तेस्रो एशियाली खेलकुदको सफलताले विश्वको ध्यान जापानतर्फ आकृष्ट भइरहेका वेला १२ जेठ २०१६ साल (२६ मे १९५९) मा पश्चिमी जर्मनीको म्युनिख शहरमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) को ५५ औं सभा बस्यो। बैठकले टोकियो शहरलाई नै १८ औं ग्रीष्मकालीन ओलम्पिक आयोजना गर्न दिने निर्णय गर्यो।
आईओसीको यो निर्णय जापानका लागि मात्र होइन, नेपाललगायत एशियाका अन्य गरिब राष्ट्रका लागि पनि ऐतिहासिक बन्ने पक्का थियो। किनभने ओलम्पिक पहिलोपल्ट एशियामा आयोजना हुँदै थियो। फेरि नेपाल जस्ता गरिब राष्ट्रले खेलकुदको कमजोर आर्थिक अवस्थाका कारण युरोप जस्तो महँगो ठाउँमा भाग लिन सकिरहेका थिएनन्।
जापान आफू पनि पहिलो ओलम्पिक आयोजना गर्न लागेका कारण उत्साही थियो। उसको चाहना थियो, अन्य मुलुक जस्तै नेपालले पनि टोकियोमा भाग लिओस् तर जापानले ओलम्पिक प्रतियोगिता आयोजनाको जिम्मेवारी पाउँदा नेपालले आईओसीको मान्यता पाउनु त टाढाको कुरा नेपालमा ओलम्पिक कमिटी गठन पनि भएको थिएन।
हालको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नाम त्यसताका ‘राष्ट्रिय स्वास्थ्य तथा खेलकुद परिषद्’ थियो। पहिले स्वास्थ्यलाई पनि खेलकुदमा गाभिएको थियो। जापानमा सम्पन्न ओलम्पिक प्रतियोगिता खेलेर फर्किएपछि यसको नाम संशोधन गर्दै खेलकुदबाट स्वास्थ्यलाई छुट्याइएको हो।
नेपाललाई ओलम्पिक खेल्ने निम्तो आउँदा होराप्रसादलाई हटाएर सुशील शमशेरलाई सदस्यसचिव नियुक्त गरिएको थियो। सुशील शमशेर राजा महेन्द्रका प्रिय साला थिए। उनी पहिलेदेखि ब्याडमिन्टन खेलमा सक्रिय थिए। अझ भन्नुपर्दा राष्ट्रिय खेलकुद परिषद्को कार्यालय नहुँदा पहिले खेलकुदको सम्पूर्ण काम यिनकै घर बागदरबारबाट सञ्चालन हुन्थ्यो।
सुशीललाई राखेपका सदस्यसचिव नियुक्त गर्दा राजा महेन्द्रले पञ्चायती व्यवस्था लागू गरिसकेका थिए। राजा महेन्द्र आफू पनि ब्याडमिन्टनका सौखिन खेलाडी थिए। त्यसैले उनी पहिलेदेखि खेलकुदप्रति सकारात्मक दृष्टिकोण राख्थे। यसमा पनि उनले २०१६ सालमा जापानको भ्रमण गरिसकेका थिए। त्यसैले जापानबाट आएको अनौपचारिक प्रस्ताव ‘नाइँ’ भन्ने अवस्था थिएन। पहिलो छलफलमै स्वीकृत गरे।
२४ पुस २०१८ मा नेपालको राष्ट्रिय खेल पत्ता लगाउन र नेपाली खेलकुदको विकास गर्न तत्कालीन श्री ५ को सरकार राष्ट्रिय निर्देशन मन्त्रालयले खेलकुद परिषद्का उपाध्यक्ष साहेबज्यू हरिविक्रमको अध्यक्षतामा एउटा खेलकुद समिति गठन गर्यो।
जसलाई नेपालको राष्ट्रिय खेलहरू पत्ता लगाउन र नेपाली खेलकुदको विकासका लागि कस्तो उपाय अविलम्बन गर्ने भन्ने कार्यभार सुम्पिएको थियो। विभिन्न जिल्लामा खेलिने खेल पत्ता लागेपछि यस खेलका निपुण खेलाडीलाई टोकियो ओलम्पिकमा सहभागी गराउने विचार सरकारले राखेको थियो।
