भारतीय सिनेमाका सर्वकालीन उत्कृष्ट कलाकारको माथिल्लो पंक्तिमा आउने नाम हो, स्मिता पाटिल। भूमिका छोटो होस् वा लामो, उनले अभिनय गरेका धेरै चरित्र जीवन्त अभिनयका कारण दर्शकको दिमागमा बस्न सफल छन्।
भारतमा समानान्तर फिल्मको लहर चलेको समयकी प्रमुख कलाकार स्मिता १९७५ तिरदेखि १९८६ सम्म फिल्मी दुनियाँको केन्द्रमा रहिन्। १९८६ मा अल्पायुमै बितेकी उनले अभिनय गरेका फिल्म र उनको भूमिकाबारे विभिन्न सन्दर्भमा आज पनि चर्चा भइरहन्छ।
वास्तविक जीवनमा सामाजिक-राजनीतिक रुपमा सचेत र सक्रिय उनले निर्वाह गरेका चरित्रमा पनि त्यो प्रभाव प्रष्ट झल्किन्छ। समानान्तर फिल्ममा सक्रिय धेरै कलाकारझैं पछिल्लो चरणमा उनी व्यवसायिक फिल्ममा पनि सफल रहिन्।
३१ वर्षको उमेरमा बितेकी स्मिताले करिब एक दशक अवधिमा आफ्नो समयका नाम चलेका सबै राम्रा कलाकारसँग काम गरिन्। गैरहिन्दी भाषामा बन्ने फिल्ममा पनि उनले ठूलो ख्याती पाएकी छिन्। श्याम बेनेगल, मृनाल सेन, सत्यजीत रे, गोविन्द निहलानीजस्ता निर्देशकका कलात्मक फिल्ममा काम गरेकी उनले अमिताभ बच्चन, राजेश खन्ना, मिथुनजस्ता कलाकारसँग सफल फिल्म खेलेकी छिन्।
यो सूचीमा उनका पाँच यादगार फिल्म छानिएको छ।
मिर्च मसला (१९८७), निर्देशक: केतन मेहता
'मिर्च मसाला' भारत ब्रिटिस राजबाट स्वतन्त्र हुनुअघिको परिवेशको गुजराती गाउँको कथा हो। यो गाउँमा उपनिवेशकालमा लगान उठाउने सुबेदार (नसीरुद्दिन शाह) ले सर्वसाधारणका घरमा घुसेर पशुदेखि अन्नसम्म लुटेर आतंक मच्चाएको छ। सुबेदारको आतंकविरुद्ध गाउँको मुखिया शुरेश ओबरायले नै सहीछाप लाएपछि सर्वसाधारणले प्रतिरोध गर्ने अवस्था छैन।
गाउँका युवतीलाई फकाएर वा धम्काएरै पनि आफ्नो शारीरिक प्यास मेटाउने सुबेदारले एक दिन खोलामा पानी थाप्न आएकी सोनबाई (स्मिता पाटिल) लाई देख्छ। उसको सौन्दर्यबाट लोभिन्छ। सुबेदारमा आफूले जो महिला चाह्यो उसमाथि शारीरिक शोषण गर्नसक्छु भन्ने दम्भ हुन्छ। तर हक्की स्वभावकी विवाहित सोनबाई सुबेदारको सामु आफूलाई समर्पण नगर्न अडिग छन्।
बरु, उल्टै सुबेदारलाई चड्कन दिएर भाग्छिन्। क्रुर सुबेदारका सिपाहीबाट भाग्दै उनी खुर्सानी कारखानामा पुग्छिन्, जहाँ गाउँका महिला काम गर्छन्। सुबेदारको सिपाहीलाई रोक्दै कारखानाका पाले ओम पुरीले सोनबाईलाई संरक्षण दिए पनि उनले लामो समय सिपाहीलाई रोक्न सक्ने स्थिति छैन। अझ, त्यहाँका महिला कामदार नै एक जना सोनबाईका लागि सबैलाई बलि चढाउन नहुने मत राखिरहेका हुन्छन्।
अब सोनबाईले के गर्लिन्? आफ्नै श्रीमतीको समस्या नदेख्ने मुखियाले सोनबाईको सुरक्षा गर्ला? वा, सोनबाईलाई सुबेदारकहाँ सुम्पेर गाउँको रक्षा गर्ने निर्णय लेला? सोनबाईको इमान, गाउँको सुरक्षा र सुबेदारको अहममा कसको जित हार होला?
