गत पुस २९ देखि माघ ६ गतेसम्म भारतको नयाँ दिल्लीस्थित 'इन्दिरा गान्धी रंगशाला' मा भएको खोखो विश्वकपमा नेपाली महिला टिम र पुरूष टिम दुवै उपविजेता भए।
त्यो सफलता नेपालका लागि अभूतपूर्व थियो।
खोखो विश्वकप खेल्न ६ महाद्वीपबाट २३ देशका खेलाडी 'इन्दिरा गान्धी रंगशाला' मा जम्मा भएका थिए। पुरूषतर्फ २० देश र महिलातर्फ १९ देशका टिम प्रतिस्पर्धामा थिए।
उक्त प्रतिस्पर्धामा नेपाली महिला टिम उपविजेता बन्यो। यो सफलतापछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रशिक्षकलाई साढे सात लाख रूपैयाँ र खेलाडी टिमलाई ४५ लाख रूपैयाँ दिने घोषणा गर्यो। यो घोषणा राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसार भएको हो।
नेपाली महिला टिम ब्राजिल, भुटान, श्रीलंका, बंगलादेश, युगान्डा र इरानलाई पराजित गर्दै अघि बढेको थियो। भारतसँगको फाइनल खेलमा उपविजेता भयो।
नेपाली पुरूष टिम सुरूमा भारतसँग पराजित भए पनि पेरू, ब्राजिल, भुटान, बंगलादेश र इरानलाई पराजित गरेर फाइनलमा पुगेको पुगेको थियो। फेरि भारतसँगै उपाधि भिडन्त हुँदा नेपाली पुरूष टिम पनि उपविजेता बन्यो।
नेपाली महिला टिममा प्रशिक्षक थिइन् दाङकी ३० वर्षीया उषा कँवर भण्डारी। विश्वकपमा सहभागी हुनुअघि उनले खेलाडीलाई काठमाडौंमा करिब एक महिना बन्द प्रशिक्षण गराएकी थिइन्।
तुलसीपुर उपमहानगरपालिका–१६, साइपुर गाउँकी उषा महिला टिमकी स्वयंसेवक प्रशिक्षक हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा उनी प्रशिक्षण गराउँछिन्। यसबापत निर्धारित अवधिको पारिश्रमिक पाउँछिन्।
'भारत जानुअघि महिला टिमको बन्द प्रशिक्षण बजेट अभावका कारण केही दिन रोकिएको थियो,' उषाले भनिन्।
उनले खोखो प्रशिक्षण गराएको १० वर्ष भयो। यस अवधिमा धेरै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी तयार गरेकी छन्।
उनी हाल दाङको राप्ती बबई क्याम्पसमा स्नातक तहको अन्तिम वर्षमा पढ्दै छिन्। बिहान र साँझ गरी तुलसीपुरका दुई ठाउँमा निःशुल्क खोखो खेलाउँछिन्। बरू कहिलेकाहीँ खेलाडीलाई नै आर्थिक सहयोग गरेकी छन्।
नेपालमा २०३८ सालमै विद्यालयको पाठ्यक्रममा खोखो समावेश भएको पाइन्छ। अहिले पनि कक्षा ६ देखि ८ सम्म स्वास्थ्य शिक्षामा खोखो समावेश छ तर गुमनाम छ।
'गुमनाम खेलको विश्वकपमा नेपाली पुरूष टिम र महिला टिम दुवै उपविजेता भएपछि थोरै भए पनि चासो बढेको छ,' उषाले भनिन्।
उषाको माइतीघर तुलसीपुर उपमहानगरपालिका, छोटीदमार हो। दस वर्षअघि तुलसीपुरकै, साइपुरका करण भण्डारीसँग बिहे भयो। करण कबड्डीका पूर्वराष्ट्रिय खेलाडी हुन्। उनी राप्ती बबई क्याम्पसबाट कबड्डी खेल्दा उषा रक्षाचौर माविबाट खेल्थिन्।
