कर्णाली प्रदेशमा आयोजना गर्नेगरी मिति तोकिएको दशौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरेर सुर्खेतमा बनाउन सुरू गरिएको प्रदेश रंगशालाको काम अन्तिम चरणमा पुगेको छ। नौ बिघा क्षेत्रफल ओगटेको यो रंगशालालाई अब अन्तिम रूप दिन मात्र बाँकी छ। ९९ प्रतिशत काम सकिइसकेको छ।
२०७८ मंसिर २० गते शिलान्यास गरिएको रंगशाला निर्माणको वित्तीय प्रगति हेर्दा लगभग डेढ अर्ब खर्च भइसकेको छ। रंगशाला निर्माणका लागि भ्याटसहित एक अर्ब ५० करोड ४७ लाख ४७ हजार रुपैयाँमा सम्झौता भएको थियो।
२०८१ वैशाख ११ सम्म निर्माण गरिसक्नुपर्ने सम्झौता थियो। तर कोभिड, भूकम्प लगायतका विपदका कारण केही महिना काम लम्बिएको छ। यसको निर्माणको जिम्मा एमएसिजिएसएल जेभीले लिएको हो।
‘३० महिनामै काम सक्नेगरी सम्झौता भएको थियो, तर पनि ६ महिना लम्बिएको छ,’ कर्णाली प्रदेश खेलकुद परिषदका पूर्वसदस्यसचिव विश्वमित्र सञ्ज्यालले भने, ‘कोभिडका बेला सम्झौता हुँदा केही समय काम सुरू गर्न ढिला भयो, पछिल्लो भूकम्प, बाढी लगायतका विपदले पनि नियमित कार्यमा प्रभाव पारेका छन्।’
यो रंगशालाको अहिलेसम्म कति काम भयो, के-के संरचना बने र के काम गर्न बाँकी छ? यसबारेमा हामीले पूर्वसदस्यसचिव सञ्ज्यालसँग कुरा गरेका छौं।
कर्णाली प्रदेश खेलकुद परिषदको सदस्य सचिवको रूपमा चार वर्ष काम गरेका सञ्ज्याल यो रंगशाला निर्माणका क्रममा सुरूदेखि हालसम्म प्रत्यक्ष जोडिएका छन्। उनलाई सोमबार मात्र कर्णाली प्रदेश सरकारले बिदाइ गरेको छ।
उनका अनुसार निर्माणको अन्तिम चरणमा रहेको प्रदेश रंगशाला दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता उद्घाटनको मुख्यस्थल रहनेछ। यसअघि मंसिरमा हुने भनिएको उक्त प्रतियोगिता सरेर चैतमा तय भएको छ।
प्रतियोगितालाई लक्ष्य गरेर बनाउन थालिएको रंगशालाका सबै संरचना ‘फिफा मापदण्ड’ अनुसार निर्माण गरिएको छ।
‘प्रतियोगिता उद्घाटनका लागि मुख्यस्थल यही हो, अहिले रंगशालाका धेरैजसो काम भइसकेका छन्, अन्तिम रूप दिन रंगरोगन लगायतका काम चलिरहेका छन्। अबको केही दिनमा सकिनेछ,’ सञ्ज्यालले भने।
उनका अनुसार यो रंगशालाभित्र १६ वटा राष्ट्रिय खेल खेलाउन सकिने गरी संरचना तयार पारिएका छन्। फुटबल मैदानमा हुने खेल १० हजार जनाले अवलोकन गर्न सक्नेगरी संरचना बनेको छ। जसमध्ये भिभिआइपी र भिआइपी पारापिटतर्फ मात्र चार हजार दर्शक बसेर खेल्न हेर्न मिल्नेगरी संरचना निर्माण गरिएको छ।
एथ्लेटिक्सका लागि आठ लेनको ४ सय मिटर ट्र्याक निर्माण भएको छ। यसलाई अब अन्तिम रूप दिन मात्र बाँकी छ। पौडीका लागि स्वीमिङ पुल बनिसकेको छ। बास्केट बल, भलिबल लगायतका खेलका लागि आउटडोर र इनडोर कोर्ट बनाइएको छ। आउटडोर कोर्ट निर्माण भइसकेका छन् भने इनडोर कभर्ड हलको काम पनि अन्तिम चरणमा पुगेको छ। कभर्ड हलभित्र हुने खेल मात्र कम्तीमा एक हजार पाँच सय दर्शकभित्रै बसेर हेर्न मिल्नेगरी कभर्ड हलको संरचना निर्माण गरिएको छ।
उक्त बहुउद्देश्यीय कभर्ड हल नेपालकै ठूलो पनि हो।
यस्तै बक्सिङ, तेक्वान्दो, उस्सु, कराँते, ब्याडमिन्टन लगायतका खेल खेल्न मिल्नेगरी एकैपटक संरचना निर्माण गरिएका छन्। यी संरचनामध्ये कतिपय बनिसकेका छन्, कतिपय भने अन्तिम चरणमा छन्।