राजाबाट स्वीकृत भएपछि पहिलो सहभागितालाई मूर्त रूप दिने अभियानमा जुटेको नेपालका अगाडि चुनौतीको चाङ थियो। पहिलो चुनौती– नेपालले त्यति वेलासम्म आईओसी (अन्तरराष्ट्रिय ओलम्पिक कमिटी) को सदस्यता लिएको थिएन। अर्थात् नेपाल आईओसीको सदस्य राष्ट्र भइसकेको थिएन। आईओसीको सदस्यता नलिने देशले ओलम्पिक खेल्न पाउँदैनन्। यसका लागि सर्वप्रथम नेपाल ओलम्पिक कमिटी (एनओसी) गठन गर्नुपर्ने बाध्यता आइप¥यो। एनओसी गठन गर्न पनि ओलम्पिकसँग आबद्ध ३ खेल संघहरू अनिवार्य आवश्यक पर्ने अन्तरराष्ट्रिय नियम थियो।
नेपालमा त्यतिवेला एथ्लेटिक्स, टेबल टेनिस, ब्याडमिन्टन, फुटबल, क्रिकेट र लन टेनिस खुब खेलिन्थ्यो। यी खेलमध्ये एथ्लेटिक्स र फुटबल मात्र ओलम्पिकसँग आबद्ध खेल थिए। टेबल टेनिस, ब्याडमिन्टन, क्रिकेट र लन टेनिस आईओसीसँग आबद्ध नभएका खेलमा पर्थे।
सुरुमा लन टेनिस ओलम्पिकमा आबद्ध थियो। ‘अमेच्योर’ र ‘प्रोफेशनल’ खेलाडीलाई लिएर अन्तरराष्ट्रिय लन टेनिस महासंघ र आईओसीबीच विवाद बढ्न थालेपछि नेदरल्याण्ड्सको आम्स्टर्डममा भएको नवौंदेखि २०४५ सालमा सोलमा २४ औं ग्रीष्मकालीन ओलम्पिक आयोजना नहुँदासम्म प्रतिबन्ध लगाइएको थियो। क्रिकेट १९५७ सालमा भएको पेरिस ओलम्पिकमा सहभागी थियो तर भाग लिने देशको अभावमा अर्को ओलम्पिकदेखि हटाउने निर्णय भयो।
टेबल टेनिसले २०४५ सालदेखि ओलम्पिक खेलको रूपमा आबद्धता पाएको हो। ब्याडमिन्टनले पनि २०४९ सालमा स्पेनको बार्सिलोनामा आयोजना भएको २५ औं ग्रीष्मकालीन ओलम्पिकदेखि स्थान पाएको हो।
यही सेरोफेरोका बीच राखेप पदाधिकारीलाई सुरुमा नेपाल ओलम्पिक कमिटी (एनओसी) गठन गर्न हम्मेहम्मे प¥यो। तर, ओलम्पिकमा नेपाली बक्सरलाई पनि पठाउने कुरामा छलफल चल्न थालेपछि मृगेन्द्र शमशेर राणाको अध्यक्षतामा तेस्रो ओलम्पिक खेल संघको रूपमा नेपाल बक्सिङ संघ गठन भयो।
नेपाल ओलम्पिक कमिटीको पहिलो अध्यक्ष कसलाई बनाउने भन्ने विषयमा पनि गहन छलफल भएको थियो।
२०१७ सालमा राजा महेन्द्रले शासन व्यवस्था आफ्नो हातमा लिएपछि शिक्षामन्त्रीको अध्यक्षतामा बन्ने राखेप बोर्डको नियमलाई भंग गरियो र अधिराजकुमारलाई बोर्डको अध्यक्ष बनाउने नियम लागू गरियो। नयाँ नियमअन्तर्गत राखेप बोर्डमा अधिराजकुमार वसुन्धरा वीरविक्रम शाह अध्यक्ष मनोनीत भए।
राजा महेन्द्रका कान्छो भाइ भएका कारण उनलाई एनओसीको पनि अध्यक्ष बनाउँदा काम गर्न सहज हुने निष्कर्र्ष निकाल्दै राखेपले टोकियो ओलम्पिक सुरु हुनुभन्दाअघि एउटा तदर्थ समिति गठन ग¥यो। जसको अध्यक्ष उनै वसुन्धरालाई बनाइयो।
