हिन्दी तथा उर्दू भाषामा कलम चलाउने प्रेमचन्द (१८८० देखि १९३६) भारतीय सिनेमासँग पनि जोडिएको नाम हो। 'निर्मला', 'गबन', 'गोदान', 'कायाकल्प', 'सोजे वतन' जस्ता बहुचर्चित उपन्यास लेखक प्रेमचन्दका सयौं कथा प्रकाशित छन्।
सशक्त कहानी लेख्ने सीप भएका प्रेमचन्द एक समय फिल्मको पटकथा लेखनमा पनि रूचि राख्थे। उनको कथामा सन् १९३४ मा 'मजदुर' नामको सिनेमा बने पनि उनी सन्तुष्ट हुन सकेनन्।
उनी फिल्म क्षेत्रमा नलागे पनि उनले लेखेका कथालाई उनको मृत्युपछिसम्म पनि फिल्म बनाउने काम भइरह्यो। उनको कृति वा फुटकर कथामा 'सेवासदन', 'हिरा मोती', 'गोदान', 'गबन', 'शतरञ्ज के खिलाडी', 'ऊका ओरी कथा'लगायत फिल्म बनेका छन्। उनकै रचनामा आधारित टेलिसिरियल, टेलिफिल्म र छोटा फिल्म पनि बनेका छन्।
जमिनदारी प्रथा, जातीय विभेद, अनिकाल, धनी र गरिबबीचको खाडल र आर्थिक शोषण, साम्प्रदायिकता, धार्मिक आडम्बरजस्ता कुराले समाजमा सिर्जेका समस्यामाथि निरन्तर आफ्नो लेखनमार्फत हस्तक्षेप गर्न चाहने प्रेमचन्द विचारले प्रगतिशील थिए। उनले गान्धीको असहयोग आन्दोलनलाई सहयोग गर्दै सरकारी जागिरसमेत त्यागेका थिए।
उनको लेखन गरिबको पक्षमा र शासकको विपक्षमा हुने भएकाले उनको कहानीमा आधारित 'सोजे वतन' फिल्मलाई त बेलायती सरकारले प्रतिबन्धसमेत लगाएको थियो। जनताको पक्षमा लेखेकै कारण राज्यले जरिवाना तिराएपछि उनी धनपतरायबाट मुन्शी प्रेमचन्द बनेका हुन्।
प्रेमचन्दले आफ्नो साहित्यमा आममान्छेको भोगाइलाई विशेष स्थान दिए। साहित्यमा मनोरञ्जनलाई लोकवर्णनको माध्यम बनाए। गरिब, कृषक र निमुखा नै उनको लेखनमा सधैं मुख्य नायक-नायिका बनिरहे। उन्नाइसौं शताब्दीको उत्तरार्द्ध र बीसौं शताब्दीको पूर्वार्द्ध दशकको परिवेशको नाडी छामेका उनले मूलतः ग्रामीण समाजको यथार्थपरक ढंगले चित्रण गरेका छन्।
लेखनमा समाजको मुहार देखाउन सक्ने उनको यही सीप र शक्तिलाई भारतका दिग्गज निर्देशकले महत्व दिएको पाइन्छ। यसमा हिन्दी र उर्दूबाहेकका भाषामा फिल्म बनाउने निर्देशक पनि पर्छन्। तीमध्ये मृणाल सेन, सत्यजीत राय, हृषिकेष मुखर्जी, गुलजारजस्ता नामूद निर्देशकले उनका सिर्जनालाई फिल्ममा रुपान्तरण गरेका छन्।
गुलजारले प्रेमचन्दका उपन्यास र कथा आधुनिक भारतमा पनि उत्तिकै सान्दर्भिक छ भन्दै उनका 'गोदान' र 'निर्मला' उपन्यासलाई टेलिशृंखला बनाएर निर्देशन गरेका छन्।
यो सूचीमा साहित्यको फाँटमा ठूलो ख्याती कमाउन सफल उनै प्रेमचन्दका पाँच फिल्म छानिएको छ। यी फिल्मले उनको रचनाले जस्तै आममानिस र समाजको कथा भन्छ।
सदगति (१९८१) निर्देशक: सत्यजीत राय
प्रेमचन्दको 'सदगति' कथामा आधारित यो फिल्म चमार परिवारको कथा हो। फिल्म एक दिनको घटनामै सकिन्छ। फिल्ममा मुख्य पात्र दुःखीको भूमिकामा ओम पुरी छन् र स्मिता पाटिल उनकी पत्नी झुमरी बनेकी छन्। फिल्मको मुख्य पात्र दुःखी नामजस्तै गरिब छन्। उनी दुःखी भएपछि उनको परिवार सुखी हुने कुरै भएन।