यही कथानकलाई निर्देशक केतन मेहताले रोचक तरिकाले बुनेका छन्। फिल्ममा स्मिता पाटिल र नसीरुद्दिन शाहको बेजोड अभिनय छ। दिप्तीले हरेक रात घरबाहिर रात बिताउने मुखियाकी पत्नीको भूमिका निर्वाह गरेकी छिन्। थोरै संवादमै दिप्तीले धेरै कुरा भनेकी छिन्। फिल्ममा अबु (ओमपुरी) सहायक तर महत्वपूर्ण पात्र हुन्।
गरिबी र अन्यायमा पिल्सिएको गाउँका दैनिकीकी समस्या यो फिल्ममा ग्रामीण परिवेशलाई सामूहिक गतिविधि, लोकगीत र स्थानीय लवजमार्फत सुन्दर ढंगमा देखाइएको छ। गाउँको पछौटेपन र सुबेदारको रसिक झल्काउन ग्रामोफोनलाई रमाइलो गरी प्रयोग गरिएको छ।
यो फिल्म तत्कालीन भारतीय समाजको अनुहार हेर्ने ऐना हो। जुन ऐनामा पुरुष ज्यादती, राज्यको प्रतिनिधिको शोषणदेखि स्थानीय साहुको छलकपटसम्म चित्रण छ। वर्ग, लिंग र जातको विभेदको कुरुप अनुहार छ।
'मिर्च मसाला'को रातो–पीरो रङ र स्वाद विद्रोहको विम्ब हो। पिरो खुर्सानी खाएपछि निकैबेर त्यसको पिरोले पछ्याएझैं, 'मिर्च मसाला' हेरेपछि यसको प्रभावले पनि लामै समय लखेट्ने छ। अन्तर्राष्ट्रिय स्तरमा समेत चर्चा बटुल्न सफल 'मिर्च मसाला' मन परेमा यसका निर्देशक मेहता र स्मिताको अर्को सहकार्य 'भुवन भावे' हेर्दा हुन्छ।
अर्थ (१९८२), निर्देशक: महेश भट्ट
अर्थको संक्षिप्त कथा यस्तो छ– पूजा (शबाना आजमी) श्रीमान इन्दर (कुलभुषण खरबन्दा) मा आश्रित हुन्छिन्। तर इन्दर घरबाहिरकी केटी कविता (स्मिता पाटिल) को प्रेममा फसेका छन्। यसले पूजा र इन्दरको सम्बन्धमा दरार बढ्दै जान्छ। 'अर्थ' यही सम्बन्धमा दरार आएपछि ती पात्रको जीवनमा आउने हलचलको कथा हो।
यी तीनबाहेक राजकिरणको पनि प्रमुख भूमिका छ, जो पूजाप्रति आकर्षित हुन्छन्। चार जना पात्रको वरिपरि कथा घुम्ने कथाले सम्बन्धको अर्थ र जीवनको अस्तित्वको अर्थमाथि नै प्रश्न जन्माउँछ।
स्टार कलाकार कविता बिरामी पात्र हुन्। समाजका नजरमा नाजायज सम्बन्ध गाँसेकी उनी उपेक्षित पात्र पनि। फिल्ममा मानसिक रोगीका रूपमा ठाउँ ठाउँमा डराएको, आत्तिएको देखिने दृश्यमा उनले मन छुने अभिनय गरेकी छिन्। डरकै वरिपरि बाँचेकी पात्र हुन् उनी।
फिल्मको केन्द्रमा शबाना आजमी भएकाले उनको भूमिका र अभिनय दुवै बलियो छ। दोहोरो प्रेम सम्बन्धमा परेका इन्दरको भूमिकामा कुलभूषण खरबन्दाको अभिनय पनि शानदार छ।