एनओसी गठन गर्दा ५ खेल संघ आबद्ध भए। जसमा फुटबल, बक्सिङ र एथ्लेटिक्सलाई ओलम्पिक खेल र ब्याडमिन्टन तथा टेबल टेनिसलाई गैरओलम्पिक खेलको रूपमा समावेश गरियो। एनओसीको तदर्थ समितिको महासचिवमा मोहनराज जोशी नियुक्त भए। उनी पहिलेदेखि राखेपमा कार्यालय प्रमुखको जिम्मेवारीमा काम गरिरहेका थिए। जोशीको काम गर्ने शैलीसँग सुशील पहिलेदेखि जानकार थिए। राखेप र एनओसीसँग समन्वय गर्न सजिलो हुने कारण पनि उनलाई महासचिव पदमा मनोनीत गरिएको थियो। उपाध्यक्षमा नर शमशेर र साहेबज्यू हरिविक्रम शाह नियुक्त भए।
आईओसीले नेपाल ओलम्पिक कमिटीलाई २१ कार्तिक २०२० सालमा मान्यता दियो। त्यतिवेला नेपालसँगै आईओसीको मान्यता पाउने अन्य ६ राष्ट्रमा जोर्डन, सेनेगल, क्यामरुन, माली, उत्तरी रोडेशिया (हाल जाम्बिया) र आइभोरी कोस्ट थिए। टोकियो ओलम्पिकमा उत्तरी रोडेशियाले भाग लिँदा यही नामबाट खेलाडी दर्ता गरेको थियो। प्रतियोगिता सम्पन्न हुँदा बेलायतबाट स्वतन्त्र हुँदै ऊ जाम्बियाको नाम लिएर फर्किएको थियो।
जापानले ओलम्पिक सुरु हुनुभन्दा ८ महिनाअघि नेपालसहित ११२ राष्ट्रलाई आधिकारिक निम्तो पठाएकोमध्ये ९३ राष्ट्रले टोकियो ओलम्पिकमा भाग लिए। यो संख्या त्यति वेलाको ओलम्पिक इतिहासमा सबैभन्दा बढी मानिन्छ। यसअघि २०१७ सालमा सम्पन्न रोम ओलम्पिकमा सर्वाधिक ८४ राष्ट्रले भाग लिएका थिए। सबैभन्दा रोचक कुरा एशियाली देशमा पहिलोपल्ट आयोजना भएको ओलम्पिकमा १९ अफ्रिकी राष्ट्रले भाग लिए। जसमा नेपालसहित १५ राष्ट्र (अल्जेरिया, क्यामरुन, चाद, कंगो, आइभोरी कोस्ट, डोमिनिकन गणराज्य, मडागास्कर, मलेशिया, माली, मंगोलिया, नाइजर, उत्तरी रोडेशिया, सेनेगल, तान्जानिया) पहिलोपल्ट ओलम्पिक खेलमा सहभागी हुँदै थिए।
जापान ओलम्पिक कमिटीबाट आएको प्रस्तावलाई राखेप नेतृत्वले तत्कालै स्वीकार गर्यो र सुरुमा म्याराथन खेलमा मात्र खेलाडी पठाउने निर्णय गर्यो। टोकियो ओलम्पिकअघि नेपालले दुईवटा एशियाली खेलकुद (पहिलो र तेस्रो) मा भाग लिँदा म्याराथन धावकलाई मात्र सहभागी गराएको थियो। यही परम्परालाई कायम राख्दै राखेपले पहिलो ओलम्पिकमा पनि म्याराथन धावकलाई मात्र पठाउने सोच बनाएको थियो। यसका लागि प्रजातन्त्र दिवसको मौका पारेर ७ फागुन २०२० मा आयोजना हुन लागेको दौड प्रतियोगितालाई छनोटको आधार बनाइयो। यो प्रतियोगितामा सर्वोत्कृष्ट छानिएका ४ खेलाडीलाई बन्द प्रशिक्षणमा राख्ने र उनीहरूलाई भारतको मुम्बईमा आयोजना हुने ‘बम्बे दौड’ मा सहभागी गराउने निर्णय राखेपको थियो। राखेप बोर्ड बैठकले खेलाडीको तालिमका लागि १५ हजार रुपैयाँ छुट्याउने र नेपाल अमेच्योर एथ्लेटिक्स संघले खेलाडीका लागि तालिमको उचित व्यवस्था गर्ने निर्णय पनि गरेको थियो।
तर आर्थिक तथा विभिन्न कारणले राखेपले ‘बम्बे दौड’ मा नेपाली खेलाडीलाई समावेश गराउन सकेन। राखेपले ओलम्पिकमा भाग लिन जाने ४ धावकलाई काठमाडौंमा ६ महिनादेखि बन्द प्रशिक्षण दिएको थियो। यी खेलाडी नेपाली सेनाका गण गोरखबहादुर र कालीबहादुरबाट छनोट भएर आएका थिए। गोरखबहादुर गणबाट भूपेन्द्रबहादुर सिलवाल र कृष्णबहादुर खत्री छनोट हुन सफल भए। भूपेन्द्रले ओलम्पिक खेल्नुभन्दा ६ वर्षअघि टोकियोमा भएको तेस्रो एशियाली खेलकुदमा भाग लिइसकेका थिए। उनी त्यतिवेला नांगा गोडा म्याराथन दौडिएका थिए।