एकपटक जिल्लास्तरीय कबड्डी प्रतियोगिताका सिलसिलामा तुलसीपुरकै अरनिको मैदानमा उनीहरूको भेट भएको थियो। दुवै जना आआफ्ना टिमका क्याप्टेन थिए। दुवै जनाका टिम विजयी भए। उनीहरू दुवै जना क्षेत्रीय खेलका लागि छानिए।
दुवै जना बन्द प्रशिक्षणमा रहँदा भेटघाट बाक्लो भयो। प्रेम सम्बन्ध भयो र उनीहरूले बिहे गरे।
उनले बिहे लगत्तैको एउटा प्रसंग सुनाइन्। कोहलपुरमा क खेल हुन लागेको थियो। खेलमा जान्छु भन्न संकोच लाग्यो। उनी दिदीको घर जानु छ भनेर कबड्डी खेल्न गइन्।
'उहाँ (करण) खेलाडी भए पनि भर्खरै बिहे भएको थियो, त्यो पनि अन्तरजातीय,' उनले भनिन्, 'खेल्न जान्छु भन्न धक लाग्यो। उहाँलाई समेत दिदीको घर जानु छ भनेर सुटुक्क कोहलपुर गएँ।'
खेलमा उषाले स्वर्ण पदक जितिन्। साथीहरूले सामाजिक सञ्जालमा फोटो पोस्ट गरिदिए। घर आइपुग्दा ढाँटेको कुरा थाहा भइसकेको थियो।
उनको सफलताले ढाँटेको कुरा रमाइलोमा परिणत भयो। करणले 'खेल्न जानु छ भने ढाँट्नु पर्दैन, घरमा भनेर ढुक्कले गए हुन्छ' भने। उषा खुसी भइन्।
उषा कँवर भण्डारीहाल करण भने खेलमा छैनन्। घरको कमजोर आर्थिक अवस्थाका कारण खेल त्याग्न बाध्य भएको उषाले बताइन्। हाल करण रोजगारीको सिलसिलामा दुबईमा छन्। करणका दुई दाजुभाइका लागि जम्मा ६ कट्ठा जमिन छ। घरमा करणका बुबा र उषा छन्। खाने अन्न उत्पादनका लागि अधियाँमा खेती गर्छन्।
खोखो प्रशिक्षणका अतिरिक्त उषा खेतीमै काम गर्छिन्।
उषा भारतमै जन्मेहुर्केकी हुन्। बुबा यदिराम कँवर मगरको पुर्ख्यौली घर सल्यानको स्यानीखाल हो। उनी कलिलै उमेरमा भारत गए। उतै जन्मेहुर्केकी रामकली कँवरसँग बिहे गरे।
उषा भारतमै जन्मिन्। उनका दुई दाजु र दुई दिदी छन्। उनी आमाबुबासँगै २०६८ सालमा तुलसीपुर आइन्। आमाबुबा अहिले पनि तुलसीपुरकै छोटीदमारमा छन्। दाजुहरू भारतमा र दिदीहरू आआफ्ना घरव्यवहारमा छन्।
उषा भारतको सिम्लामा पढेकी हुन्। उतै खोखो र कबड्डी खेल्न जानिन्। भारतमा १४ वर्ष, १७ वर्ष र १९ वर्षमुनिका राष्ट्रिय खेल खेलिन्। नागरिकता प्रमाणपत्र बनाउने सिलसिलामा उनी २०६८ सालमा बुबासँगै पुर्ख्यौली थलो स्यानीखाल पुगिन्। भारतबाट दाङ आएपछि तुलसीपुरको गुरूजजुर नमूना माविमा कक्षा ११ मा भर्ना भइन्।
त्यो समय दाङमा खोखो खेल प्रचलनमा थिएन। उषा कबड्डी संघ, दाङ को छनोटमा परिन्।
'मध्यपश्चिमको प्रतिनिधित्व गर्दै टिम क्याप्टेन भएर छैठौं राष्ट्रिय खेल खेल्न धनगढी पुगेँ तर हाम्रो टिमले कुनै पनि स्थान हासिल गर्न सकेन,' उनले भनिन्, 'जित भएन तर अनुभव भयो।'
अर्को वर्ष २०६९ सालमा अखिल नेपाल कबड्डी संघले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय खेलमा मध्यपश्चिम टिमको क्याप्टेन भएर खेलिन्। त्यसपटक रजत पदक हासिल भयो। लगत्तै उषा राखेपले नेपालगञ्जमा आयोजना गरेको कबड्डी प्रशिक्षक प्रशिक्षणका लागि छनौटमा परिन्। त्यस प्रशिक्षणले उनलाई कबड्डीको प्रशिक्षक बनायो। त्यसपछि खेलाडी उत्पादनमा लागिन्।