दुःखी छोरीको 'सगाई'को साइतका लागि पण्डित (मोनह अगासे) लाई घरमा डाक्न हतारहतार खाली पेट घरबाट निस्कन्छन्। उत्साहित भएर घरबाट हिँडे पनि तथाकथित 'तल्लो जात'को दुःखीले भन्ने बित्तिकै पण्डितले के मानून्! उसलाई घरी झाडु लगाउन लाउँछन्, त घरी भुस बोक्न लाउँछन्। यति काम सकेपछि दुःखीलाई दाउरा काट्न अह्राउँछन्।
घाँस काटे पनि दाउरा काट्ने अनुभव नभएको ऊ मरीमरी बञ्चरो चलाउँछन्। खाना नपाए पनि तम्बाखुले मन शीतल पार्ने ठानेर छिमेकका मान्छेले दिएको गाँजा पिउँछन् र थाहै नपाई निदाउँछन्।
मस्त खाना खाएर डकार्दै एक निद्रा पुर्याएका पण्डित दुःखीलाई निदाएको देखेर आगो हुन्छन्। गाली गर्दै भोकै भए पनि दाउरा काट्ने आदेश दिन्छन्। केही समयमा फर्कनुपर्ने दुःखी नफर्केपछि झुमरी र छोरी चिन्तित हुन्छन्।
पण्डितले दिएको दाउरा काट्ने काम भोको दुःखीले कहिलेसम्म सकाउलान्? उनले काम सकाएर पण्डितलाई मनाएर घर लैजान सक्लान्? वा कथाले अरू नै कुनै मोड लेला? थाहा पाउन हेर्नुस्, 'सदगति'।
मालिकको शोषणलाई पनि सामान्य नियमका रूपमा स्वीकार्ने दुःखीजस्ता दलित पात्रको कथालाई 'सदगति'ले सरल तर स्पष्ट देखाएको छ। बाहिर विद्रोह गर्न नसके पनि दाउरा काट्दा कस्सेर बञ्चरो चलाउने दृश्यहरूमा दुःखीको आक्रोश देखिन्छ। फिल्मका तीनै मुख्य पात्रहरूको अभिनय दमदार छ।
भारतीय समाज र दक्षिण एसियामै जरो गाडेको छुवाछुतजस्तो अमानवीय मुद्दामा बनेको यो फिल्म भारतीय दुरदर्शन च्यानलले निर्माण गरेको हो।
ऊका ओरी कथा (१९७७) निर्देशक: मृणाल सेन
प्रेम चन्दले जीवनको अन्तिम चरणमा लेखेका 'कफन' शीर्षकको कथा उनका अत्यधिक चर्चित कथामध्ये पर्छ। यही कथालाई मृणाल सेनले मनपराए र फिल्ममा रुपान्तरण गरे। उत्तर प्रदेशको परिवेशका प्रेमचन्दका पात्रलाई सेनले अर्कै भूगोलमा सारे। प्रेमचन्दको कथाको परिवेश उत्तर प्रदेश छ, तर मृणालले सेनले फिल्ममा आफ्नो कथा भन्न दक्षिण भारतको तेलंगना रोजे।
यो जोखिम सेनले जानेर, बुझेर लिएका थिए। उनको जोखिम सफल भयो। यो फिल्मले उत्कृष्ट राष्ट्रिय तेलुगू फिल्मको पुरस्कार जित्यो। 'ऊका ओरी कथा' सेनको एउटा महत्वपूर्ण फिल्म बन्न पुग्यो।
असामान्य पात्रहरू भएको 'ऊका ओरी कथा' असामान्य फिल्म हो। फिल्मभरि अर्धनग्न अवस्थामा देखिने वेंकय्या र किस्तइय्या बुबा छोरा हुन्। एक कोठे झुप्रोमा बस्ने उनीहरू गरिबीले तन्नम पात्र हुन्। तर पनि खानै नपाउने स्थितिमा मात्रै उनीहरू मरेर काम गर्छन्। नत्र गाउँको खेतबारीबाट अन्न र फल चोरेर पनि गुजारा चलाउँछन्। वेंकय्यालाई लाग्छ, उनीहरूले जति श्रम गरे पनि आखिर त्यसको फल पाउने साहुमहाजनले नै हो।
घर धान्ने छानो र अन्नको भर नभएको अवस्थामा छोरा किस्तइय्याले बिहे गरेपछि यो घरमा अर्को एउटा खानेमुख थपिन्छ। छोराले बिहे गरेकोमा उसै असन्तुष्ट वेंकय्यालाई बुहारी निलम्मा आएपछि कोठाबाहिर सुत्ने जोरजाम गर्नुपर्ने अवस्था आउँछ।
छोराले बिहे गरेपछि यी दुई बाबुछोराको सम्बन्ध र व्यहारमा बदलाव आउला? बुहारी आएकोमा खासै खुसी नभएको वेंकय्या र निलम्माको सम्बन्ध कस्तो होला? हातमुख जोर्ने मान्छे थपिँदै जाँदा बाबुछोराको स्वभाव, जीवनशैली र व्यवहारमा केही भिन्नता आउला?
