सेयर बजार केही समयदेखि सामान्य बढ्ने र फेरि सामान्य घट्ने गरिरहेको छ। सेयर बजारको भाषामा यसलाई साइडवेज मुभमेन्टमा गएको भनिन्छ। अर्थात् निश्चित अंक बीच रहेर बजार तलमाथि गरिरहेको छ।
'फागुनमा प्रतिनिधिसभाको निर्वाचन हुन्छ कि हुँदैन भन्ने बीचको लडाइँ अहिले बजारमा चलिरहेको छ,' एक ब्रोकरले भने, 'चुनाव होला जस्तो देखिँदा बजार बढ्न थाल्छ। हुँदैन भन्ने शंका हुन थाल्दा बजार घट्न थाल्छ।'
उनका अनुसार राजनीतिक दलहरूबाट आउने विवादास्पद अभिव्यक्ति तथा कामकारबाहीलाई सेयर लगानीकर्ताहरूले आफ्नै तरिकाले विश्लेषण गरिरहेका छन्।
यस्तो विश्लेषणमा चनाव हुन्छ भन्नेहरू लगानी गरिरहेका छन् भने हुँदैन कि भन्नेहरू डराएर सेयर बिक्री गरिरहेका छन्।
विशेष गरेर व्यवसायी दुर्गा प्रसाईंको गिरफ्तारी र उनको रिहाइको खबरले पनि बजारमा प्रभाव पारिरहेको ब्रोकरहरू बताउँछन्। उनीहरूका अनुसार पुराना राजनीतिक दलहरूले बेला बेला निर्वाचन प्रति संशय हुने खालका अभिव्यक्ति दिँदा पनि बजारले प्रतिक्रिया जनाइरहेको छ।
'अहिले जोखिम देख्नेहरू यतिसम्म डराइरहेका छन् कि बजारका कतिपय कम्पनीहरूको नेटवर्थभन्दा पनि सेयर मूल्य तल ओर्लिएको छ,' ती ब्रोकरले भने।
प्रतिसेयर नेटवर्थले सबै दायित्व तिरेर कम्पनीको बाँकी रहने सम्पत्ति बिक्री गर्दा लगानीकर्ताले कति पाउँछ भनेर देखाउँछ।
विशेष गरेर वाणिज्य बैंकहरूमा यस्तो देखिएको छ। यस्तो उदाहरण नेपाल इन्भेस्टमेन्ट मेगा र नेपाल बैंकमा देखिन्छ।
चालु आर्थिक वर्ष २०८२–८३ को दोस्रो त्रैमास (साउनदेखि पुस) सम्मको वित्तीय विवरण अनुसार नेपाल इन्भेस्टमेन्टको प्रतिसेयर नेटवर्थ १९४ रूपैयाँ छ। सोमबार बजार बन्द हुँदा यसको सेयर १९० रूपैयाँमा कारोबार भयो।
त्यस्तै, नेपाल बैंकको पनि दोस्रो त्रैमासमा प्रतिसेयर नेटवर्थ २६२ रूपैयाँ छ। सोमबार यसको अन्तिम कारोबार २४२ रूपैयाँमा भयो।
अहिले कुनै कम्पनीले प्राथमिक सेयर (आइपिओ) जारी गरेर नेप्सेमा सूचीकरण हुँदा पहिलो कारोबारका लागि नेटवर्थकै आधारमा मूल्य पाउँछ। कम्पनीको नेटवर्थ जति छ, त्यसको तीन गुणासम्म मूल्य पाउँछ।
यही एक सूचकका आधारमा मात्रै लगानी गर्नुभन्दा अन्य पक्षहरू पनि हेर्नुपर्ने हुन्छ। अन्य पक्ष समेत हेरेर सेयर किन्न सकिन्छ कि भनेर यसको आधारमा रणनीति बनाउन भने सकिन्छ।
बैंकहरूमा खराब कर्जा बढिरहेकाले पनि लगानीकर्ताहरू अहिलेको मूल्यलाई लिएर दुविधामै छन्। एक बैंक (लक्ष्मी सनराइज बैंक) यो अवधिमा नोक्सानमा समेत देखिएको छ।
आगामी निर्वाचन हुन सके यसले बैंकिङ क्षेत्रलाई समेत सुधार गर्दै लैजाने सम्भावना छ। अहिले मुलुक बिग्रियो, अब हामी बनाउँछौं भनिरहेका युवाहरू नै निर्वाचनमा होमिएका छन्। नयाँ मात्र नभई पुराना दलहरूले समेत नयाँ अनुसारलाई उम्मेदवार बनाएका छन्। निर्वाचन भए नयाँ अनुहार वा नयाँ पुस्ता नै राजनीतिमा आउने हुँदा यसले सकारात्मक प्रभाव पार्दै लैजाने विज्ञहरू बताउँछन्।
यसो भए, अहिले बैंकहरूमा कर्जा दिन मिल्ने ११ खर्ब रूपैयाँ हाराहारी रकम लगानी हुन थाल्ने सम्भावना छ। अहिले ब्याजदर पनि कम छ। निर्वाचन भएमा मुलुक अस्थिरताबाट स्थिरतातर्फ जानेछ। यसले लगानीको वातावरणमा समेत सुधार हुँदै जानेछ। बैंकहरूमा रहेको खराब कर्जामा समेत सुधार हुँदै जाने देखिन्छ।
त्यसैले ब्रोकरहरू अहिले बजारमा अवसर र जोखिम दुवै रहे पनि विवेक पुर्याएर लगानी रणनीति बनाउन सुझाव दिन्छन्।
'निर्वाचन हुँदा अवसर छ भने नहुँदा बजारबाट पनि जोखिम हुन सक्छ,' सेयर ब्रोकर प्रियराज रेग्मी भन्छन्, 'तर यस्तो समयमा पनि कम्पनीको वित्तीय अवस्था बुझेर निर्णय लिनु सही हुन्छ। वित्तीय अवस्था नै बेवास्ता गरेर लगानी गर्दा जोखिम हुन्छ नै अनावश्यक डराउँदा पनि आफैलाई घाटा हुन सक्छ।'
|
कम्पनी
|
पुससम्मको प्रतिसेयर नेटवर्थ रूपैयाँ
|
सोमबारको मूल्य रूपैयाँ
|
|
नेपाल इन्भेस्टमेन्ट मेगा बैंक
|
१९४
|
१९०
|
|
नेपाल बैंक
|
२६२
|
२४२
|
|
हिमालयन
|
१७४
|
१८८
|
|
कुमारी
|
१५१
|
१८४
|
|
प्रभु
|
१४६
|
१८४
|
|
सिटिजन्स
|
१४९
|
१९०
|
|
लक्ष्मी सनराइज
|
१६६
|
२०८
|
|
ग्लोबल आइएमई
|
१७५
|
२२४
|
|
माछापुच्छ्रे
|
१६१
|
२२५
|
|
प्राइम
|
१६५
|
२३२
|
|
कृषि विकास बैंक
|
२२४
|
२९५
|
|
सिद्धार्थ
|
२११
|
३७४
|