'आहा! कस्तो जीवनजस्तै जीवन्त फिल्महरू!'
इरानी फिल्म हेरेपछि धेरैले यस्तो भनेका छन्, लेखेका पनि छन्। सामान्य घटनाक्रम, थोरै लगानी तर यथार्थपरक र कलात्मक फिल्मका लागि इरानी सिनेमा संसारभरका दर्शकमाझ प्रख्यात छ। के तपाईंहरू यो लकडाउन बेला इरानी फिल्म हेर्न चाहनुहुन्छ?
मानवीय संवेदनाको सूक्ष्म र जीवन्त चित्रण गर्ने केही प्रतिनिधि इरानी निर्देशकका पाँच फिल्म युट्युबमा सजिलै हेर्न सकिन्छ।
अ सेपरेसन (सन् २०११)
अस्कर अवार्डमा विदेशी भाषातर्फ उत्कृष्ट फिल्मको अवार्ड जित्न सफल 'अ सेपरेसन' को केन्द्रमा उच्च-मध्यमवर्गीय इरानी दम्पती छन्। यसमा श्रीमती सिमिन र श्रीमान् नादेरका दुई फरक प्राथमिकता छन्। फरक प्राथमिकताको समाधान उनीहरू सँगै बसेर गर्न नसक्ने अवस्थामा पुग्छन्।
सिमिन छोरीको पढाइ र अरू अवसरका लागि विदेश जान चाहन्छिन् भने नादेर अल्जाइमर भएका बुबाको स्याहार गर्नुपर्ने दायित्वले इरानमै बस्न बाध्य छन्। फिल्मको नामले भनेझैं यसको समाधानका लागि उनीहरू तलाक गर्ने मनस्थितिमा पुग्छन्। तलाक पाउने ठोस कारण नभएपछि सिमिन माइत बस्न थाल्छिन्।
श्रीमती हिँडेपछि नादेरले बुबाको स्याहारका लागि काम गर्ने महिला राख्छन्। ती महिलाको काम नादेरलाई चित्त बुझ्दैन। एक घटनाका कारण एक दिन झोंक्किएर धक्का दिँदा कामदार महिलाको गर्भ तुहिन्छ। त्यसपछि फिल्म जटिल मोडमा पुग्छ। यसका प्रमुख पात्रहरू एकअर्काको विपक्षमा भए पनि उनीहरूमध्ये कसैलाई दोषी भन्न सकिने अवस्था छैन।
'द सेल्सम्यान' र 'द पास्ट' जस्ता सशक्त फिल्मका निर्देशक फरहादीका अरू फिल्मजस्तै यसमा पनि रहस्य र त्यसका पछाडि विविध सम्भावना छन्। यो फिल्ममा उनले मतभेदको कथामार्फत् व्यक्तिगत फाटोसँगै इरानी समाजको सामाजिक, लैंगिक र पुस्तान्तरसम्मका फाटो जोडेका छन्।
द विल्लो ट्री (२००५)
आठ वर्ष उमेरमा आँखाको ज्योति गुमाएका प्रोफेसर युसुफमा आफ्नो भाग्य र भगवानप्रति गुनासो छ। तर संजोग यस्तो जुर्छ, दशकौंपछि उनी फेरि आँखा देख्ने हुन्छन्।
आँखा नदेख्ने मान्छेले संसार देख्न पाउनु कति राम्रो कुरा! धेरैलाई यस्तै लाग्दो हो। 'द विल्लो ट्री' हेरेपछि भने यो बुझाइमाथि शंका उब्जिन्छ। उसलाई विस्तारै आँखा देख्ने युसुफ मन पर्न छोड्छ। उसको यो धारणामा आउने परिवर्तनले दर्शकको मन हल्लाउँछ।
यो फिल्म प्रख्याती इरानी निर्देशक माजिद माजिदीले निर्देशन गरेका हुन्। युट्युबमा अंग्रेजी टाइटलसहित नभेटिए पनि संसार हल्लाउने उनका अरू केही फिल्म खोजीखोजी हेरौं। 'द कलर अफ प्याराडाइज', 'चिल्ड्रेन अफ हेभन', 'द सङ अफ स्प्यारोज' आदि उनका प्रमुख फिल्म हुन्।
क्रिम्सन गोल्ड (२००३)
नन-एक्टरलाई अभिनय गराउँदा चरित्रमाथि न्याय हुन्छ भन्ने मान्यता राख्ने निर्देशकहरू धेरै छन्। यसमा जाफर पनाही पनि पर्छन्।
क्रिम्सन गोल्डका हुसेन पनि त्यस्तै कलाकार हुन्। भनिन्छ, वास्तविक जीवनमा उनी पिज्जा बेच्थे। कहिले नजरबन्द त कहिले थुनामा परेका निर्देशक पनाहीको यो प्रतिबन्धित फिल्म हो। फिल्म अब्बास किरोस्तामीले लेखेका हुन्।
घर-घरमा पिज्जा पुर्याइदिने युवाको निराशा र आक्रोशको कथा बोकेको यो फिल्मको सुरुआतमै मुख्य पात्रले आफूलाई गोली हानेको देखाइन्छ। त्यसपछि फ्ल्यासब्याकमा फिल्मको कथा अगाडि बढ्छ।
ब्ल्याकबोर्डस् (२०००)
उराठलाग्दा र अग्ला पहाडबीच विद्यार्थी खोज्दै एक हुल शिक्षक काँधमा ब्ल्याकबोर्ड बोकेर हिँडेका छन्। शिक्षाको उज्यालो बाँड्न विद्यार्थी खोज्दै हिँडेका ती शिक्षकको भेट गाँस, बास र सुरक्षाको ठेगान नभएका युद्धबाट विस्थापित पात्रहरूसँग भइदिन्छ। यहीँबाट नयाँ यात्रा सुरू हुन्छ।
यो फिल्म इरान–इराक युद्धका क्रममा शरणार्थी भएका कुर्दिश समूहमा केन्द्रित छ। आकाशमा बेलाबेला गुञ्जिने हेलिकप्टरको आवाजले उनीहरूमा युद्धको त्रास हटेको छैन। युद्ध र शिक्षाका अँध्यारा-उज्याला पक्ष जोडिएको ब्ल्याकबोर्डसका घटनाक्रम यथार्थको नजिक छ।
निर्देशक समिरा मखमलबाफले २१ वर्ष उमेरमा बनाएको यो फिल्म कान फेस्टिभलमा उत्कृष्ट जुरी अवार्ड पाउन सफल भएको थियो।
टेस्ट अफ चेरी (१९९७)
आत्महत्या गर्ने निर्णयमा पुगेको एउटा पात्र छ, मिस्टर बादी। उसलाई आफू मरेपछि पुरिदिने पात्र चाहिएको छ। यही खोजीमा गाडी गुडाउँदै यात्रा गर्दा ऊ फरक उमेरका तीन जना बेग्लै पात्रसँग ठोक्किन्छ।
ती पात्रसँगको संवाद र यात्रा क्रममा दर्शकलाई निर्देशकले तेहरानका पर्वत र कुइनेटामा डुलाउँछन्। चटपटा घटनाबिना धिमा गतिमा हुने यो यात्राले दर्शकलाई एउटा पृथक जादुमय गन्तव्यमा पुर्याउनेछ।
फरक स्वादको 'टेस्ट अफ चेरी' ले कान फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको थियो। किरोस्तामीका क्लोज अप, द विन्ड विल क्यारी अस, द रिपोर्ट लगायत केही छोटा फिल्म पनि युट्युबमा भेटिन्छन्।
यो पनि हेर्नुस्ः युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म