फिल्मको कथाबाहेक 'अर्थ' संगीतले पनि हलचल मच्चाएको फिल्म हो। महेश भट्टका फिल्मका संगीत प्रायः राम्रा हुन्छन्। 'अर्थ'को संगीत त झन्, गजलका हस्ती जगजित सिंह र चित्रा सिंहका गीत-संगीतका कारण आज पनि धेरैका लागि प्रिय छ। कैफी आजमीको शब्द रहेको 'तुम इतना जो मुस्कुरा रहे हो', 'झुकी झुकी सी नजर', 'तु नहीँ तो जिन्दगी मे' वा 'कोइ ये कैसे बताए'जस्ता गजलले फिल्ममा पात्रको संवेदना र कथा सँगसँगै डोर्याउँछ।
महेश भट्टको लेखन र निर्देशनमा बनेको 'अर्थ' फरक 'क्लाइमेक्स'का कारण आजको समयमा पनि सान्दर्भिक फिल्म हो।
बाजार १९८२, सागर सरहदी
'बाजार' स्मिता पाटिलको अर्को यादगार फिल्म हो। यसमा उनी हैदराबादको मुस्लिम परिवारमा हुर्केकी महिला पात्र नजमाको भूमिकामा छन्।
विवाहित पुरुष अख्तर हुसेन (भरत कपुर)सँग घर छोडेर भागेकी उनलाई अख्तरले बिहे गर्ने आश्वासन दिए पनि अपनाउन सकेका हुँदैनन्। अख्तर आर्थिक हिसाबले उनका हाकिम शाखिर अली खानमा निर्भर छन् जो विदेशबाट फर्केर नजमा बस्ने फ्ल्याटमै बस्न आइपुग्छन्। उमेर छिप्पिसकेको र विवाहित शाखिरका लागि अख्तरले नजमालाई केटी खोजिदिन आग्रह गर्छन्। अख्तरले नजमासँग शाखिरलाई खुसी नपारे बस्ने सुविधा खोसिने चिन्ता पोख्छन्।
नजमा शाखिरको इच्छा पूरा गरे अख्तरले आफूलाई बिहे गर्ने लोभले शाखिरका लागि केटी खोज्न आफ्नै जन्मथलो हैदराबाद जान तयार हुन्छिन्।
केटी खोज्ने टोलीमा अख्तर शाखिरसँगै लेखक सलिम (नसीरुद्दिन शाह) र अर्की एक जना साथी पनि हुन्छिन्। सलिम नजमालाई मन पराउँछन् र नजमाको मनमा पनि सलिमप्रति इज्जतको भावना हुन्छ।
फिल्ममा नजमासँगै उनका भाइ पर्ने सरजु र शबनम (सुप्रिया पाठक)को कथा पनि समानान्तर अघि बढ्छ। संयोगबस शाखिरले सरजुकी प्रेमिका शबनमलाई बिहे गर्ने इच्छा व्यक्त गर्छन्। आफ्नो प्रेमीसँग सुखद जीवन र बिहेको सपना बोकेकी नजमा यो शाखिरको मोहरा बन्दै गएको महशुस गर्छिन्। सलिम पनि नजमाको यो कार्यमा सन्तुष्ट हुँदैनन्। आफ्नो घर र निजी खुसीको चक्करमा नजमा अप्ठ्यारो परिस्थितिमा पुग्छिन्। नजमासँगै सरजु र शबनको प्रेम पनि संकटमा पर्छ।
यो परिस्थितिबाट नजमाले कसरी पार पाउलिन्? अख्तरभन्दा सलिमलाई सम्मान गर्ने उनी आफ्नै मनको दुविधाबाट कसरी उम्केलिन्? यसका लागि 'बाजार' हेर्नुपर्ने हुन्छ।
