चिनियाँ फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा ख्याति दिलाउने श्रेय यहाँका पाँचौं पुस्ताका निर्देशकहरूलाई दिइन्छ। जापानसँगको युद्ध, दोस्रो विश्वयुद्ध र सांस्कृतिक क्रान्तिजस्ता घटनाले चीनको आधुनिक इतिहासमा ठूलो उथलपुथल ल्याएको छ।
सन् १९८० दशकको मध्यतिर सक्रिय पाचौं पुस्ताले यस्तै विषयमा फिल्म बनाएर इतिहास र समाजलाई हेर्ने प्रयास गरे। क्रान्ति र परिवर्तनको उज्याला-अँध्यारा पाटाहरूलाई आम मानिसको भोगाइको कसीमा राखेर हेर्ने प्रयास गरे।
बेइजिङ फिल्म एकेडेमीबाट १९८२ मा ग्राजुएट भएको यो पुस्ता यसअघिको समयका सर्जकभन्दा तुलनात्मक रूपमा स्वतन्त्र थिए। चीनको सांस्कृतिक क्रान्तिपछि राज्यकै पहलमा १९७८ मा बेइजिङ फिल्म एकेडेमी सक्रिय भयो। त्यहीँ पढेको यो पुस्ताले चिनियाँ फिल्मलाई विदेशी दर्शक, समीक्षक र बजारसम्म पुर्याउन स्तरीय फिल्महरु बनाए।
इतिहास, संस्कृति र साहित्यको जगमा कथा भन्ने यो पुस्ताका निर्देशकहरूले संगीत, सिनेमाटोग्राफी, रङ संयोजनदेखि फिल्म निर्माणका सैद्धान्तिक र प्राविधिक पक्षहरूमा पनि नयाँ प्रयोग गरे। उनीहरूको प्रयोगको चर्चा बर्लिन, कान र ओस्कारजस्ता ठूला महोत्सवसम्म पुग्यो। उनीहरूका काम पुरस्कृत हुन थाले।
पाचौं पुस्ताका निर्देशकमध्ये निरन्तरता र चर्चाका हिसाबले सबभन्दा अगाडि आउने नाम हो, झांग यिमो। चीनको फिल्मलाई पहिलो पटक ओस्कारमा पुर्याउने श्रेय उनलाई जान्छ। विदेशी भाषातर्फको उत्कृष्ट फिल्म विधामा उनका फिल्महरुले पटक-पटक ओस्कारका लागि प्रतिस्पर्धा गरेका छन्।
यही लोकप्रियताको बलमा उनले चीन र हलिउडको संयुक्त लगानीमा फिल्म बनाएका छन्। दुवै देशका कलाकारहरुलाई सँगै अभिनय गराएका छन्। चीनको कथा र कलालाई अन्तर्राष्ट्रिय बजारमा लैजान आज पनि उनी निरन्तर सक्रिय छन्। उनले २००८ मा बेइजिङमा सम्पन्न ओलम्पिकको उद्घाटन र समारोह सत्रको निर्देशनसमेत गरेका थिए।
यस पटकको सूचीमा बजार र समीक्षक दुवैको नजरमा सफल उनै झांग योमुका पाँच फिल्मबारे जानकारी दिइएको छ। यी फिल्महरु युट्युबमा हेर्न सकिन्छ।
द फ्लावर्स अफ वार (२०११)
हलिउड अभिनेता क्रिस्टियन बेलको पनि मुख्य भूमिका भएको 'द फ्लावर्स अफ वार' झांगको चर्चित फिल्म हो। युद्धका बेलाको एउटा चर्चित घटनालाई फिल्ममा उतारिएको छ। यो फिल्म पनि चिनियाँ अमेरिकन लेखक गेलिंग यानको किताबमा आधारित छ।
