केही साताअघि नेपालमा ९०० औं प्रजातिको चरो फेला पर्यो, त्यो थियो 'सर्ट टेल्ड सिर्वाटर'। त्यसको नेपाली नाम 'छोटोपुच्छ्रे समुद्री चरो' रह्यो।
नेपालमा समुद्री चरो!
सुन्दा अचम्म लाग्ला तर यो नाम उचित छ। यो एउटा पेलाजिक चरो हो। पेलाजिक शब्दले खुला समुद्र भन्ने बुझाउँछ।
समग्रमा पेलाजिक भनेर चिनिने सिर्वाटर लगायत चरा धेरैजसो समय समुद्रमा बिताउँछन्। प्रजननको समयमा समुद्री किनार वा टापूमा जान्छन्। यी चरा अस्ट्रेलियाको दक्षिणपूर्वी तट र तस्मानियामा प्रजनन् गर्छन्। गर्मी समयमा प्रशान्त महासागरको तटतिर जान्छन्।
अब तपाईंलाई लाग्यो होला, यस्तो चरो नेपालमा कसरी आयो?
मलाई एक पटक अमेरिकाको एउटा लाइभ रेडियो कार्यक्रममा एक जनाले सोधेका थिए— चराहरू नयाँ र आफू नहुनुपर्ने ठाउँमा कसरी पुग्छन्?
मेरो जबाफ थियो— किनभने उनीहरू उड्न सक्छन्।
खास कुरा यही हो। चराको पखेटा हुन्छ र उडेर टाढा टाढासम्म पुग्न सक्छन्। बर्डिङ (चरा) संसारमा नयाँ ठाउँमा यसरी अनौठो चरा देखापर्नु नयाँ कुरा होइन। अलिकति अचम्मको कुरा चाहिँ हो!
करिब दुई वर्षअघि म बस्ने ठाउँ (अमेरिकाको फार्गो) बाट १० घन्टाको यात्रामा पुगिने विस्कन्सिनको एउटा ठाउँमा युरोपबाट 'फिल्डफेयर' नामको चरो आयो। पश्चिमी युरोपबाट पूर्वको केही भेगसम्म पाइने त्यो चरो अमेरिका आइपुगेको थियो।
त्यो चरो त छुटाउनै हुन्न भनेर हामी फार्गोबाट गयौं र भेट्न सफल पनि भयौं। हजारौं माइल टाढाबाट आएको चरो देख्न हाम्रा लागि केही सय माइलको यात्रा के नै थियो र!
हामीलाई त सजिलै छ, जिपिएसमा लोकेसन हाल्यो अनि आफ्नो बाटो लाग्यो!
चरालाई त्यति सजिलो हुँदैन तर पनि जिपिएसबिनै लाखौं वर्षदेखि आफ्नो हिसाबले बसाइँसराइ गरेको गर्यै छन्। अपवादबाहेक पुग्नुपर्ने ठाउँमा पुगेकै छन्।
कहिलेकाहीँ चरा हराउनुमा मौसमको प्रभाव हुन्छ। आँधी–तुफानले चरालाई उसको बाटोभन्दा फरकतिर पुर्याउँछ। गत वर्ष अमेरिकामा त्यस्तै एउटा घटना भयो।
अमेरिकाको दक्षिण भेगमा फ्लेमिंगो नामको चरो पाइन्छ। मेनल्यान्ड अमेरिकाको फ्लोरिडामा कहिलेकाहीँ र टेक्ससमा अलिअलि बाहेक अन्यत्र पाइँदैन। गत वर्ष एउटा तुफानमा परेर ती फ्लेमिंगो चराहरू विस्कन्सिन पुगे। फ्लोरिडामा पनि हत्तपत्त नपाइने चरा क्यानडा बोर्डरमा रहेको राज्यमा भेटिए।
प्रश्न उठ्छ— सबै चरा हराउँछन्?
हराउँदैनन्।
धेरै चरा त हरेक वर्ष पुग्ने गरेको एउटै प्रजनन क्षेत्रमा पुग्छन्। ब्यान्डिङ (खुट्टामा पट्टी बाँधिएको) गरिएका चरा चल्ला कोरलिसकेर अर्को वर्ष पुरानै गुँडको सेरोफेरोमा आएको देखिन्छ।
अनौठो लाग्ने कुरा के छ भने, चराले कहाँ जाने भनेर कसरी थाहा पाउँछन्?
