नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा खेलकुदको सम्भावना प्रचुर रहेको भन्दै पार्टीले बनाउने खेलकुद नीतिमा आफ्नो पूर्ण समर्थन रहने जानकारी दिएका छन्।
बल्खुस्थित पार्टी कार्यालयमा आयोजित विचार गोष्ठी कार्यक्रममा उहाँले नागरिकहरूको शारीरिक तथा वौद्धिक क्षमता विकासमा खेलकुदको ठूलो महत्व रहेको बताए।
नेपाली कांग्रेस खेलकुद विभागले बिहीबार आयोजना गरेको ‘खेलकुद नीति कार्यक्रम तथा विचार गोष्ठी’ मा खेल विज्ञ डा. प्रकाश प्रधानले कार्यपत्र पेश गरे।
खेलकुद विभाग प्रमुख उमेशजंग रायमाझीले वृहत छलफलपछि कांग्रेसले आफ्नो खेल नीति बनाउने र सरकारलाई कार्यान्वयनका लागि दबाब दिने बताए।
अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपाललाई पहिलो पदक दिलाएका विभाग उपप्रमुख तथा सभासद् मोहन राईले छिट्टै नै खेल नीति बनाउने बताए।
उनले खेलकुदको संवाहक नेपाली कांग्रेस मात्र बन्नसक्ने भन्दै विगतको अनुभवलाई समेटेर भविस्यको योजना बनाउँदा सही नीति बन्ने स्पष्ट पारे। भने– राष्ट्रिय खेलकुद परिषद्को स्थापना नेपाली कांग्रेसकै कार्यकालमा २०१६ सालमा भएको थियो। र, पहिलो जननिर्वाचित विपी कोइरालाको सरकारले इजरायलसँग दौत्य सम्बन्ध स्थापना गरेपछि दुई जना खेलाडीले पहिलो पल्ट फिजिकल एजुकेशनको अध्ययन गर्न पाउनु भएको थियो। त्यसैले खेलकुद विकासमा कांग्रेसको अहम भूमिका छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले पनि नेपाली कांग्रेसको खेलकुद विभागले बनाउने खेल नीतिले नेपाली खेलकुदको विकासमा अहम् भूमिका निर्वाह गर्ने बताए। उनले खेल विकासमा सरकारले उपलब्ध गराउने बजेट अपर्याप्त भएको भन्दै यसमा सबैले पहल गर्नुपर्ने औल्याए।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङ, केन्द्रिय सदस्य डिना उपाध्यायलगायत थुप्रै वक्ताहरूले पनि आफ्नो मन्तब्य राखे।खेल विज्ञ डा. प्रधानले वैज्ञानिक किसिमले खेलकुदको विकास गर्न खेल नीतिको आवश्यकता रहेको बताउँदै भने, ‘ठूलो पार्टी र ऐतिहासिक पार्टी हुनुको नाताले कांग्रेसको खेलकुद विभागले बनाउन लागेको खेल नीतिले दूरगामी असर पारोस् ।’
उनले अहिले घर–घरमा अटिजमको समस्या बढेको भन्दै स्वास्थ्य चुनौतीलाई चिर्न पनि ठोस् खेल नीति आवश्यक भएको बताए।