१९३७–३८ बीच चीनको नान्जिङ सहरमा जापानी सैनिकद्वारा भएको आक्रमणमा हजारौं सैनिक र सर्वसाधारण मारिएका थिए। तिनमा बलात्कृत हुने महिलाको संख्या पनि करिब २० हजारसम्म भएको दाबी गरिन्छ। किताबमा आधारित रहेर बनाइएको यो फिल्ममा त्यही युद्धको पीडा, बलात्कार र मृत्युको जोखिमलाई चित्रण गरिएको छ।
फिल्ममा देशी, विदेशी, नैतिक र धार्मिक हिसाबले फरकफरक पृष्ठभूमिका पात्र चर्चको छानोमुनि शरण लिन आइपुग्छन्। त्यहाँबाट उम्कने उपाय खोजिरहेकै बेला जापानी सैनिकहरूले चर्चभित्रका गतिविधिमा निगरानी गर्न थाल्छन्।
धर्म र मानवीयताको नाम लिँदासमेत सेनाले नियन्त्रण गर्न छोड्दैन। सेनाले आँखा लगाएका स्कुले युवतीलाई यही चर्चमा शरण लिइरहेका वेश्यावृत्ति गर्ने युवतीले जोगाउने जुक्ति निकाल्छन्।
युद्धका भयानक दृश्य र मानवीयतामाथि संकटको कठिन घडीमा पनि नान्जिङका वेश्यावृत्तिमा लागेका महिलाले गरेको उदाहरणीय त्यागलाई फिल्ममा मार्मिक रुपमा देखाइएको छ। एउटा क्याथोलिक चर्चमा थुनिएका १२ जना स्कुले किशोरीलाई जापानी सेनाको बलात्कार र हत्याबाट जोगाउन १२ जना वेश्यावृत्तिमा लागेका महिलासँगै एक किशोर पनि हुन्छन्।
उनीहरूले कस्तो निर्णय लिन्छन्? उनीहरूको कथामा त्यस्तो के थियो, जसलाई किताब वा फिल्मबाट पटक पटक भनिन महत्वपूर्ण ठानियो? थाहा पाउन हेर्नुस्, 'द फ्लावर्स अफ वार'।
हलिउड अभिनेतालाई मुख्य भूमिका दिने चक्करमा निर्देशक कथाको मूल मर्मबाट कतैकतै बहकिए पनि युद्धको त्रासदीका चित्रण र मानवीयताको खोजलाई भने फिल्मले मर्न दिएको छैन।
समाजले घृणा गर्ने वेश्यावृत्तिमा लागेका महिलाको योगदान चित्रण गरिएकाले पनि यो फिल्म विशेष छ।
टु लिभ (१९९४)
जीजिविषाबारे संसारभर धेरै उत्कृष्ट फिल्म बनेका छन्। तीमध्ये एउटा सशक्त र सुन्दर फिल्म हो, 'टु लिभ'। यसका मुख्य पात्र यति निर्दोष छन्, जस्तासुकै विपदमा पनि बिथोलिन्छन्, हतासिन्छन् तर जीवनदेखि हार मान्दैनन्।
जुवाडी फुगीले एकएक गर्दै जुवामा घरसमेत हार्छन्। यही घटना उसको बुबाको मृत्युको कारक बन्छ। उसकी श्रीमतीले पनि छोडेर जान्छिन्। सडकमा सामान बेच्न थालेपछि उनी आफूले घर सुम्पेको मान्छेसँग नगद सापटी माग्न जान्छन्। तर ती मान्छेले उनलाई पैसाको साटो 'स्याडो पपेट' दिँदै भन्छ, यो पैसाभन्दा अझ काम लाग्छ। आफ्नो लागि आफैं कमाऊ।’
फुगीले कहिल्यै जुवा नखेल्ने भन्दै श्रीमती र छोराछोरीसँग बस्न थालेपछि यही स्याडो पपेटद्वारा जीविका चलाउने हुन्छ। यी पात्रलाई केन्द्रमा राखिए पनि फिल्ममा तत्कालीन समयको राजनीतिक घटनाक्रम यी पात्रभन्दा बलियो भएर आइदिन्छ।