आजसम्म भएका वैज्ञानिक शोध र अनुसन्धान अनुसार चराहरू खोलानाला, ताल, हिमाल–पहाड, ल्यान्डमार्क र सूर्यको दिशा वा किरणको आधारमा बसाइँसराइ गर्छन् भन्ने थाहा भइसकेको छ।
ठ्याक्कै एउटै मात्र नभएर यी विभिन्न आधारको मिश्रणले चराको बसाइँसराइ हुने देखिएको छ। धेरै वैज्ञानिकहरू चराले चुम्बकीय शक्ति प्रयोगबाट पनि ठाउँ पत्ता लगाउन सक्छन् भन्ने मान्छन्।
केही प्रजातिका चराको चुच्चोमा म्याग्नेटाइट नामको चुम्बकीय ढुंगाझैं खनिज पाइएको छ। आइरन (फलाम) युक्त यो खनिजले चराका लागि जिपिएसले झैं काम गर्ने र उत्तर–दक्षिण दिशा छुट्ट्याउन सक्ने वैज्ञानिक अनुमान छ।
यसबारे लगातार अध्ययन–अनुसन्धान हुँदै आएको छ।
अब कुरा गरौं चराले पृथ्वीको चुम्बकीय शक्तिको प्रयोग गर्न सक्ने क्षमताबारे।
यसमा वैज्ञानिकहरूको भिन्नभिन्न मत छ।
प्रश्न उठ्छ– पृथ्वीको कमजोर चुम्बकीय तागत चरामा हुन सक्ने सानो चुम्बकले कसरी दिशा पत्ता लगाउन सक्छ?
सन् १९७८ ताका जर्मन वैज्ञानिक कार्ल स्लुचनले यो क्षेत्रमा नयाँ आयाम ल्याएका छन्। उनका अनुसार चराको कम्पास कुनै चुम्बक नभएर एक प्रकारको रासायनिक रूपान्तरणबाट बनेको हुन्छ। यो कुरा सम्भव बनाउँछ 'र्याडिकल पेयर' ले।
के हो त र्याडिकल पेयर?
र्याडिकल भनेको बिजोर संख्यामा भ्यालेन्स इलेक्ट्रोन रहेको परमाणु, अणु वा आयोन हो। सामान्यतया एउटा अणुमा इलेक्ट्रोनको संख्या जोडीमा हुन्छ। र्याडिकल भनेको त्यस्तो अणु हो जसमा एउटा इलेक्ट्रोन एक्लै बसेको हुन्छ, जोडामा हुँदैन।
जब कुनै रासायनिक प्रतिक्रियाबाट एकै साथ अणुमा र्याडिकल पेयर बन्छ, तब यी पेयरका भिन्न प्रकारहरूबीच समानान्तर वा विरोधी समानान्तर स्पिन हुन जान्छ। स्पिन हुने कणसँग चुम्बकीय क्षमता हुन्छ।
यी स्पिनलाई ↑ र ↓ चिह्नले जनाइन्छ। एउटा 'तल स्पिन' र अर्को 'माथि स्पिन' भएर बसेको हुन्छ। रोचक कुरा के छ भने यी र्याडिकलहरू एकअर्कासँग जोडिएका हुन्छन्। यसलाई 'इन्ट्यांगलमेन्ट' भनिन्छ, 'क्वान्टम इन्ट्यांगलमेन्ट' पनि भन्न सकिन्छ, एउटामा असर पर्दा अर्कोमा पर्ने गुण हुन्छ।
यो कुरामा त अल्बर्ट आइन्स्टाइनले पनि अचम्म मानेका थिए।
र्याडिकल पेयर बनेपछि अणु चुम्बकीय रूपमा संवेदनशील हुन्छ।
यो रासायनिक प्रक्रिया चरासँग कसरी जोडिन्छ त?