भिआइपी र भिभिआइपीका लागि छुट्टै पारापिट र अन्डरग्राउण्ड पार्किङको संरचना निर्माण गरिएको छ। यो संरचनालाई पनि अब अन्तिम रूप दिन बाँकी रहेको पूर्वसदस्यसचिव सञ्ज्यालले बताए।
कर्णाली प्रदेश रंगशालाको सुरक्षा व्यवस्था पनि फिफाकै मापदण्डअनुसार बनाइएको छ। सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै रंगशालाको रेलिङ मानिसको सामान्य भिड पर्दा भाँचिनेगरी तयार गरिएको छ। यदि गेटमा १० जना मानिसको चाप एकैपटक पर्यो भने खुल्नेगरी जडान गरिएको छ। महत्वपूर्ण भागमा सिसी क्यामरा जडान गरिएको छ। जुन ठाउँमा खतरा देखिन्छ, त्यही ठाउँमा सहजै व्यवस्थापन हुनेगरी संरचना तयार पारिएको सञ्ज्यालले बताए।
रंगशालामा अहिले भइरहेको काम अन्तिम चरणको हो। रंगरोगन, सरसफाइ, लाइनिङ जस्ता काम मात्र बाँकी हुन्।
रंगशालाअन्तर्गत फुटबल मैदान तयार भएर पनि तीन पटक प्रतियोगिता भइसकेका छन्।
कार्यालय प्रयोजनका लागि भवन बनिसकेका छन्। पर्खालको काम पनि सकिएको छ।
पहिले भएको कभर्ड हललाई स्तरोन्नति गर्ने काम पनि सकिएको छ।
‘अहिले भइरहेका काम एकदमै सामान्य हुन्, जो नियमित चल्छन्,’ उनले भने, ‘काम लगभग पूरा भएको छ, केही समयमै हस्तान्तरण हुने अपेक्षा छ।’
यसबाहेक रंगशालामा कर्णालीको मौलिकता झल्काउने संरचना पनि छन्। मुख्य प्रवेशद्वारमा दैलेखको पञ्चदेवल समेटिएको छ। सटरको माथि हिँड्ने बाटोमा चाइना ग्रेटवालको डिजाइन गरिएको छ। यसलाई ‘कर्णाली वाल’ नाम दिइएको छ।
यसभित्र खुला पार्किङ, व्यावसायिक सटर निर्माण, परिसरमा हरियाली बनाउने काम पनि सकिइसकेको छ। तयार भएको रंगशालाका दर्शकदीर्घामा ‘कर्णाली स्टेडियम’ लेखेका अक्षर देखिनेगरी तयार पारिएको छ।
‘यो रंगशाला कर्णालीमा बन्दैन होला भन्ने मानसिकता बोकेका केही समूह थिए, उनीहरूको मनमा पछाडि परेको कर्णालीले ठूला पूर्वाधार बनाएर सक्दैन भन्ने लागेको थियो,’ सञ्ज्यालले भने, ‘हामीले त्यो भाष्य तोडेर रंगशाला निर्माण गरेका छौं, कर्णालीले पनि पूर्वाधार निर्माणमा दख्खल राख्दछ भन्ने उदाहरण दिएका छौं।’
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता खेलाउन रंगशाला निर्माणको पहिलो लक्ष्य भए पनि रंगशाला बन्ने कुरा र राष्ट्रिय खेलकुद हुने कुराले कर्णालीको समग्र विकासको लागि कोसेढुंगा सावित हुने उनी बताउँछन्।
सुर्खेतमा बनेको प्रदेश रंगशालालाई खेलकुद र खेलाडीको विकासका लागि उपयोग गर्नुपर्ने उनको धारणा छ। समग्र देशकै खेलाडी र खेलकुदको विकासलाई चलायमान बनाउनका लागि कर्णाली रंगशाला सार्थक बन्ने अपेक्षा पनि उनको छ।
रंगशाला निर्माणपछि कर्णालीमा अर्को पर्यटकीय गन्तव्य पनि थपिएको दाबी उनले गरे।
‘बाहिरबाट पर्यटक कर्णाली आउँदै गर्दा यो रंगशाला पनि एउटा पर्यटकीय पूर्वाधारका रूपमा स्थापित हुनेछ, यसका लागि हामीले रंगशालाको पर्खाल ग्रेटवालको ढाँचामा बनाएका छौं,’ सञ्ज्यालले भने, ‘कर्णालीकै अरू पर्यटकीय स्थल झल्किनेगरी रंगशालाभित्र पूर्वाधार बनाएका छौं, यसले कर्णालीको पुरातात्विक झल्को दिनेछ।’
रंगशालाबाट राजस्व प्राप्त हुनेगरी व्यावसायिक प्रयोजनका सटरहरू निकालिएको छ। कर्णालीको आर्थिक, सामाजिक विकासको क्षेत्रमा पनि प्रदेश रंगशालाले योगदान पुर्याउने अपेक्षा गरिएको उनले बताए।
यो लगानीमा बनेको रंगशालालाई आफै चल्नेगरी कानुनी दस्तावेज बनाएर अघि बढ्नुपर्ने सुझाव उनले दिएका छन्।