बन्द प्रशिक्षणमा कालीबहादुर गणबाट नरबहादुर गुरुङ र चन्द्रबहादुर गुरुङको छनोट भयो। यी खेलाडीलाई इजरायलबाट एथ्लेटिक्सको विशेष कोर्स गरेर फर्किएका लक्ष्मणविक्रम शाह र कोमल पाण्डेले प्रशिक्षण दिए। पछि मात्र बन्द प्रशिक्षणमा गंगाबहादुर थापा थपिए।
२०१३ सालमा राजा महेन्द्रको राज्याभिषेक हुँदा टुँडिखेलमा एथ्लेटिक्स प्रतियोगिता आयोजना भएको थियो। जसमा गंगाबहादुरले १० हजार मिटरतर्फको दौड जितेका थिए। खेल जिते पनि सेनामा बढुवा नपाएको भन्दै उनी २०१८ सालमा सेनाको जागिर छोडेर फर्पिङस्थित आफ्नै घरमा बस्दै आइरहेका थिए। एकदिन काम विशेषले काठमाडौं आउने सिलसिलामा दिउँसो दशरथ रंगशालामा ४ जना धावकलाई दौडिएको देखेपछि उनले त्यही उभिएका एक दर्शकलाई सोधेछन्– ‘यिनीहरू किन दौडिएको?’
उभिने व्यक्तिले जवाफ दिएछन्– ‘ओलम्पिक खेल्न जापान जान लागेका छन्।’
गंगालाई त्यसअघिसम्म ओलम्पिक कुन चरीको नाम हो, थाहा थिएन। उनी नजिकैको बागदरबारमा कुरा बुझ्न गए। उनले सुशीलसँग आफूले पनि दौडिन चाहेको जाहेर गरे। गंगा धावक हुन् भन्ने सुशीललाई पहिलेदेखि थाहा थियो। उनले तत्कालै प्रशिक्षक पाण्डेलाई बोलाएर आदेश दिएछन्, गंगाको ‘ट्रायल’ भोलि लिनु।
भोलिपल्टको ‘ट्रायल रेस’ मा गंगाले लामो समयदेखि बन्द प्रशिक्षणमा रहेका ४ धावकलाई उछिने। शहीदगेटबाट रानीपोखरी हुँदै भद्रकालीसम्म १५ चक्कर लगाएको दौडमा उनी पहिलो र भूपेन्द्र दोस्रो भए। उनको प्रदर्शनबाट खुसी भएका प्रशिक्षक पाण्डेले रिपोर्ट बुझाएछन्, ‘साह्रै राम्रो दौडिदो रहेछ।’
यसपछि बन्द प्रशिक्षणमा उनको पनि प्रवेश भयो। प्रशिक्षक शाह र पाण्डेले उनीहरूलाई प्रशिक्षण दिन कहिले कोटेश्वरबाट साँगा भञ्ज्याङ त कहिले सुन्धाराबाट नागढुंगा दौडाउँथे। यी दौडमा गंगाले सबैलाई उछिने। भूपेन्द्र दोस्रो भए।
ओलम्पिकमा भाग लिने तीन खेलाडी तथा तीन पदाधिकारीको नाम ३ महिनाअघि सार्वजनिक हुँदा गंगाको नाम नेपाली टोलीमा समावेश थिएन। यतिवेला सुशील शमशेरको नेतृत्वमा टोकियो जाने पदाधिकारीमा व्यवस्थापकको भूमिकामा द्वारिकाराम भगत माथेमा र मोहनराज जोशीसहित खेलाडीमा हवल्दार चेतबहादुर, चन्द्रबहादुर र भूपेन्द्र सिलवालको नाम मात्र समावेश थियो।
तर १२ असोज २०२१ मा नेपाली टोली टोकियोतर्फ उड्दा खेलाडीको रूपमा गंगा र भूपेन्द्र मात्र समावेश थिए। गंगाले छोटो अवधिमै ओलम्पिकमा सहभागी हुने खेलाडीमा आफूलाई स्थापित गराए।
