संसदमा पेस भएको मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ लाई संशोधन गर्न बनेको विधेयकमाथि थप सुधार गर्नुपर्ने कुरा उठेको छ।
आइतबार आयोजित एक अन्तर्क्रिया कार्यक्रममा सरोकारवालाहरूले संशोधित विधेयक पनि अपूर्ण रहेकोले थप सुधार गर्नुपर्नेमा जोड दिएका हुन्।
संसदमा प्रस्तुत विधेयकमा कतिपय समेट्न आवश्यक कुराहरू छुटेको मानव बेचबिखन अनुसन्धान ब्युरोका डिएसपी ज्ञानबहादुर विष्टले बताए।
उनले विधेयकमा पनि मानव तस्करी कसुर गर्नेलाई सजाय के कति भन्ने स्पष्ट नभएको बताए।
त्यस्तै मानव बेचबिखन तथा ओसारपसारका घटनाको अनुसन्धान अवधिमा पनि ध्यान नदिइएको उनको भनाइ छ।
'अनुसन्धान अवधि २५ दिन छ। यो अवधि छोटो भयो। २५ दिनमा कसरी अनुसन्धान गर्न सकिन्छ?,' उनले प्रश्न गरे।
यस्तो संवेदनशील विषयमा उच्च तहका जिम्मेवार व्यक्ति चिन्तित नहुँदा प्रस्तावित विधेयक पूर्ण हुन नसकेको उनको भनाइ छ।
महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकी उपसचिव मीना पौडेलले पनि संशोधित विधेयकले धेरै कुरा समेटेको भए पनि अझैं पूर्ण नभएको बताइन्।
विधेयकमा अझै कतिपय कुराहरू स्पष्ट हुन नसकेको उनको भनाइ छ।
त्यसैगरी, प्रभावितहरूको पुनर्स्थापनाका लागि स्थापना भएको कोषमा रकम अभाव रहेको समेत उनले बताइन्।
दातृ निकायहरूबाट रकम नआएको र राज्षकोषबाटै खर्च गर्नु परिरहेको तर त्यसका लागि पर्याप्त बजेट नभएको उनको भनाइ छ।
मानव बेचबिखनको परिभाषा पनि संकुचित रहेको उनले बताए।
पार्लेमो पोर्टोकलमा भएको श्रम शोषण र यौन शोषणलाई वर्तमान विधेयकले नसमेटेको उनले उल्लेख गरे।
मानव तस्करीको अस्पष्ट, अधुरो व्यवस्था, छुट्टै मानव तस्करी नियन्त्रण गर्ने कानुनको अभाव, अप्रयास क्षतिपूर्ति, विदेशमा बारदातमा प्रमाण संकलनमा कठिनाइ रहेको उनको भनाइ छ।
डिएसपी विष्टले पीडितहरूको उद्दार तथा पक्राउ गरी स्वदेश फिर्ता ल्याउने प्रभावकारी संयन्त्रको अभाव तथा मानव बेचबिखनमा संलग्न विदेशी नागरिकको पहिचान नखुल्ने हुँदा उनीहरूलाई कानुनी दायरामा ल्याउन कठिनाइ भइरहेको समेत बताए।
अहिलेसम्म भएका घटनाको तथ्यांक प्रस्तुत गर्दै भिजिट भिसाको चरम दुरूपयोगले, विदेशमा महिला शोषणको शिकार हुने गरेको समेत औंल्याए।
अधिवक्ता सविन श्रेष्ठले विधेयकमा धेरै राम्रा कुरा समेटिए पनि अझै अपुग भएको उल्लेख गरे।
उनले पार्लेमो प्रोटकलअनुसार विधेयक नभएको बताए। यसलाई संसदीय समितिले छुटेका विषयहरु समेटेर पूर्ण बनाउने समय रहेकाले यसमा ध्यान दिन आग्रह गरे।