जेनजी आन्दोलन क्रममा आगजनी र लुटपाट भएको भाटभटेनी सुपरस्टोरको कोटेश्वर शाखा पाँच महिनापछि पूर्ण रूपले सञ्चालनमा आएको छ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते प्रदर्शनकारीहरूले देशभर रहेका भाटभटेनीका २७ शाखामध्ये १२ वटामा आगजनी गरेर ध्वस्त पारेका थिए। त्यस क्रममा कोटेश्वर भाटभटेनीमा एक जनाको जलेर मृत्यु भएको थियो भने चुच्चेपाटीमा ६ जनाको मृत्यु भएको थियो। इटहरीको भाटभटेनीबाट पनि एउटा शव फेला परेको थियो।
जलाइएका भाटभटेनीमध्ये कोटेश्वर शाखा शनिबारबाट सञ्चालनमा आएको हो।। बाँकी ११ वटा शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने गरी काम भइरहेको भाटभटेनी व्यवस्थापन पक्षले जनाएको छ।
कोटेश्वरको भाटभटेनी शाखामा तीन सयभन्दा बढी कर्मचारी कार्यरत थिए। स्टोर पुन: सञ्चालनमा आएपछि ती सबैलाई काममा फर्काइएको स्टोरका म्यानेजर मुना राईले जानकारी दिइन्।
भदौ २४ को हिंसात्मक घटनाबाट देशभर भाटभटेनीका १२ वटा शाखा ध्वस्त भएपछि धेरै कर्मचारी जागिर गुम्ने चिन्तामा थिए। भाटभटेनीका सञ्चालक मीनबहादुर गुरूङले भने एक जना पनि कर्मचारीको जागिर नजाने र सबैलाई नियमित तलब दिने बताएका थिए। नभन्दै विस्थापित सबै कर्मचारीलाई भाटभटेनीले काममा फर्काएको छ।
केही कर्मचारीलाई सञ्चालनमा रहेका शाखाहरूमा खटाइएका छन् भने केहीलाई ध्वस्त संरचनाको सरसफाइमा लगाइएको छ।
'आन्दोलनपछि केही दिनसम्मै भवन जलिरहेको थियो। हामी केही कर्मचारी रातको ११ बजेसम्म यहीँ बस्थ्यौं। धेरै कर्मचारी घरघरमा थिए। स्टोर नै नरहेपछि जागिर गुम्ला कि भन्ने चिन्ता पनि थियो। तर मीनबहादुर (गुरूङ) सरले कसैको पनि जागिर नजाने र पैसा पनि पूरै आउने बताउनुभयो। त्यो सुनेपछि हामी कसैलाई पनि जागिर जाला, तलब नआउला भन्ने चिन्ता भएन,' स्टोर म्यानेजर राईले भनिन्।
त्यस दिनको घटना सम्झँदा अहिले पनि मन कुँडिने उनी बताउँछिन्।
जति बेला भाटभटेनीमा आगजनी गरियो, त्यो बेला मुना सहित सबै कर्मचारी ड्युटीमै थिए। आफूहरूले आगजनी रोक्न सक्दो प्रयास गरे पनि सफल नभएको उनको भनाइ छ।
'हाम्रो आँखै अगाडि सबै ध्वस्त भयो। सक्दो प्रयास गर्दा पनि रोक्न सकेनौं। तर हामीले पाँच महिनामै जलेको स्टोरलाई फेरि सञ्चालनमा ल्याउन सफल भएका छौं,' उनले भनिन्, 'हामीले सिंगो संरचनालाई पुरानै अवस्थामा फर्काएका छौं। पहिलेका सबै सेवासुविधा पाइने व्यवस्था गरेका छौं। अझ बच्चाहरूका लागि अन्तर्राष्ट्रिय स्तरको खेल्ने ठाउँ, खाने सुविधा सहितको फुटकोर्ट पनि थपिएको छ।'
भाटभटेनी शाखा पुन: सञ्चालनमा आएपछि देशभरका कर्मचारीमा काम गर्ने उत्साह थपिएको उल्लेख गर्दै उनले अगाडि भनिन्, 'ग्राहकहरूलाई पहिलेभन्दा राम्रो र व्यवस्थित सेवा दिन हामी प्रतिबद्ध छौं।'
'हामीलाई नयाँ स्टोर कहिले खुल्छ भन्ने भइरहेको थियो। त्यसका लागि सबै कर्मचारीले आ–आफ्नो तर्फबाट सक्दो गरिरहनुभएको थियो,' राईले भनिन्, 'यसबीच हामीले भावनात्मक रूपमा पनि धेरै अनुभव भोग्यौं। त्यसले हामीलाई थप बलियो बनाएको छ। ग्राहकहरूलाई अझ राम्रो सेवा दिएर त्यो घटनाको जबाफ दिनुपर्छ भन्ने हौसला मिलेको छ। त्यसका लागि हामी सबै उत्साहित छौं।'
भाभटेनी सुपर स्टोरले देशभर २७ वटा शाखाबाट झन्डै १० हजार जनालाई रोजगारी दिएको छ। भदौ २४ को घटनामा १२ वटा शाखा ध्वस्त भएपछि अहिले पनि ११ वटा शाखा सञ्चालनमा आएका छैनन्। सञ्चालक गुरूङले ध्वस्त पारिएका बाँकी शाखा पनि छिट्टै सञ्चालनमा ल्याउने बताएका छन्।
उनले गत शनिबार कोटेश्वर शाखा शुभारम्भ गर्दै आगामी दिनमा नेपालमा फेरि भदौ २४ जस्तो दिन नआओस् भन्ने कामना समेत गरेका छन्।
'नेपालमा जुन दुर्घटना भयो, त्यो घटनाको ठूलो सिकार भाटभटेनीले हुनुपर्यो। भाटभटेनीले हिम्मत राखेको छ — जिरो भएको एउटा भाटभटेनी उठ्यो। अब क्रमशः सबै उठ्ने छन्। भाटभेटनी मात्र होइन, नेपाल नै उठ्छ। नेपालीले आफ्नै सिर्जना गर्छ, हामीसँग हिम्मत छ, क्षमता छ,' उनले भने।