अभावका बीच निर्दोष नभई आक्रामक र बिन्दास जस्ता लाग्ने यी पात्रका गतिविधि हाउभाउलाई धेरै अर्थमा विश्लेषण गर्ने ठाउँ दर्शकले पाउनेछन्। भोको भए पनि यी सहानुभूति गर्ने खालका पात्र होइनन्। ठाउँठाउँमा आक्रामक र विद्रोही देखिने यी पात्रका हाउभाउलाई निर्देशकले व्यंग्यात्मक रूपमा देखाएका छन्।
वेंकय्याको हुलिया र व्यवहार त सुरूदेखि नै डरलाग्दो छ। बीचबीचमा नाटकको सूत्रधार झैं बोल्ने, गाउँका अरुमान्छे भन्दा बेग्लै देखिने र फरक तरिकाले बाँच्ने उनीहरू 'आउटसाइडर' हुन्।
सारमा, फिल्ममा यी मुख्य पात्रमार्फत सिंगो गाउँ र देशकै गरिबी र गरिबमाथि हुने उत्पीडनमाथिको रोष पाइन्छ। निर्देशक मृणाल सेनले सुरूमा अनिकालको इतिहास भोगेका बंगालको कुनै ठाउँमा फिल्म छायांकन गर्ने सोचेका थिए।
तर दक्षिण भारतमा छायांकन गरेपछि उनले भने, 'उत्तर, दक्षिण, पूर्व वा पश्चिम जहाँ भए पनि भारतका गरिबीको हालत र उनीहरूमाथि हुने शोषण उस्तैउस्तै रहेछ।'
शतरञ्ज के खिलाडी(१९७७), निर्देशक: सत्यजित राय
सामाजिक सञ्जाल र भिडिओ गेमको लतले आजका मान्छे 'बिग्रिए' भन्ने धेरै सुन्न, पढ्न पाइन्छ। तर लखनऊ दरबारका मिर्जा सज्जाद अली (सञ्जीव कुमार) र मीर रौशन अली (शईद जाफरी) आजभन्दा डेढ सय वर्षअघि नै 'बिग्रेका' थिए। मोबाइल नभएको त्यो जमानामा उनीहरूलाई शतरञ्ज (चेस) को नशा लागेको थियो।
नशा यतिसम्म, उनीहरूलाई राज्यका अरू मान्छेको त के, आफ्नै श्रीमतीको भावना बुझ्ने समय छैन। यी दुई पात्रजस्तै अवधका नवाब वाजिद (अली शाह)देखि सर्वसाधारणसम्म त्यो समयमा विलासिताको रङमा डुबेका थिए।
त्यही भएर ब्रिटिस इन्डिया कम्पनी अवधमाथि आफ्नो नियन्त्रण बढाउने दाउमा रहँदा पनि राज्य बचाउने जिम्मेवार व्यक्ति भने शतरञ्ज खेल्ने ठाउँ खोजीखोजी भड्किन्छन्। बंगाली मूलका निर्देशक सत्यजित रायले फिल्म 'शतरञ्ज के खिलाडी' मा विलासीपन र यसले निम्त्याउने परिणाम रोचक र सुन्दर ढंगले प्रस्तुत गरेका छन्।
बंगाली भाषामा 'अपु ट्रिओलोजी' जस्तो सशक्त फिल्मका निर्देशक रायले ओस्कारको 'लाइफटाइम अचिभमेन्ट अवार्ड'समेत पाएका छन्। 'शतरञ्ज के खिलाडी' उनले निर्देशन गरेको पहिलो हिन्दी फिल्म हो।
यस फिल्ममा सन् १८५० को दशकको लखनऊ परिवेश र राजारजौटाको जीवनशैली चित्रण गर्न रायले दरबारीया भवन, भेषभूषादेखि तत्कालीन समयको शास्त्रीय संगीतसम्म प्रयोग गरेका छन्। व्यंग्यात्मक तर सरल यो फिल्म एकातिर इतिहासको कथा हो, अर्कोतिर अम्मल र अय्यासीले मान्छेको जीवनमा पार्ने असरमाथिको सूक्ष्म अवलोकन।
अन्य मुख्य कलाकारमा शबाना आजमी र अमजद खान छन्। फिल्मको कथाको केही अंश अमिताभ बच्चनको स्वरमा वाचन गरिएको छ। रायको यो फिल्म साहित्यकार प्रेमचन्दको कथा 'शतरञ्ज के खिलाडी'मा आधारित छ।
