वर्ष २०२४ मा विश्वका कैयौँ मुलुक राजनीतिक, आर्थिक र सामाजिक रुपमा उथलपुथल रहे। रुस–युक्रेनबीचको युद्ध जारी रहँदा इजरायलसँग हमासलगायतको युद्ध चर्चामा रह्यो, सिरिया र बङ्गलादेशमा भएका राजनीतिक आन्दोलनले वर्षभरी विश्व समुदायको ध्यान खिच्यो। त्यति मात्रै होइन, यी राजनीतिक उथलपुथलले धुव्रिकरणलाई बढावा दिए पनि खेलकूदले भने धेरैलाई एकै थलोमा उभ्यायो।
वर्ष २०२४ मा खेलकूद निकै चर्चामा रह्यो। नेपाल राष्ट्रिय क्रिकेट सङ्घले पहिलो पटक आयोजना गरेको नेपाल प्रिमियर लिग (एनपिएल)ले नेपाली क्रिकेटलाई विश्वका क्रिकेटप्रेमीको ध्यान आकृष्ट मात्रै गरेन। यसको अभूतपूर्व सफलताले नेपाली क्रिकेटको उन्नयनमा ठूलो सहयोग हुने अपेक्षासमेत गरिएको छ। विश्वप्रसिद्ध क्रिकेटर ब्रायन लारालगायतको उपस्थितिले एनपिएलको चर्चा अझ चुलियो।
यसै वर्ष भारतले टी–२० किक्रेट विश्वकपको उपाधि चुम्यो। सन् २०२३ मा घरेलु मैदानमा एकदिवसीय क्रिकेट विश्वकपको उपाधि जित्नबाट चुकेको भारतले अमेरिका र वेस्टइन्डिजमा भएको उक्त विश्वकपको उपाधि भने हात पार्यो। सोही प्रतियोगितामा नेपालले दक्षिण अफ्रिकालाई कडा टक्कर दियो। समूह चरणमा नेपाल जम्मा एक रनले पराजित भयो। सोही प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्धको खेलमा पनि राम्रो प्रदर्शन गरेको थियो।
वर्षको अन्त्य र नयाँ वर्षको सुरुआतमा अष्ट्रेलियासँग पाँच खेलको टेस्ट शृङ्खला गुमाएपछि भारतले टेस्ट विश्वकपको फाइनल खेल्ने सपना भने पूरा भएन। प्रत्येक दुई वर्षमा हुने टेस्ट विश्वकपको उपाधिका लागि अब दक्षिण अफ्रिका र अष्ट्रेलिया भिड्नेछन्। यही वर्ष बङ्गलादेशले भारतलाई पराजित गर्दै यू–१९ क्रिकेट एसिया कप जित्यो।
फूटबलप्रेमीका लागि पनि गत वर्ष रोमाञ्चक रह्यो। अर्जेन्टिनाले लगातार दोस्रो पटक कोपा अमेरिकाको उपाधि जित्दा सोही समयमा यूरोपमा भएको यूरो कपको उपाधि भने स्पेनले हात पार्यो। वर्ष २०२४ मा सम्पन्न इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले लगातार चौथो पटक उपाधि कब्जा गर्यो। साथै यूरोपियन च्याम्पियनको उपाधि स्पेनिस क्लब रियल म्याड्रिडले चुम्यो। त्यसका साथै रियलले स्पेनिस ला लिगा, अन्तमहादेशीय ‘यूइएफए सुपर कप’ र ‘स्पेनिस सुपर कप’ पनि जित्यो।
वर्ष २०२४ मा प्रसिद्ध टेनिस खेलाडी राफेल नाडालले २० वर्षे खेल यात्राबाट विश्राम लिए। लामो समयसम्म टेनिसमा आफ्नो बलियो प्रस्तुति दिएका उनले डेभिस कपको क्वार्टरफाइनलमा हार बेहोरेपछि सन्यास लिए। उनले आफ्नो करिअरमा अष्ट्रेलियन ओपन, फ्रेञ्च ओपन, विम्बल्डन, यूएस ओपनलगायतका ग्राण्ड स्लाम २२ पटक हात पारेका थिए।
गत वर्ष बक्सिङ पनि निकै चर्चामा रह्यो। विशेष गरी पूर्वहेभिवेट च्याम्पियन माइक टाइसन र ज्याक पलबीचको प्रतिस्पर्धालाई विश्वका करोडौ खेलप्रेमीले प्रत्यक्ष हेरेका थिए। सन्यास जीवन बिताइरहेका ५८ वर्षे टाइसन १९ वर्षपछि व्यावसायिक खेल जीवनमा फर्किएका थिए। उक्त खेल नेटफ्क्लिसमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो। डलास काउबोइजमा भएको उत्त खेलमा ७० हजार दर्शक उपस्थित थिए। खेल भने पलले जिते।
