र डेबिड सिल्बसर्टिन यहुदी हुन्। उनीहरू सँगै पियानो सिक्छन्। डेभिडलाई कन्सन्ट्रेसन क्याम्प लाने निश्चित छ तर हेनरिकलाई उनकी आमाले यो सत्य भन्न सक्दिनन्।
उनी डेभिड टोयल्यान्ड जान लागेको बताउँछिन्। डेभिडको परिवारलाई कन्सन्ट्रेसन क्याम्प लगिएकै दिन हेनरिक हराउँछ। छोरा खोज्दै उनकी आमा धेरैतिर भौंतारिन्छिन्, तर भेट्दिनन्। टोयल्यान्ड जान रहर गर्ने हेनरिक कहाँ गयो होला? ऊ भेटिएला या नभेटिएला?
यो र यसबाहेकका अन्य रोचक घटना थाहा पाउन मात्रै १४ मिनेटको फिल्म नै हेरौं।
कर्फ्यू (२०१२), निर्देशक शान क्रिस्टेनसन
बाथटबमा नाडीको नशा काटेर मर्न ठिक्क परेको पात्र रिचीको फोनको घन्टी बज्छ। त्यो फोन लामो समय भेट नभएकी उनकी बहिनीले गरेकी हुन्छिन्। उनी आफ्नी सानी छोरी सोफियालाई एक रातको लागि घुमाइदिन रिचीसँग आग्रह गर्छिन्। यो आग्रह सुनेर असमञ्जसमा परेका उनले त्यो आग्रह टार्न सक्दैनन्।
सोफिया आफ्नो समय कसरी बिताउने भनेर तयार छन्। तर रिचीसँग भने पहिल्यै आफूलाई कुरा गर्न कुनै रूचि नभएको बताउँछिन्। सोफियालाई रिचीले आफू किशोर हुँदा बनाउने कार्टुनको नाम पनि सोफिया भएको बताउँछन्। त्यो कार्टुन (फ्लिप बुक्स) कै नामबाट उनको नाम राखिएको हो कि भनेर सुनाउँछन्। कार्टुनले यी पात्रलाई जोड्छ। रिचीबाट सोफियालाई थप पुराना किस्साहरू सुन्छिन्। दुवैलाई एकअर्काको संगत प्यारो लाग्न थाल्छ।
यी दुई पात्र एक अर्कासँग कसरी रमाउँछन्? यी दुईको सम्बन्धमा र जीवनमै यो भेटको अर्थ के होला? लामो समय सम्पर्कमा नरहेकी सोफियाकी आमाले रिचीलाई अकस्मात सम्झिएर सहयोग माग्नुको आवश्यकता किन पर्यो? मर्ने निर्णयमा पुगिसकेका रिचीले सोफियालाई फर्काउने बेला सोफियाकी आमाबारे के कुरा थाहा पाउँछन्? त्यहाँबाट आफ्नो घर फर्केपछि रिचीले के फेरि मर्ने प्रयास गर्लान्? थाहा पाउन हेर्नुस्, 'कर्फ्यू'।
आत्महत्याको नजिक पुग्नुको पृष्ठभूमि नखुल्ने चरित्रमा देखिने शान क्रिस्टेनसन फिल्मका निर्देशक र लेखक पनि हुन्। लागू पदार्थ अम्मली थिए भन्नेबाहेक उनको पृष्ठभूमिबारे फिल्ममा धेरै कुरा खुलाइएको छैन।
गम्भीर र रहस्यमयी रिचीको चरित्रमा उनी जमेका छन्। करिब १२ वर्षे चञ्चल सोफियाको भूमिका निर्वाह गरेकी फतिमा पितासेक र रिची बीचको संवादले फिल्मलाई रोचक बनाएको छ।
हिलियम २०१४, निर्देशक: एन्डर्स वाल्टर
मृत्यु हुने केही दिनमात्रै बाँकी रहेको बालपात्र अल्फ्रेड र अस्पतालमा काम गर्ने इन्जोबीचको मित्रताको कथा हो, 'हिलियम'। मरेपछि स्वर्ग पुगिन्छ भनेर सुन्दै आएका उनलाई स्वर्ग जान मन छैन। अल्फ्रेडको मन बहलाउन इन्जोले हिलियमको कथा सुनाउँछन्।
फिल्ममा हामीले अल्फ्रेडको नजरबाट सुन्दर हिलियम देख्छौं, जहाँ हरेक कुरा तैरिरहेका देखिन्छन्। अल्फ्रेड आफूलाई पनि हिलियममै रमाइरहेको परिकल्पना गर्छन्।
तर कर्मचारी इन्जो र अल्फ्रेडबीच धेरै समय हुँदैन। इन्जो चाहेर पनि अल्फ्रेडलाई पूरा कथा सुनाउन पाउँदैनन्। यसैबीच अल्फ्रेड सिकिस्त हुन्छन्। इन्जोलाई अल्फ्रेडको उपचार भइरहेको वार्डमा जाने अनुमति हुँदैन। तर उनलाई जसरी पनि अल्फ्रेडलाई कथा पूरा सुनाउनु पर्छ भन्ने लागिरहन्छ।
यस्तो अवस्थामा इन्जो र अल्फ्रेडको भेट कसरी सम्भव होला?