उषा प्रशिक्षक भएपछि दाङको महिला टिमले राष्ट्रिय र क्षेत्रीय प्रतियोगितामा स्वर्ण पदक जित्यो। उनका अनुसार तीन पटक राष्ट्रिय प्रतियोगिता खेल्दा सबैमा स्वर्ण पदक हासिल भयो। त्यही बीचमा राखेपबाट उषालाई खोखो प्रशिक्षक हुन प्रस्ताव आयो।
भारतमा स्कुल पढ्दै खोखो खेलेकी उषा उत्साहित भइन्। प्रस्ताव स्वीकार गरेर प्रशिक्षक प्रशिक्षणका लागि काठमाडौं पुगिन्। दुई हप्ता प्रशिक्षकको तालिम लिइन्। तीन महिनाको अर्को एउटा कोर्स पूरा गरेपछि खोखो प्रशिक्षक बनेको प्रमाणपत्र पाइन्।
त्यसपछि उषा राप्ती बबई क्याम्पसमा भर्ना भइन् अनि दाङमा खोखोको टिम बनाउन सक्रिय भइन्। कबड्डीका खेलाडी जम्मा गर्दै खोखो टिम बनाएर सिकाउन थालिन्। २०७२ सालमा त्रिभुवन आर्मी क्लबमा आयोजित खोखो प्रतियोगितामा पहिलोपटक दाङको टिम सहभागी भयो। त्यस खेलमा दाङले दोस्रो स्थान हासिल गर्यो।
'खोखोको पहिलो क्षेत्रीय प्रतियोगिता बर्दियामा भयो। मैले प्रशिक्षण दिएको दाङको टिम दोस्रो भयो,' उनले सुनाइन्।
बर्दियामा पहिलेदेखि नै खोखोका अन्तर्राष्ट्रिय खेलाडी पनि छन्। खोखोको बलियो टिम पनि बर्दियामै छ। उषाको मिहिनेतले दाङको टिम बलियो बन्दै छ।
करिब दुई वर्षअघि पोखरामा भएको राष्ट्रिय खोखो प्रतियोगिताका लागि लुम्बिनी प्रदेश टिमको बन्द प्रशिक्षण बर्दियाको भुरीगाउँमा भएको थियो। महिला टिम र पुरूष टिम दुवैको प्रशिक्षक उषा नै थिइन्। प्रतियोगितामा लुम्बिनी प्रदेशको पुरूष टिम पहिलो र महिला टिम दोस्रो भए।
'पछिल्लो समय अन्डर ट्वान्टी वान महिला र षुरूष दुबै टिमलाई तालिम दिएकी थिएँ। दुवै टिम विजेता भए,' उनले भनिन्।
भारतमा विश्वकप हुनुभन्दा केही समयअघि काठमाडौंमा भएको खोखो टेस्ट सिरिजमा लुम्बिनी प्रदेशको महिला टिमलाई उषाले नै प्रशिक्षण गराएकी थिइन्। उनको टिम दोस्रो भयो।
'दिल्लीमा भएको विश्वकपमा नेपाली महिला टिम उपविजेता बनेपछि निकै गौरव लाग्यो। अब राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ अनुसारको पुरस्कार पाउने अपेक्षा छ,' उनले भनिन्।
करिब साढे एक वर्षअघि उषा–करण दम्पतीले तुलसीपुरकै बिजौरीमा एउटा घडेरी किनेका थिए। त्यसमा केही रकम ऋण छ। उषाले राखेपबाट पैसा प्राप्त भएपछि उक्त ऋण तिर्ने विचार गरेकी छन्।
चार वर्षअघि काठमाडौंमा भएको साउथ एसियन गेममा पनि नेपाली महिला खोखो टिम दोस्रो भएको थियो। प्रशिक्षक उषाले तीन लाख रूपैयाँ पुरस्कार पाएकी थिइन्। खेलाडीले जनही चार लाख रूपैयाँ पाएका थिए। त्यस बेला उषाले करण दुबई जाँदा लागेको ऋण तिरिन्।
अब नेपाली महिला टिमलाई विश्वकपमा विजयी बनाउने उषाको धोको छ। उनी यति बेला दाङमा ८० जना खेलाडीलाई निःशुल्क प्रशिक्षण गराउँदै छिन्। यिनमा स्कुले बालबालिकादेखि सिनियर खेलाडीसम्म छन्।