'बाजार'मा एकातिर प्रेम र सपना अनि अर्कोतिर पैसा, गरिबी र धर्मका कुरा जेलिएर आउँछ। यो फिल्ममा महिलाको अस्तित्वलाई पुरुषले बिहेको नाममा वैधानिक रुपमै कसरी बजारको सामान जसरी उपभोग गरिरहेको छ भन्ने यथार्थको चित्रण छ।
फिल्ममा स्मिता पाटिल, नसीरुद्दिन शाह, भरत कपुर र सुप्रिया पाठकको अभिनय विशेष छ। एकसेएक मन छुने गीत पनि छन्। तीमध्ये केही हुन्, 'दिखाइ दिए यूँ', 'फिर छिडी रात फूलों कि', 'देखलो आज हमको जी भरके।'
जटिल चरित्र र जटिल परिस्थिति नै 'बाजार'को सशक्त पक्ष हो।
अल्बर्ट पिन्टोको गुस्सा क्यू आता है (१९८०), निर्देशक: सईद अख्तर मिर्जा
नाम नै अनौठो भएको यो फिल्म अलि फरक पनि छ। सन् १९८१ मा समीक्षकका नजरमा उत्कृष्ट फिल्मको पुरस्कार जित्न सफल यो फिल्मको केन्द्रमा अल्बर्ट पिन्टो (नसीरुद्दिन शाह) छन्। उनी कार मेकानिक हुन्छन्। आफ्नो जीवनबाट सन्तुष्ट पात्र उनी मजदुरहरूले हकहितका नाममा राख्ने माग र हड्तालका गतिविधिलाई बकवास मान्छन् र रिसाउँछन्।
फिल्ममा शबाना आजमी अल्बर्टकी प्रेमिका स्टेला बनेकी छिन्। स्टेलासँग पनि अल्बर्ट रिसाइराख्छन्। साथीसंगी र प्रेमिकासँग रमाइरहेको मध्यमवर्गीय अल्बर्टको जीवनमा केही त्यस्ता घट्ना हुन पुग्छन् जसले उसको सोचमा परिवर्तन आउँछ।
यसले उसको रिसाउने बानी जाँदैन, तर ऊ रिसाउने कारण भने फेरिन्छ। फिल्मको नामले भनेजस्तै अल्बर्ट किन रिसाउँछन् थाहा पाउन यसको कथा पढ्न भन्दा हेर्नै मजा आउँछ।
फिल्मले वर्गीय स्वार्थ, युवा मनोविज्ञान र सामाजिक परिस्थितिले बदल्ने पात्रको कथा भनेको छ।
फिल्ममा स्मिता पाटिल भने अल्बर्टकी दिदी जोन पिन्टोको भूमिकामा छिन्, जो साडी पसलमा काम गर्छिन्। उनी खुट्टा खोच्याएर हिँड्छिन्। धेरै दृश्यमा नदेखिए पनि फिल्ममा खास-खास ठाउँमा आउने उनको उपस्थितिले दर्शकको ध्यान तान्छ। जोन पिन्टोको उपस्थिति सीमान्तकृत समुदायको पात्रले केही भन्न खोजिरहेकोझैं आभाष हुन्छ।
भूमिका (१९७७), निर्देशक: श्याम बेनेगल
स्मिताले यो फिल्मका लागि पहिलो राष्ट्रिय पुरस्कार जितेकी थिइन्। यो उनलाई सशक्त कलाकारका रूपमा स्थापित गर्ने महत्वपूर्ण फिल्म हो। 'भूमिका' मराठी सिनेमाकी चर्चित कलाकार हंसा वाडकरको आत्मकथा 'सांग्ते आइका'मा आधारित छ। यो किताब पनि निकै चर्चित छ।
फिल्ममा एकातिर उनले पुरुष प्रधान समाज र परिवारको नियन्त्रण र अर्कोतिर पुरुषवादी सोच हाबी भएको सिनेमा उद्योगमा गरेको संघर्षको चित्रण छ।