झांगका अरू फिल्मजस्तै यसमा पनि केही दशकसम्मको समय कैद छ। फिल्ममा चीनमा गृहयुद्ध भएको समयदेखि कम्युनिस्ट नेता माओको सांस्कृतिक क्रान्तिसम्मको चरणका सन्दर्भ आएका छन्।
फुगी, उनकी श्रीमती जियाझेन र उनका सन्तानले गृहयुद्धदेखि सांस्कृतिकसम्मको चरणमा पुग्दासम्म विभिन्न कुरा पाउँछन् र गुमाउँछन्। यो परिवारको कथा मार्फत निर्देशकले आफ्नै आँखाले देखेका राजनीतिक र सामाजिक परवर्तनका असर मनछुने गरी पर्दामा उतारेका छन्।
गतिशील समयको कथालाई फिल्ममा पनि जीवन्त रूपमा भन्न सक्नु निर्देशकको विशेषता हो। चाहे सयौं मान्छेको गतिविधि उतार्न परोस् वा एउटै पात्रको संवेदना देखाउन, निर्देशकले त्यसलाई मज्जाले उतार्न सकेका छन्।
रेज द रेड ल्यान्टर्न (१९९१)
आफ्ना फिल्ममा रङ संयोजनको कलात्मक जादू देखाउने निर्देशक झांगको यो फिल्मले तपाईंको आँखा लोभ्याउने निश्चित छ।
यो एउटा घरको कथा हो। एउटा यस्तो घर जुन पुर्खौंदेखि अनौठो रीतमा चल्दै आएको छ। दरबारिया ठाँटबाँटसहितको यो घर मालिकको चौथो श्रीमती (खरिद गरिएकी) बनेर १९ वर्षे युवती सोंग्लिया प्रवेश भएसँगै यहाँका अनौठा चालचलन र तौरतरिकाबारे जानकारी मिल्छ। यसमध्ये लालटिनसँग जोडिएको यहाँको अभ्यास सबभन्दा रोचक छ।
यहाँको घरमूलीले कुन श्रीमतीसँग रात बिताउनेवाला छन् भन्ने जानकारी यही लालटिनले दिन्छ। श्रीमानको गज्जबको सौख के भने, उनी जहाँ रात बिताउँछन् त्यहाँ अनिवार्य रुपमा रातो लालटिन बाल्नुपर्ने हुन्छ। यसबारे सबैलाई भेला गराएरै जानकारी दिने चलन हुन्छ। जुन श्रीमतीको क्वार्टरमा लालटिन बल्यो, उनै अरूको नजरमा सुखी र शक्तिशाली हुन्छिन्।
यहाँ हरेक श्रीमतीका लागि भौतिक सुविधा बराबर भए पनि मानसिक रूपमा सबभन्दा सुखी वा दुःखी को छ भन्ने कुरा लालटिनमा निर्भर छ। अर्को महत्वपूर्ण कुरा, सुखी वा दुःखी जे भए पनि यहाँका मानिस चुप छन्। यहाँका नियम तोड्ने दुस्साहस कोही गर्दैनन्।
बुबा बित्नुअघिसम्म विश्वविद्यालयमा पढ्ने सपना बोकेकी सोंग्लिया शिक्षित छिन्। राम्रो वा नराम्रो छुट्याउने र त्यसबारे प्रश्न गर्ने उनको स्वभाव छ। तर यो नयाँ घरको नियमले उनलाई पनि नबोल भन्छ।
फिल्मको केन्द्रमा सोंग्लिया छन्। उनीसँगै यसमा भएका अन्य तीन श्रीमती मार्फत् महिलाका भावना र भोगाइ सूक्ष्म चित्रण गरिएको छ। अवोधपन, निराशा, आक्रोश, जिज्ञासा र जलनका किस्साले भरिएको यो फिल्मले चीनका महिलामाथिको वैधानिक शोषण देखाउँदै केही प्रश्न पनि जन्माउँछ।
