आइसिसी टी-२० विश्वकप क्रिकेट आजदेखि सुरू हुँदैछ।
भारत र श्रीलंका आयोजक रहने विश्वकपको औपचारिक उद्घाटन मुम्बईस्थित वानखेडे स्टेडियममा हुँदैछ।
वानखेडेमै शनिबार बेलुकी नेपाली समयअनुसार सवा ७ बजे आयोजक राष्ट्र भारत र अमेरिका भिड्दैछन्।
त्यसअघि श्रीलंकामा पाकिस्तान र नेदरल्याण्ड्स र कोलकातामा वेस्ट इण्डिज र स्कटल्याण्ड भिड्दैछन्।
वानखेडेमा नेपाली समय अनुसार साँझ ६:१५ बजे (भारतीय समय ६ बजे) देखि सुरु हुने उद्घाटन समारोहमा संगीत र नृत्यको विशेष प्रस्तुति रहनेछ। त्यसपछि विश्वकपको ट्रफीलाई मैदानमा भित्र्याइनेछ।
समारोहको सुरुवात ऋषभ शर्मा र शिवमणिको सांगीतिक प्रस्तुतिबाट हुनेछ। त्यसपछि सबैलाई अचम्मित पार्दै एक 'जेटप्याक' कलाकारले विश्वकप ट्रफीलाई उड्दै स्टेडियमभित्र ल्याउनेछन्।
आईसीसी अध्यक्ष जय शाह र पूर्व भारतीय कप्तान रोहित शर्मा (जसले २०२४ मा भारतलाई विश्वकप जिताएका थिए) ले ट्रफीको स्वागत गर्नेछन्। सहभागी २० वटै देशका बालबालिकाहरूसँगै मिलेर उनीहरूले आधिकारिक रूपमा विश्वकप सुरु भएको घोषणा गर्नेछन्।
त्यसपछि चर्चित गायक बादशाह र कलाकार नोरा फतेहीले आफ्नो दमदार गायन र नृत्य प्रस्तुत गर्नेछन्। धेरै कलाकारहरूको साथमा उनीहरूले समारोहको अन्त्यमा संयुक्त प्रस्तुति दिनेछन्।
यो समारोहलाई टी-२० क्रिकेटको गति र उत्साह झल्किने गरी तयार पारिएको छ। कार्यक्रमको अन्त्यमा भव्य आतिशबाजी गरिनेछ र बेलुकी ७:१५ बजे (भारतीय समय ७ बजे) देखि भारत र अमेरिकाबीचको खेल सुरु हुनेछ।
यसपटकको विश्वकपमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसँगै इंग्ल्यान्ड, वेस्ट इन्डिज, स्कटल्यान्ड र इटाली छन्।
नेपालले पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ मा (माघ २५) खेल्नेछ। अन्तिम खेल स्कटल्यान्डसँग फेब्रुअरी १७ (फागुन ५) मा हुनेछ। नेपालका चारै खेलमा मुम्बईमा हुनेछन्। समूहमा शीर्ष दुईमा परेमा सुपर-८ मा पुग्ने सम्भावना हुनेछ।
नेपाली टोली
रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान) सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, आरिफ शेख, बसिर अहमद, सोमपाल कामी, करण केसी, नन्दन यादव, गुल्शन झा, ललित राजवंशी, शेर मल्ल र लोकेश बम।