'मेरो यो प्रयासमा राज्यका तर्फबाट कुनै सहयोग छैन। कतैबाट सहयोग नपाउँदा परिवारको आर्थिक संकट जस्ताको तस्तै छ,' उनले भनिन्।
आर्थिक संकटकै कारण श्रीमान करणले उषालाई 'दुबई आऊ' भन्न थालेका छन्। उनलाई पनि श्रीमानको कुरा ठिकै हो कि जस्तो लाग्न थालेको छ।
'यहाँ आयस्रोत भएन। जीवन धान्नै समस्या छ। श्रीमान एक्लैले दुःख गरेर त कसरी घर चल्छ र! यतै (दुबई) आऊ भन्न थाल्नुभएको छ। राज्यको सहयोग भएन भने जानुपर्ने हुन सक्छ,' उनले भनिन्।
राखेपले खोखोको राष्ट्रिय प्रशिक्षकका रूपमा नियुक्ति दिए आफूले देश छाड्नुपर्ने थिएन भन्ने उनलाई लागेको छ। तर आफ्नो चाहनाले मात्रै हुने होइन पनि उनलाई थाहा छ।
'क्षेत्रीय र राष्ट्रिय मात्रै होइन, विश्वकपमा समेत उपविजेता भइसकेका छौं,' उनले भनिन्, 'हामीले धेरै खेलाडी उत्पादन गरेका छौं। अब राज्यले केही मद्दत गरे हुने थियो।'
नेपालमा सरकारले खेलाडी र प्रशिक्षकका लागि लगानी नै गर्दैन भन्ने उषाको बझाइ छ। विश्वकपका लागि खोखो संघले ऋण खोजेर काठमाडौंमा बन्द प्रशिक्षण चलाएको उनले बताइन्।
तुलसीपुरको रानीजरूवाका २५ वर्षीय वेदबहादुर वली उषाका प्रशिक्षार्थी हुन्। भारतमा भएको विश्वकपमा उपविजेता बनेको टिममा वेदबहादुर पनि थिए। उनी खेलमा चेजर हुन्। उनी हाल त्रिभुवन आर्मी क्लबबाट खेल्छन्। उनी आफ्नो सफलतालाई उषाकै प्रशिक्षणको नतिजा मान्छन्।
वेदबहादुर वलीउषाका अनुसार खोखो राष्ट्रिय खेलमा १६ गुणा २७ मिटर नापको कोर्ट हुन्छ। दुईवटा पोलबीचको दुरी २४ मिटर हुन्छ। पोलका बीचमा आठ वटा चेजिङ बक्स हुन्छन्। एउटा टिममा १२ खेलाडी जना हुन्छन्। एक पटकमा नौ जना कोर्टमा हुन्छन्, तीन जना बाहिर हुन्छन्।
दुई प्रतिस्पर्धी टिममा एउटा चेजर र अर्को रनर हुन्छ। चेजर टिमका आठ जना खेलाडी विपरीत दिशामा फर्केर सिधा रेखामा उभिन्छन्। एक जना खेलाडी एउटा पोलमा हुन्छ।
रनर टिमबाट तीन जनाको समूह बनाएर प्रतिरक्षाका लागि कोर्टमा प्रवेश गर्छन्। यी तीन जना रनर चेजरबाट नसमातिने र बढी समय कोर्टमा बिताउने प्रयासमा हुन्छन्। यो समय जम्मा नौ मिनेट हुन्छ।
अन्तर्राष्ट्रिय प्रतियोगितामा चेजिङ बक्स ६ वटा हुन्छन्। चेजरबाट पोलमा बस्ने एक जनासहित सात जना खेलाडी कोर्टमा हुन्छन्। एउटा टिममा १५ जना खेलाडी हुन्छन्।
उपविजेता बनेर फर्किँदा राखेपका पदाधिकारी, खेलकुदमन्त्री र काठमाडौंका मेयरले बधाइ दिए। यसबाट उषा निकै उत्साहित भइन् तर तुलसीपुर उपमहानगरले वास्ता नगरेको उनको गुनासो छ।
खोखो खेल विकासका लागि राष्ट्रपति रनिङ शिल्डमा समावेश गर्नुपर्ने र राष्ट्रिय प्रतियोगिताहरू आयोजना गर्नुपर्ने उनको धारणा छ।
'राष्ट्रपति रनिङ शिल्डमा खोखो समावेश गर्ने हो भने यो खेल प्रत्येक विद्यालयमा पुग्छ। खेलाडीहरू रनिङ शिल्डमा सहभागी हुन्छन्। खेल विकासमा मद्दत पुग्छ,' उनले भनिन्।