तेन्जिङ राई र स्वस्तिका चौधरीले ‘वोङ्छु पिक एण्ड मुसा मसला नेसनल स्पोर्ट्स क्लाइम्बिङ च्याम्पियनसिप २०२५’ को उपाधि जितेका छन् ।
नेपाल क्लाइम्बिङ स्पोर्ट्स एसोसिएन (एनसीएसए)को आयोजनमा शनिवार सम्पन्न भएको प्रतियोगितामा तेन्जिङ पुरुषतर्फ र स्वस्तिका महिलातर्फ च्याम्पियन बने ।
पुरुषतर्फ च्याम्पियन तेन्जिङ राईले समग्रमा १८०५ अंक जोडे । बोल्डरमा १ हजार अंक स्कोर गरेका तेन्जिङले लिडमा ८०५ अंक मात्र जोडेपनि समग्रमा धेरै अंक जोडेर च्याम्पियन बने ।
यस्तै पेम्बा छेवाङ शेर्पा राई १६९० अंक स्कोर गर्दै दोस्रो भए । पेम्बाले बोल्डरमा ६९० अंक मात्र जोडेका थिए । तर लिडमा १ हजार अंक जोडेपछि उनले समग्रमा दोस्रो धेरै अंक जोडेर दोस्रो बनेका हुन् ।
नक उप्रेती तेस्रो भए । बोल्डरमा ८०५ अंक स्कोर गरेका रोनकले लिडमा ६९० अंक स्कोर गर्दै समग्रमा १४९५ अंक स्कोर गरेर तेस्रो भए।
पुरुषतर्फ कूल १३ खेलाडी सहभागि भएका थिए । जसमा क्वालिफिकेसन राउण्डबाट अन्तिसम चरणमा ८ खेलाडी छनोट भएका थिए ।
यसैगरी महिलातर्फ भने स्वस्तिकाले दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै अन्य प्रतिस्पर्धीमाथि हावी बनेकी थिइन् ।
स्वस्तिकाले लिड र बोल्डर दुवैमा एक हजार अंक स्कोर गर्दै समग्रमा २ हजार स्कोर गर्दै च्याम्पियन बनेकी हुन् ।
यस्तै रुशा प्रधान दोस्रो र मनिषा बुढा मगर तेस्रो भए । रुशाले लिड र बोल्डरिङ दुवैमा समा ८०५ अंक स्कोर गर्दै समग्रमा १६१० अंक स्कोर गरिन् । यस्तै मनिषाले दुवै विधा समान ६९० स्कोर गर्दै १३८० अंक जोडिनन् ।
महिलातर्फ शीर्ष तीनसँगै तेन्जिङ खान्डो तामाङ, पञ्चमाया तामाङ र सन्तोषी मगर गरी ६ खेलाडीले मात्र सहभागि जनाएका थिए ।
महिला र पुरुषको च्याम्पियन दुवैले नगद ५० हजार सहित मेडल र प्रमाण पत्र प्राप्त गरे ।
यस्तै दोस्रो भएका खेलाडीले नगद ३० हजार र तेस्रो भएका खेलाडीले २० हजार प्राप्त गरे ।
६ वर्षपछि पहिलो पटक क्लाइम्बिङ स्पोर्टको नेसनल च्याम्पियनसिप आयोजना भएको हो । यसअघि पछिल्लो पटक सन् २०१९ मा च्याम्पियनसिप भएको थियो । त्यसपछि कोरोना महामारी र अन्य कारणले गर्दा लामो समय च्याम्पियनसिप हुन सकेको थियो ।
अहिले संघमा नयाँ टिम आएपछि पहिलो पटक च्याम्पियनसिप आयोजना भएको हो । नेपाल क्लाइम्बिङ स्पोर्ट एसोसिएसनका कार्यवाहक अध्यक्ष रमेश पौडेलले लामो समयपछि च्याम्पियनसिप आयोजना गर्न सफल भएको र यो सुरुवात भएको बताए ।
‘हाम्रो टिम र स्पोनसरको साथ र सहयोगले पहिलो पटक च्याम्पियनसिप सम्पन्न गरेका छौँ । यो सुरुवात मात्र हो । हाम्रो लक्ष्य भनेको नेपाली क्लाइम्बिङ स्पोर्टका खेलाडीहरुलाई ओलम्पिकसम्म पुर्याउने हो ।’ पौडेलले भने ।
नेपालमा क्लाइम्बिङ स्पोर्टको ठूलो सम्भावना रहेको र नेसनल च्याम्पियनसिप आयोजना भएपछि अब अन्य खेलाडीहरुका लागि समेत अवसर हुने उनले बताए ।
यस्तै अब हरेक वर्ष नेसनल च्याम्पियनसिप गर्ने र नयाँ खेलाडीहरु समेत यसमा आकर्षित हुने र पर्यटन पर्बर्धन र साहसिक खेलकुदमा समेत यसले टेवा पुर्याउने पौडेलले दावी गरे ।
यस्तै प्रदेश खेलकुद विकास परिषद बागमतीका सदस्य सचिव दिपक लामाले क्लाइम्बिङ स्पोर्टमा सहयवग गर्न बागमती प्रदेश तयार रहेको र यसको सम्भावना धेरै रहेको बताए ।