सरकारले कर्मचारीहरूका लागि ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्ने भएको छ।
अर्थमन्त्री युवराज खतिवडाले नयाँ भर्ना हुने कर्मचारीका लागि सरकारले ‘योगदानमा आधारित निवृत्तभरण कोष’को छुट्टै व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन्।
मंगलबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको बैठकमा बोल्दै उनले वित्तीय प्रणालीलाई व्यवस्थित बनाउन र मुलुकमा अनावश्यक वित्तीय भार हुन नदिन पनि सरकारले नयाँ कर्मचारीहरूका लागि पेन्सन बराबरको आर्थिक सहायता उपलब्ध गराउन सो कोषको व्यवस्था गर्न लागिएको पनि स्पष्ट पारे।
अर्थमन्त्री खतिवडाले सो कोषको व्यवस्था गर्न सरकारले संघीय संसदमा ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेश गर्नु परेको पनि स्पष्ट पारे।
अर्थ समितिको मंगलबारको बैठकमा सोही विधेयकमाथिको छलफल सुरू भएको छ।
अर्थमन्त्री खतिवडाले सो विधेयकमा सेवा निवृत्त भएका कर्मचारीहरूले आर्थिक सहायता पाउने सुनिश्चितता गरेको दाबी समेत गरे।
अर्थमन्त्री अतिवडाले सामाजिक सुरक्षा प्रणालीलाई दिगो, भरपर्दो र चिरस्थायी बनाउन पनि सो कोषको आवश्यक्ता पर्न गएको पनि बताए।
बैठकमा समितिका सदस्य प्रेम सुवालले गरिब पृष्ठभूमिबाट आएका कर्मचारीलाई अरु कर्मचारीको भन्दाबढी निवृतभरणको व्यवस्था गर्न सरकारसँग माग गरे।
उनले सरकारले मजदूर र किसानलाई पनि निवृत्तभरण दिने गरी कानुनी व्यवस्था गर्न नसकेकोमा असन्तुष्टि पनि व्यक्त गरे।
समितिका सदस्यहरूले कर्मचारीहरूको सेवा र सुविधाको उचित व्यवस्था गर्न नसकेको भन्दै सरकारको आलोचना पनि गरेका थिए।