‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गरेर बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताबारे जानकारी गराएको हो ।
प्रतियोगिता यही चैत २३ (अप्रिल ५)मा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा आयोजना गरिनेछ ।
एनसेल बाह्रखरी गल्फको आठौँ संस्करणका रूपमा रहेको यस प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्नेछ ।
प्रतियोगितामा भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।
यसैगरी, प्रतियोगितामा काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
बाह्रखरी मिडियाले कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पुर्याउने उद्देश्यले वार्षिकरूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टको ‘कोर्ट यार्ड’मा सम्पन्न हुँदै छ । यस वर्ष ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुनेछन् ।
गल्फ प्रतियोगितालगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।