लमजुङको दुधपोखरीमा जन्मिएका भूपेन्द्र गुरूङ नेपाली कुङफुको एक प्रतिभा हुन्, जसले नेपालको मार्सल आर्ट्स क्षेत्रमा उल्लेखनीय छाप छोडेका छन्। उनले नेपाल उमा कुङफु संघको महासचिवको रूपमा लामो समयसम्म योगदान गरे। हाल संघको उपाध्यक्ष रहेका भूपेन्द्रले केवल अन्तर्राष्ट्रिय पदक मात्र जितेका छैनन्, विश्वस्तरीय प्रतियोगिताहरूमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्।
भूपेन्द्रको बाल्यकाल लमजुङमा बिते पनि उनको तीक्ष्ण बुद्धि र खेलकुदप्रति रुचिलाई देखेर उनको परिवारले उनलाई काठमाडौंमा हुर्काउने निर्णय गर्यो। काठमाडौंको धुम्बाराहीस्थित बिगिर्नस एकेडेमीमा भर्ना भएपछि उनको शैक्षिक यात्रा फस्टाउन थाल्यो। त्यहाँको खेलकुद वातावरणले उनलाई उसु खेलमा आकर्षित गर्यो। सन् १९९८ देखि उसु सिक्न थाले उनी तीन वर्षमै राष्ट्रिय प्रतियोगितामा आफ्नो क्षमता देखाउन सक्षम भए।
राष्ट्रिय प्रतियोगितामा पदक जित्न थालेपछि भूपेन्द्रको नाम चर्चामा आयो। उसुको अलावा, उनले कुङफु प्रतियोगितामा पनि आफ्नो शक्ति परीक्षण गर्न थाले। सन् २००८ मा वर्ल्ड ताइची दिवसमा आयोजित उमा कुङफु च्याम्पियनसिपमा कास्य पदक जितेपछि उनको रुचि र क्षमता कुङफुतर्फ केन्द्रित हुन थाल्यो। यसपछि उनले कुङफुका विभिन्न राष्ट्रिय प्रतियोगिताहरूमा भाग लिँदै सफलता हासिल गर्ने क्रम जारी राखे।
उनको व्यावसायिक खेल जीवनमा राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा पदकहरूको सफलताको श्रृङ्खला छ। सन् २०१५ मा राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपमा स्वर्ण पदक जितेका भूपेन्द्रले सन् २०१८ मा जर्मनीमा आयोजित विश्व मार्सल आर्ट्स गेम्समा पनि स्वर्ण पदक उचाले। यस्तै, सन् २०२२ मा उमा कुङफुको युरोपियन च्याम्पियनसिपमा पनि उनले स्वर्ण पदक प्राप्त गरे।
सन् २०२४ को डिसेम्बरमा अमेरिकामा आयोजित छैटौं एनुएल बक्स काउन्टी विन्टर मार्सल आर्ट्स च्याम्पियनसिपमा उनले ट्रेडिसनल फम्समा स्वर्ण र ओपन फम्सको ताइचीमा रजत पदक जिते। यस प्रतियोगितामा २२ वटा मार्सल आर्ट्स क्लबबाट ३४७ खेलाडीहरू सहभागी थिए। त्यसो त, सन् २०२४ को अक्टोबरमै उनले क्यालिफोर्नियामा भएको १५ औं गोल्डेन ड्रागन च्याम्पियनसिपमा दुई रजत पदक जितेका थिए।
अमेरिकामा दुई प्रतियोगितामा पदक जितेपछि उनलाई दुई छुट्टै संस्थाले ४ हजार अमेरिकी डलर नगदसहित सम्मान गर्यो। तमु परिवार न्युयोर्कद्वारा आयोजित ल्होछारको उपलक्ष्यमा भएको कार्यक्रममा भूपेन्द्रलाई ३ हजार युएस डलर सहित तमु परिवार अवार्ड प्रदान गरिएको थियो। त्यस्तै ह्याप्पी किचन रेस्टुरेन्ट न्यूयोर्कका प्रोपाईटर वीरेन्द्र गुरुङले भूपेन्द्रलाई १ हजार युएस डलरसहित प्रशंसा पत्र प्रदान गरेका थिए।
भूपेन्द्रले खेलाडी मात्र नभई निर्णायकको भूमिका पनि उत्तिकै महत्वपूर्ण तरिकाले निर्वाह गरेका छन्। सन् २०१६ र २०१८ मा राष्ट्रिय उमा कुङफु च्याम्पियनसिपमा जजको रूपमा काम गरेका उनले सन् २०२२ मा भारतको लखनउमा भएको १४औं राष्ट्रिय कुङफु च्याम्पियनसिपमा मुख्य जजको भूमिका निर्वाह गरे। २०२३ मा बेलायतमा भएको अर्को प्रतियोगितामा पनि उनले जजको भूमिका सम्हाले।
आफ्नो क्षमता वृद्धिका लागि भूपेन्द्रले विभिन्न अन्तर्राष्ट्रिय सेमिनारहरूमा पनि सहभागिता जनाएका छन्। सन् २०१६ मा कुङफु इन्स्ट्रक्टर सेमिनारमा उनी सहभागी भए भने सन् २०२३ मा बेलायतमा आयोजित ‘ग्यादरिङ अफ दि वर्ल्ड ग्रान्ड मास्टर्स २०२३’ मा उनी ग्रान्ड मास्टरको रूपमा सहभागी भए।
नेपाल उमा कुङफु संघका उपाध्यक्ष उनी नेपाल आदिवासी खेलकुद संघका अध्यक्ष हुन्। अन्तर्राष्ट्रिय मार्सल आर्ट्स कर्पोरेशनको नेपाल अध्यक्ष पनि भएका उनी नेपालका राष्ट्रिय कुङफु रेफ्री हुन् भने कुङफुको चौथो डान प्राप्त गरिसकेका छन्।