मुख्य पात्र आफ्नो निर्दोषपन र कुण्ठालाई हाउभाउमा अभिव्यक्त गर्न सफल छिन्। यो फिल्म सु तोंगको उपन्यास 'वाइभ्स एन्ड कन्कुबाइन्स'मा आधारित छ।
जु डोउ (१९९०)
फिल्मको केन्द्रमा जु डोउ, तिउचिंग र उनका काका यांग जिन्सांग छन्। यांग जिन्सांग कपडा रंगाउने कारखानाका मालिक हुन्। तिउचिंग काममा गएकै बेला काकाले तेस्रो पत्नी जु डोउलाई किनेर ल्याएका हुन्छन्। आफ्नो उमेरभन्दा निकै सानी श्रीमतीमाथि काकाले दिने यातना तिउचिंगबाट लुक्दैन। तर उनी आफ्नो काका विरुद्ध चूँसम्म गर्न सक्दैनन्।
बिहे गर्ने उमेर ढल्किन लागिसकेको तिउचिंगसँग आफैं श्रीमती किन्ने ल्याकत छैन। बरु, उनी काकीले नुहाउने बेला लुकीलुकी चिहाउँछन्। जु डोउलाई तिउचिंगको यो व्यवहार मन पर्दैन। तर पनि आफ्ना क्रुर श्रीमानभन्दा उनलाई तिउचिंग नै ठीक लाग्छ। विस्तारै यी दुई पात्र प्रेममा पर्छन्।
जो डोउले तिउचिंगको बच्चालाई जन्म दिन्छिन्। उनका श्रीमान यांग र समाजको नजरमा त्यो यांगकै बच्चा हुन्छ। बच्चाको जन्मसँगै हरेक पात्रको एक अर्कासँगको सम्बन्ध के भन्ने प्रश्न तिक्खर बन्दै आउँछ।
छोरा जन्मेकोमा गर्व गर्ने यांग पहिल्यै क्रुर मान्छे हुन्। श्रीमती र भतिजको प्रेम सम्बन्धबारे थाहा पाएपछिको उनको प्रतिक्रिया कस्तो होला? प्रेम सम्बन्धबाट जन्मिएको सन्तानलाई जन्म दिँदा हर्षले फुलेकी जो डोउ श्रीमान, छोरा र समाजका नैतिक प्रश्नको सामना कसरी गर्लिन्? तिउचिंगले यो जटिलताबाट आफू र जो डोउलाई निकाल्न सक्लान्?
निर्देशकले यी पात्रबीचको सम्बन्धको जटिलता फिल्ममा नाटकीय तर रोचक शैलीमा देखाएका छन्। यो फिल्म लिउ हेंगको चर्चित उपन्यास 'फू सी, फू सी' आधारित छ।
चाहना, आकांक्षा र प्रतिशोध मिसिएको यो फिल्मले महिलाको अस्तित्व र नियतिको विडम्बनाको कथा एकै पटक भनेको छ। फिल्मको कथा जति रोचक छ, अभिनय त्यति नै सशक्त छ। रेड सरगममा वाइन कारखानाजस्तै यसमा निर्देशकले कपडा रंगाउने कारखानाको गतिविधिलाई कुशलतापूर्वक देखाएका छन्।
ओस्करमा मनोनित यो फिल्म झांगले यांग लिंगसँगको सहनिर्देशनमा बनाएका हुन्। फिल्मले कान फिल्म महोत्सवमा लुई बुनुएल पुरस्कार जितेको थियो।
रेड सरगम (१९८८)
निर्देशकका रुपमा झांग यिमोको यो पहिलो फिल्म हो। यसअघि उनी सिनेमाटोग्राफरका रूपमा सक्रिय थिए। येल्लो अर्थका सिनेमाटोग्राफरका रूपमा उनको निकै प्रशंसा भएको थियो।