इन्जोले पूरै कथा सुनाउन पाउलान् वा नपाउलान्? फिल्म हेर्नुस् र रंगविहीन स्वादविहीन हिलियमको पृथक सौन्दर्य महशुस गर्नुस्।
हिलियमलाई अल्फ्रेडोको सुखको प्रतीकका रुपमा चित्रण गरिएको यो फिल्मको कथाले दर्शकको संवेदनालाई स्पर्श गर्छ।
स्टटरर (२०१५), निर्देशक: बेन्जामिन क्लेरी
बोल्दा भक्भकाउने ग्रिनउड फेसबुकमा शब्दमार्फत एली नामकी युवतीसँग जोडिएका छन्। एलीले फेसबुकमा आफूले ग्रिनउडलाई सर्प्राइज दिन लागेको बताउँछिन्। एक दिन कुराएपछि अर्को म्यासेजमा संकोच मान्दै उनी आफू लन्डन आइपुगेको र उनीसँग भेट्न चाहेको बताउँछिन्। कामको चाप मानसिक दुबिधाका कारण अन्योलमा परेका ग्रीनउड एलीलाई जवाफ दिन ढिलाइ गर्छन्।
धेरै पटक जवाफ लेख्दै मेटाउँदै गरेका उनी अन्ततः जवाफ लेख्छन्। उनले लेख्ने जवाफ के होला? के ग्रीनउडले जवाफ फर्काउँदासम्म एली लन्डनमै होलिन् वा फर्किसक्लिन्?
ग्रीनउडको चरित्रमा म्याथ्यु निधमको अत्यन्तै राम्रो अभिनय देख्न पाइन्छ। शब्द उच्चारण गर्न संघर्षरत उनको मनोदशालाई उनको अनुहारको हाउभाउ देखिनेगरी खिचिएका क्लोजअप सटहरूले कैद गरेको छ। उनको हुलिया, उनको व्यक्तित्व एकदमै पृथक लाग्छ। अरूका अगाडि भक्भकाए पनि उनले मनमनै आफैंसँग कुरा गर्दा स्पष्ट उच्चारण गरेको देखाइएको कुरा पनि अर्थपूर्ण लाग्छ।
द साइलेन्ट चाइल्ड २०१७, निर्देशक: क्रिस ओवरटन
चार वर्षकी लिब्बी कान सुन्दिनन्। उनका अभिभावकलाई कान नसुन्ने बच्चालाई कसरी हुर्काउने भन्नेबारे अनुभव छैन। उनका अभिभावकको नजरमा लिब्बी हठी स्वभावकी छिन्। उनको स्वभावमा सुधार ल्याउन लिब्बीका अभिभावकले समाजसेवी शिक्षिका सु (रेसल सेन्टन) को सहयोग लिन्छन्। फिल्ममा उनको प्रवेशसँगै लिब्बीको स्वभावमा क्रमशः सुधार आउँछ।
उनी संकेत मार्फत् आफ्नो कुरा भन्न सक्ने हुन्छिन्। तर यत्तिमै लिब्बी र उनका अभिभावकको समस्या भने सकिँदैन। न त समाजसेवी सु नै खुसी हुन्छिन्।
फिल्मकै तथ्यांक अनुसार, नब्बे प्रतिशत बालबालिकाका अभिभावक कान सुन्ने हुन्छन्। तर उनीहरूलाई कान नसुन्ने बालबालिका कसरी हुर्काउने भन्ने सुझबुझ नै हुँदैन। फिल्मको केन्द्रमा यही मर्म छ। यस्तो समस्याले बालबालिकाको व्यवहार, सिकाई र भविष्य नै संकटमा पर्ने विषय फिल्ममा मन छुने गरी आएको छ। सिनेमाटोग्राफी जति सुन्दर छ, सु र लिब्बीको भूमिका निर्वाह गर्ने कलाकारको अभिनय पनि उत्तिकै प्रिय लाग्छ।
कान नसुन्ने विद्यार्थीको सिकाइ र शैक्षिक सिकाइको नाजुक अवस्थाबारे 'फन्ड' उठाएर बनाइएको यो फिल्ममात्रै नभएर अभियान नै हो। एउटा यस्तो सुन्दर अभियान जसले कान सुन्न नसक्ने समूहका बालबालिकाको हकहितका पक्षमा प्रभावकारी भूमिका खेलेको छ।