गबन (१९६६), निर्देशक: हृषिकेष मुखर्जी र किसन चोपडा
'गबन' प्रेमचन्दको अर्को चर्चित उपन्यास हो। फिल्मको कथा रमानाथ (सुनील दत्त) र साधना (जलपा)को परिवारको वरिपरि घुमेको छ।
रमानाथ मुन्शी दयानाथका छोरा रमानाथको बिहे धनी परिवारकी जलपासँग हुन्छ। बिहेमा ऋण काढेर दयानाथले बुहारी भित्र्याएका हुन्छन्। बुहारी भित्रिन नपाउँदै दयानाथमाथि गहनाको पैसा तिर्ने दबाब आइलाग्छ। यसका लागि लाचार भई बुहारीसँग गहना माग्नु नै विकल्प ठानेर छोरासँग अनुरोध गर्छन्।
तर पहिल्यै साथीहरूको लुगासमेत मागेर ठाँटिएर हिँड्नुपर्ने रमानाथले नयाँ दुलहीसँग उनको गहना कसरी फिर्ता माग्न सकून्? जलपासँग गहना माग्नुको साटो उनलाई थाहै नदिई गहना निकालेर बुबालाई दिन्छन्। जलपाको अगाडि गहना चोरी भएको अभिनय समेत गर्छन्।
जलपा भने बिहेकै बेला गहनामा चन्द्राहार नभएको भनेर ठुस्किएकी थिइन्। झन् ताजाताजै सबै गहना चोरी हुँदा झोंक्किएर माइत जाने धम्की दिन्छिन्। रमानाथले जलपालाई कमाएर गहना किन्दिने भन्दै जसोतसो फकाउन सफल हुन्छन्।
तर श्रीमतीलाई गहना किन्दिने ल्याकत नभएका उनले उधारोमा गहना बनाउँछन्। उधारो तिर्न नसकिरहेकै बेला जलपाको गहना देखेर रमानाथको नातेदारले पैसा दिन्छन्। गहना पसलमा अर्डर दिन जाँदा पसलेले पुरानो हिसाब चुक्ता नभई नयाँ गहना नदिने भनेर पैसा राख्छन्। यो अप्ठ्यारोबाट उम्कन उनले कार्यालयको पैसा घर लान्छन्। उनका साहुले पैसा नबुझाएको भनेर प्रहरीलाई पक्रन रमानाथको घर पठाउँछन्।
यो घटनाले अत्तालिएका रमानाथ घर नगएर कलकत्ता जाने रेल चढिसकेका हुन्छन्। यसपछि रमानाथले के गर्लान्? उनकी श्रीमती जलपाले कस्तो निर्णय लेलिन्? उनीहरूको सम्बन्ध कस्तो होला? थाहा पाउन 'गबन' हेर्नुस्।
'गबन' को विशेषता के भने, यसले सुरूदेखि नै आफ्नो रफ्तार समाएको छ। यो गति अन्तसम्म रोकिँदैन। भारतीय स्वतन्त्रता संग्राम चलिरहेको समय पनि जोडिने यो फिल्मले दर्शकलाई रमानाथको निजी जीवनबाट राष्ट्रिय राजनीतिसम्म तानेर लैजान्छ।
गोदान १९६३, निर्देशक: त्रिलोक जेटली
समीक्षकको नजरमा भारतमा 'गोदान'जस्तो ग्रामीण जनजीवनको प्रभावकारी चित्रण भएको अर्को उपन्यास छैन। त्यसैले 'गोदान'लाई प्रेमचन्दको मात्रै नभई भारतकै उत्कृष्ट आधुनिक उपन्याससमेत भनिन्छ। यही उपन्यासमा आधारित फिल्ममा राजकुमार, कामिनी कौशल, शशिकला र महमुदले अभिनय गरेका छन्।
हिन्दी साहित्यकै अमर पात्र होरीको भूमिकामा राजकुमार र धनियाँको भूमिकामा कामिनीले अभिनय गरेका छन्। महमूदले फिल्ममा उनीहरूका छोरा गोवरको चरित्र निर्वाह गरेका छन्।