प्रशिक्षक शाह र पाण्डेले जापानको गर्मीसँग भिज्न ५ जना खेलाडीलाई मकवानपुरमा अन्तिम बन्द प्रशिक्षणमा राखेका थिए। यहाँ खेलाडीले अमलेखगन्जबाट दौडिँदै जितपुर ओहोरदोहोर गर्नुपथ्र्यो। बाटोमा चारकोसे झाडी पथ्र्यो। जंगलको बाटो दौडिँदा विपरीत दिशाबाट मान्छे नै मार्न आए जस्तो बँदेल बतासिएर आउँथ्यो। जंगलको बाटो भएका कारण बँदेललाई हिर्काउन त्यहाँ न इँटा पाइन्थ्यो, न ढुंगा नै। त्यसैले सबै खेलाडी एकछिन उभिएर बँदेललाई पहिले बाटो काट्न दिन्थे। अनि फेरि दौड सुचारू गर्थे।
छनोटमा पनि गंगा पहिलो र भूपेन्द्र दोस्रो भए। यसपछि नेपालबाट पहिलो ओलम्पिक खेल्ने म्याराथन धावकको रूपमा यी दुवैको छनोट भयो। ओलम्पिक तयारीका लागि यी खेलाडीलाई बिहान र बेलुका गरी दैनिक ६ घण्टा दौडाउने गरिन्थ्यो। उनीहरूलाई डाइटको रूपमा अण्डा, दूध र ग्लुकोजको व्यवस्था गरिएको थियो। डाइटका लागि मात्र भनेर दैनिक २५–३० रुपैयाँ छुट्याइएको थियो।
राखेपले ओलम्पिकमा भाग लिन सरकारसमक्ष ६० हजार रुपैयाँ बजेट पेश गरेको थियो। त्यतिवेला मन्त्रिपरिषद्का उपाध्यक्ष तुलसी गिरी थिए। उनले सरकारसँग यति धेरै पैसा नभएको बताउँदै सुशीललाई भनेछन्, ‘यत्रो पैसा कहाँबाट ल्याउनु ?’
राजा महेन्द्रको स्वीकृति लिएर नेपाली खेलाडी ओलम्पिक पठाउन लागेका सुशीलका लागि तुलसी गिरीको कुरा रणभूलमा पार्ने खालको थियो। उनी तुरुन्त दरबार पुगे र राजा महेन्द्रसमक्ष बिन्ती चढाए। उनको कुरा सुनेर महेन्द्रले आश्वासन दिँदै भनेछन्, ‘चिन्ता नगर्नु। म भनिदिन्छु।’ यसपछि सरकारले ओलम्पिक खेल्न राखेपलाई ६० हजार रुपैयाँ उपलब्ध गरायो।
नेपाल ओलम्पिकमा सहभागी हुनुअघि भारतीय ओलम्पिक कमिटीका भेट्रान तथा आईओसी सदस्य गुरुदत्त सोन्धी खेलकुदसम्बन्धी सल्लाह दिन काठमाडौं आएका थिए। केही समयअघि नेपालमा ओलम्पिक कमिटी गठन भए पनि यसले के काम गर्छ र यसको भूमिका खेल विकासमा के हुन्छ ? भन्ने कसैलाई थाहा थिएन।
भारतमा पहिलो एशियाली खेलकुद आयोजना गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका सोन्धीले २ दिने नेपाल भ्रमणमा नेपाल ओलम्पिक कमिटीका सदस्यहरूलाई ओलम्पिकको महत्वबारे दीक्षित गराए। २० जेठ २०२१ मा त्रिभुवन विश्वविद्यालयमा आयोजना भएको प्रवचन गोष्ठीमा उनले खेलकुदबाट सामाजिक जीवनमा पर्ने प्रभावबारे चर्चा गरेका थिए। त्रिविका तत्कालीन उपकुलपति रणधीर सुब्बाको सभापतित्वमा आयोजना भएको गोष्ठीमा उनले भनेका थिए, ‘खेलकुदबाट पारस्परिक सहयोगात्मक भावना वृद्धि हुन्छ। शरीर स्वस्थ रहन र मानसिक विकासमा प्रेरणा मिल्ने गर्छ।’
उनको सम्मानमा नेपाल ओलम्पिक कमिटीका नवनियुक्त अध्यक्ष अधिराजकुमार वसुन्धराले २१ जेठमा होटल रोयलमा रात्रिभोज आयोजना गरेका थिए।
नेपाल सहभागी पहिलो ओलम्पिकमा बक्सिङ खेल अन्तिम समयमा कसरी समावेश भयो? यसको कहानी पनि रोचक छ।
(खेल पत्रकार नवीन अर्यालको प्रकाशोन्मुख पुस्तक ‘नेपाली खेलकुदको वृत्तान्त’ बाट सम्पादित अंश। पुस्तक २६ असार मा बिमोचन हुँदैछ।)