'रेड सरगम'ले जर्मनीको बर्लिन अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट फिल्म बन्दै गोल्डेन बियर अवार्ड जितेपछि उनको ख्याति झनै चुलियो।
कथा १९२० दशकबाट सुरू हुन्छ। दर्शकलाई यो कथा अदृश्य वाचकका रुपमा नातिले सुनाउँछन्। उनकी हजुरआमा र हजुरबुबाको कथा।
उनकी हजुरआमाको उनीभन्दा उमेरले निकै जेठा तर धनी पुरुषसँग बिहे हुन लागेको छ। आफ्नै भाइनयार्ड (वाइन उत्पादन गर्ने कारखाना) भएका ती पुरुष कुष्ठरोगी हुन्छन्।
विवाहलगत्तै श्रीमान मारिन्छन्। श्रीमती वाइन उत्पादन गर्ने कारखानाकी मालिक बन्छिन्। उनलाई श्रीमानसँग ल्याउने बेलामा बोक्ने व्यक्तिमध्येका एक जनाले उनलाई मन पराएका हुन्छन्। श्रीमान मरेपछि ती युवाले उनलाई पाउन अनेक जुक्ति लगाउँछन्। यस क्रममा उनले गर्ने क्रियाकलापलाई फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको छ।
फिल्मको एक घन्टा यिनै पात्रको सम्बन्ध र कारखाना सञ्चालनको गतिविधि वरिपरि घुमेको छ। उट्पट्यांग र रमाइला घटनाक्रमले यतिन्जेलसम्म रमाइलो बनाइरहेको फिल्म एकाएक गाउँमा जापानी सैनिकको प्रवेशसँगै गम्भीर घटनातिर मोडिन्छ।
कथा दोस्रो विश्वयुद्धको समयनेर पुग्छ जहाँ सैनिक दमन र विद्रोहका कुरा जोडिन थाल्छ। यसले वाइन कारखाना सञ्चालन गरेकी युवती, उनको परिवार र कारखानाका सहयोगी कामदारको रमाइलो जीवनमा कस्तो असर पार्ला? यो थाहा पाउन फिल्म हेर्नुहोला।
'रेड सरगम' यही नाममा मो यानद्वारा लिखित चर्चित उपन्यासमा आधारित फिल्म हो। फिल्मको कथा 'रेड सरगम' दृश्य–लोककथाजस्तै लाग्छ। निर्देशक झांगले फिल्ममा कारखाना सञ्चालन र श्रमिकहरुले नाच्दै गाउँदै वाइन बनाएका दृश्यहरुलाई सुन्दर र जीवन्त रुपमा उतारेका छन्। सरगमका लहलहाउँदा बाला झुलेका दृश्यले आँखा लोभ्याउँछ।
यी पनि हेर्नुस्ः
युट्युबमा हेर्न मिल्ने राम्रा १२ नेपाली फिल्म
युट्युबमा हेर्न सकिने ७ हिन्दी कमेडी फिल्म
युट्युबमा हेर्न पाइने पुराना हिट नेपाली फिल्महरू
युट्युबमा हेर्न लायक १० हिन्दी फिल्म
५ दक्षिण अमेरिकी फिल्म, अंग्रेजी सब-टाइटलसहित युट्युबमा
५ राम्रा कोरियन फिल्म, युट्युबमा अंग्रेजी सबटाइटलसहित
अंग्रेजी सब-टाइटलसहित युट्युबमा हेर्न पाइने ५ इरानी फिल्म
अमिताभ बच्चनका ७० दशकका ५ सुपरहिट फिल्म, युट्युबमा
छोटो समयमै स्मिता पाटिलले खेलेका ५ यादगार फिल्म, युट्युबमा