उत्तर भारतको ग्रामीण परिवेशबाट कथा सुरू हुन्छ। होरी र उनको परिवारको आफ्नै जग्गा भए पनि दिनरात मिहेनत गर्दा पनि उनी साहुमहाजनको ऋणबाट मुक्त छैनन्। गाई पाल्नु किसानको परिवारको लागि प्रतिष्ठा, सन्तुष्टि र आम्दानीको विषय हो। होरीको मनमा पनि लामो समयदेखि गाई किन्ने सपना छ। यो सपना पूरा गर्न उनले भोलासँग उधारोमा गाई ल्याउँछन्। गाईसँगै होरी र उनको परिवारको घर र मनमा खुसी आउँछ।
तर होरीका दुई भाइ शोभा र हिरा उनीसँग जल्छन्। भाइ हिराले त गाईलाई विष दिएर मारिदिन्छन्। तर सोझा होरी गाउँलेका अगाडि झुटो कसम खाएर भाइलाई प्रहरीबाट बचाउँछन्। उधारोमा ल्याएको गाईबाट फाइदा आउनुको साटो उल्टै ऋण थपिन्छ। भोलाले आफ्नो ऋण नतिरेको बदलामा होरीको घरमा भएको गोरु लिएर जान्छन्।
उता छोरा गोवर उही गाई उधारो दिने भोलाकी विधवा छोरी झुनियालाई गर्भ बोकाएर गाउँ छोडेर भाग्छन्। आफू भागे पनि गोवरले झुनियालाई आफ्नो घर पठाउँछन्। होरी र धनियाँले झुनियाँलाई स्वीकार्छन्। तर उनीहरूले यसको मूल्य भने ठूलै चुकाउनुपर्छ।
पञ्चायतले जात बिरादरीको मुद्दा बनाएर यो सम्बन्धमा अड्को थाप्छ र होरीको परिवारलाई जरिवाना तिराउँछ। धनियाँले साहुमहाजनको शोषणको विरोध गरे पनि होरी सामाजिक मूल्य मान्यतामा चल्नु नै आफ्नो धर्म ठान्छन् र जरिवाना स्वीकार्छन्। फिल्मभरि यसरी नै एउटा निर्दोष र श्रममै समर्पित किसान परिवारमाथि साहुमहाजनले छल गर्छन् भन्ने कुरा मार्मिक ढंगमा देखाइएको छ।
आफ्नो छोरीको राम्रो वर खोजेर बिहे गर्ने, फेरि गाई किन्ने सपना गर्ने र ऋणमुक्त भइ बाँच्न चाहने होरी र धनियाँले यसपछि कस्तो संघर्ष गर्छन्? सहर गएका छोरा र उनीहरूको सम्बन्ध कसरी अघि बढ्छ? के होरी र धनियाँले पसिना र इमानको कमाइ गर्दा दुई छाक शान्तिपूर्वक खान पाउलान्? या टाठाबाठाबाट सधैं ठगिइरहलान्? हेर्नुस्, 'गोदान'।
यो फिल्म व्यवसायिक वा कलात्मक हिसाबले अब्बल दर्जामा नपरे पनि तत्कालीन समयको भारतीय समाज बुझ्न महत्वपूर्ण छ। आजको भारतमा पनि 'गोदान'को मुख्य पात्र होरीजस्तै लाखौंलाख किसानसँग आराम गर्ने फुर्सद छैन। साहुमहाजनले गर्ने शोषण आज पनि उत्तिकै बलियो छ।
गीत-संगीतले भरिएको मेलोड्रामा 'गोदान' कलात्मक वा व्यवसायिक हिसाबले उल्लेख्य नहोला। तर प्रेमचन्दकै सर्वश्रेष्ठ उपन्यासमा आधारित भएकाले यसको कथा 'आउटडेटेड' लाग्दैन। फिल्ममा ग्रामीण परिवेशसँगै सहरका केही सन्दर्भ पनि जोडिएका छन्।
पिपरा के पतवा सरीखे डोले मनवा, कि हियरा में उठत हिलोर
पुरवा के झोंकवा में आयो रे संदेसवा की चल आज देसवा की ओर
गीतकार अन्जानको शब्द, रविशंकरको संगीत र मोहम्मद रफीको स्वर सजिएको 'गोदान'को यो भोजपुरी गीत निकै लोकप्रिय थियो।
यी पनि हेर्नुस्ः