गत वर्ष नै नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले पारा ओलम्पिकमा ऐतिहासिक कास्य पदक जितिन्। कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक थियो। उनले के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कास्य पदक जितेकी हुन्। उनले सर्बियाकी मिचेभलाई १५–८ स्कोरले पराजित गरेकी थिइन्।
यसैवर्ष अल्जेरियन फूटबलर युसेफ अतल गाजा स्ट्रिपबारे सामाजिक सञ्जालमा लेखेकै आधारमा आठ महिना जेल चलान भए। साथै उनलाई फ्रान्सको एक अदालतले ४५ हजार यूरो जरिवाना तिरायो। साथै दक्षिण अफ्रिकाका पूर्व पाराओलम्पियन ओस्कार पिस्टोरियसले ११ वर्षपछि पेरोल पाए। उनी प्रेमिकाको हत्यामा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका थिए। त्यसैगरी फ्रान्सकी पूर्व बास्केटबल खेलाडी एमिली गोमिसले इजरायलले गाजामा गरिरहेको आक्रमणको आलोचना गरेपछि पेरिस ओलम्पिकको एम्ब्यासडरबाट राजीनामा दिन बाध्य भइन्।
गत वर्षको फेब्रअुरीमा कतारले जोर्डनलाई ३–१ गोलअन्तरले पराजित गर्दैै सन् २०२३ को एएफसी एसिया कपको उपाधि जित्यो भने आइभोरी कोस्टले नाइजेरियालाई २–१ गोलअन्तरले पराजित गर्दै सन् २०२३ को अफ्रिका कप जित्यो। यसैवर्ष अमेरिकाका बास्केटबल खेलाडी लेब्रोन जेम्स करिअरमा ४० हजार प्वान्टस् बटुल्ने इतिहासमा पहिलो खेलाडी बने। त्यसैगरी साउदी अरबको फूटबल क्लब अल हिलाल क्लबले २८ खेलमा जित निकाल्दै लगातार धेरै खेल जित्ने क्लब बन्यो।
जो अस्ताए
विश्व खेलकूद जगतले यस वर्ष केही प्रसिद्ध व्यक्तित्वलाई गुमायो। वर्षको सुरुआत अर्थात् जनवरी ७ मा जर्मनीका फूटबल खेलाडी तथा म्यानेजर फ्राञ्ज बेकेबोउरको ७८ वर्षको उमेरमा निधन भयो। उन फिफा विश्वकप, यूरोपियन च्याम्पियन जित्ने थोरै खेलाडीमध्ये एक थिए। साथै म्याराथन विश्व कीर्तिमानी केन्याका धावक २४ केल्भिन किप्टुनको फेब्रुअरी ११ मा निधन भयो। उनले सन् २०२३ को अक्टोबरमा अमेरिकाका सिकागोमा भएको दौडमा दुई घण्टा ३५ सेकेन्डमा दौड पूरा गर्दै कीर्तिमान कायम गरेका थिए।
गत वर्षको अप्रिल १० मा फूटबल स्टार ओजे सिम्पसनको निधन भयो। अमेरिकी एथलेटिकमा सन् १९६० देखि ७० को दशकसम्म ‘द जुस’ उपनामले चर्चित ओजेको जीन विवादास्पद रह्यो। अमेरिकाका प्रसिद्ध बास्केटबल खेलाडी जेरी वेस्टको ८६ वर्षको उमेरमा जुन १२ मा निधन भयो। वेस्टले सन् १९६० देखि १९७४ सम्म नेशनल बास्केटबल एसोसिएसन (एनबिए)का खेलाडीका रुपमा राम्रो प्रदर्शन गरेका थिए।
यसैवर्ष अफ्रिकन–अमेरिकन व्यावसायिक बेसबल खेलाडी विली मायसको ९३ वर्षको उमेरमा जुन १८ मा निधन भयो। त्यसैगरी स्पेनिस बाइक राइडर कार्लेस फाल्कोनको ४५ वर्षको उमेरमा निधन भयो। डाकर ¥यालीका क्रममा दुर्घटनामा परेका उनको आठ दिनपछि निधन भएको हो।
---