कार्ल स्लुचनको अनुमान अनुसार यस्तो परिवर्तन चराको आँखाभित्र हुन्छ। चराको शरीरमा प्रकाश छिर्ने पनि आँखाबाटै हो। हेनरिक मोर्टेन्सन लगायतका वैज्ञानिकको अनुसन्धानमा चराको आँखामा एउटा रंगद्रव्य (पिग्मेन्ट) पत्ता लाग्यो। र्याडिकल पेयर बन्न सक्ने त्यो पिग्मेन्ट 'क्रिप्टोक्रोम' थियो।
बसाइँसराइ गर्ने धेरै चरामा यो पिगमेन्ट हुन्छ। यसले प्रकाश अब्जर्ब (सोस्ने काम) गर्न सक्छ। प्रकाशको ऊर्जाले एउटा इलेक्ट्रोन स्थानान्तरण गर्न सक्छ।
क्रिप्टोक्रोममा भएका इलेक्ट्रोनहरू एकअर्कासँग जोडिएका वा 'इन्ट्यांगल्मेन्ट' मा हुन्छन्, तिनको स्पिन एकअर्कासँग जोडिएको हुन्छ।
यी इलेक्ट्रोनहरू पृथ्वीको कमजोर चुम्बकीय शक्तिको वास्ता नगरी बसेका हुन्छन्। बसाइँसराइका लागि रातको अँध्यारोमा आकाशमा उडिरहेको चराको आँखामा चन्द्रमाको वा ताराको प्रकाश परेपछि क्रिप्टोक्रोममा भएको इलेक्ट्रोन आफ्नो जोडीबाट छुट्टिन्छ र आँखामै रहेको अर्को अणुमा गएर बस्छ अनि त्यहाँ र्याडिकल पेर बन्छ।
त्यति बेला अत्यधिक अस्थिर अवस्थामा रहेको त्यो अणु पृथ्वीको चुम्बकीय शक्तिप्रति अत्यन्तै संवेदनशील बन्छ।
त्यस बेला पृथ्वीको चुम्बकीय शक्तिको प्रभावमा यिनीहरूको स्पिनमा फेरबदल आउँछ, ↑↓ स्पिनमा बसिरहेका यिनीहरू दुवै ↑↑ वा ↓↓ मा स्पिन गर्न सक्छन्।
यिनीहरू कति समय एउटै दिशा र कति समय फरक दिशामा स्पिन गर्छन् भन्ने कुरा चरो उडिरहेको दिशाले निर्धारण गर्छ। यो प्रक्रिया एउटा मात्र अणुमा नभएर आँखामा हुने धेरै अणुहरूमा एकसाथ हुन्छ।
मानौं, एउटा चरो उत्तरतिर उडिरहेको छ, त्यो बेला ती इलेक्ट्रोनहरू एउटै दिशामा स्पिन गरिरहेका हुन सक्छन्। त्यो चरो पश्चिमतिर उडिरहेको छ भने फरक दिशामा स्पिन गरिरहेका हुन सक्छन्।
यी भिन्न स्पिनहरूले भिन्न प्रकारका केमिकल उत्पादन गर्छन्। चराको मस्तिष्कले त्यो रसायनको गुण र मात्रा थाहा पाउँछ र आफ्नो दिशातिर उड्छ।
यसरी चराको आँखामा भएको अणुको इलेक्ट्रोनले पृथ्वीको चुम्बकीय शक्तिसँग अन्तर्क्रिया गरेर एउटा रासायनिक कम्पास बनाउँछ।
हेनरिकको ल्याबबाट सन् २००५ मा प्रकाशित एउटा अनुसन्धान अनुसार बसाइँसराइका लागि उड्ने क्रममा चराको मस्तिष्कमा दृश्य प्रणाली सबभन्दा धेरै सक्रिय भएको हुन्छ।
आगामी दिनमा हुने विस्तृत अध्ययनले अवश्य पनि यसबारेमा प्रकाश पार्दै जानेछ।
चराको गतिविधि सम्बन्धी यस्ता कुरा जान्न पाउँदा म अचम्ममा पर्छु, रमाउँछु पनि। साँच्चै अदभूत छन् चराहरू!

(लेखक अनुज घिमिरेले नर्थ डाकोटा स्टेट युनिभर्सिटीबाट प्राणीशास्त्रमा विद्यावारिधि गरेका छन्।)
एक्सः @mrophiophagus
(अनुज घिमिरेका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुहोस्)