उषा (स्मिता पाटिल) की हजुरआमा प्रख्यात गायक हुन्छिन्। सानो छँदै बुबा बितेपछि आमाको विरोधका बावजुद उनको परिवारका स्वघोषित आफन्त केशव दाल्भी (अमोल पालेकार) उषालाई संगीत अडिसनमा लिएर जान्छन् र छनोटमा पनि पर्छिन्। उषाको गायन, नृत्य र अभिनय आफ्नी आमा र हजुरआमाको जीवन धान्ने माध्यम बन्छ।
केशव उषाभन्दा उमेरले निकै जेठो भए पनि आफूलाई उषाको 'मंगेतकर' भएको र उषाको परिवारनजिक रहेको हक जताउँछन्। यसलाई कसैले नकार्न सकेको देखिँदैन। फिल्ममा उषा आमाको विरोधका वावजुद केशवसँग नजिकिन बाध्य अप्ठ्यारो परिस्थिति देखिन्छ। यही परिस्थितिको फाइदा उठाउन केशव सफल हुन्छन् र उषा एकपछि अर्को सम्झौता गर्न बाध्य हुन्छिन्। अन्नतः विद्रोहमा उत्रिन्छिन्।
यो कथा फिल्ममा 'फ्ल्यास-ब्याक'का घटनाबाट देखाइन्छ। पुरानो समयको प्रसंग आउने फ्ल्यास-ब्याकको कथा श्यामश्वेत र वर्तमानका घटना रंगीनमा देखाइनु पनि यो फिल्मको विशेषता हो। फिल्मको कथा केशव र उषाको झगडाबाट सुरू हुन्छ, जहाँ उषाले घर छोड्ने निर्णय लिन्छिन्। यसपछि फिल्ममा उषा र राजनको सम्बन्धको नयाँ कथा थपिन्छ।
यो कथासँगै उषाको निजी जीवन र कला जीवन कता मोडिन्छ? फिल्ममा देखाइने उषाको जीवनका विभिन्न चरणले भन्दै जान्छ।
'भूमिका'मा उषालाई बालिकादेखि परिपक्व महिला भएकोसम्म देख्न पाइन्छ। बाल कलाकारबाहेक किशोरी अवस्थादेखिनै स्मिता पाटिलले यी विभिन्न चरणमा फरक हुलियामा अभिनय गरेकी छन्। मानसिक शारीरिक हिंसा र मिडियाका अफवाहसम्म झेल्ने क्रममा पात्रको मानसिकतामा आउने परिवर्तनलाई स्मिताले आफ्ना हाउभाउ र संवादमार्फत् सशक्त अभिव्यक्त गरेकी छन्।
'भूमिका' हंसाले फिल्म क्षेत्रमा बिताएको समयका धेरै कुरा महिलाको नजरबाट हेर्ने फिल्म बन्यो।
फिल्ममा शुलभा देशपाण्डे, नसीरुद्दिन शाह र अमरिश पुरीको पनि प्रमुख भूमिका छ। स्मितासँगै फिल्ममा खराब पात्रको रुपमै भए पनि अमोल पालेकरको अभिनयले मन जित्छ।
यी पनि हेर्नुस्ः
युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म
युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म
युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
युट्युबमा हेर्न लायक १० हिन्दी फिल्म
५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म
अमिताभ बच्चनका ७० दशकका ५ सुपरहिट फिल्म, युट्युबमा