यो फिल्म यसकी अभिनेत्री रेसलको आफ्नै कथाको पनि नजिक छ। क्यान्सरको उपचारका क्रममा उनका बुबा कान नसुन्ने भएका थिए। यसपछि उनले ब्रिटिस सांकेतिक भाषा सिकेकी थिइन्। नेशनल डेफ चिल्ड्रेन सोसाइटी बेलायतकी सद्भावना दूत समेत रहेकी उनले कान नसुन्नेहरूका पक्षमा चेतनामूलक काम गर्न थालिन्। सहयोग उठाउन उनी चीनको ग्रेटवालदेखि अफ्रिकाको सबभन्दा अग्लो हिमालसम्म चढिन्।
'द साइलेन्ट चाइल्ड' का लागि अर्थ संकलन यसरी नै गरिएको हो। फिल्मको कथा पनि लेखेकी रेसल र फिल्मका निर्देशक क्रिसले यो फिल्म सार्वजनिक भएको अर्को वर्ष बिहे गरे। रेसलले ओस्कार जितेपछिको प्रतिक्रिया पनि सांकेतिक भाषामै दिएकी थिइन्।
द नेवर्स विन्डो (२०१८), निर्देशक: मार्शल करी
आली र ज्याकबको घरको पारिपट्टि नयाँ छिमेकी आएपछि उनीहरूको ध्यान त्यतै मोडिएको छ। ती छिमेकीले पार्टी गरेकोदेखि अन्तरंग सम्बन्ध राख्नेसम्मका दैनिक गतिविधिप्रति उनीहरूको रूचि बढेको छ। नचाहँदा नचाहँदै पनि उनीहरू अर्काको दैनिकी हेर्न बाध्य छन्। उनीहरूको यौवन, रमझमले यी दम्पत्तीलाई आफ्नो जीवनको रमाइलो कतै छुटेको महशुस गराएपछि दुई जनाबीचको सम्बन्धमा पनि त्यसको असर पर्न थालिसकेको छ।
एक दिनको घटनाले आलीलाई टाढाबाट देखिएका छिमेकीको नजिक पुर्याउँछ। त्यसपछि आली सोच्दै नसोचेको सत्यको नजिक पुग्छिन्। आली र ज्याकबमै धारणामा यसले ठूलो हेरफेर ल्याइदिन्छ।
त्यो सत्य के होला? 'द नेवर्स विन्डो' हेरेर थाहा त पाइन्छ नै, त्यसपछि दर्शकलाई आफ्नै जीवनमा फर्केर हेर्न बाध्य पनि बनाइदिन्छ। यो साउन्ड क्लाउडमा भनिएको सत्य कथामा आधारित फिल्म हो, जसलाई पछि निर्देशक करीले आफ्नै रङ दिए।
यी पनि हेर्नुस्ः
युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म
युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म
युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
युट्युबमा हेर्न लायक १० हिन्दी फिल्म
५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म
अमिताभ बच्चनका ७० दशकका ५ सुपरहिट फिल्म, युट्युबमा
छोटो समयमै स्मिता पाटिलले खेलेका ५ यादगार फिल्म, युट्युबमा
चीनलाई ओस्कारमा पुर्याउने निर्देशकका ५ उत्कृष्ट फिल्म, युट्युबमा सबटाइटलसहित
प्रेमचन्दका उत्कृष्ट रचनामा आधारित ५ फिल्म, युट्युबमा
उत्कृष्ट ५ इटालियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
इरफान खानको शानदार अभिनय देख्न पाइने ५ फिल्म, युट्युबमा
ऋषि कपुरका ५ यादगार फिल्म, युट्युबमा
१० राम्रा छोटा नेपाली फिल्म, युट्युबमा