नेपाल तेस्रो पटक आइसिसी टी–२० विश्वकप २०२६ का लागि छनोट भएको छ।
ओमानमा भइरहेको आइसिसी विश्वकप २०२६ को एसिया एन्ड इएपी छनोटबाट शीर्ष तीन टोलीभित्र पर्ने पक्का भएसँगै नेपालले अर्को वर्षको फेब्रुअरी–मार्चमा भारत र श्रीलंकामा हुने विश्वकपमा स्थान बनाएको हो।
नेपालले टी–२० विश्वकप क्रिकेट खेल्न लागेको समग्रमा तेस्रो पटक हो भने लगातार छनोट भएको दोस्रो पटक हो।
यसअघि नेपालले सन् २०१४ र २०२४ को टी–२० विश्वकप खेलेको थियो।
नेपालले दुईवटा टी–२० विश्वकपमा कुल सातवटा खेल खेलेको छ। ती सात खेलका नतिजा कस्ता थिए? नेपालका को–को खेलाडीले इतिहास रचेका थिए? आउनुहोस् यसबारे चर्चा गरौं।
सन् २०१४ मा नेपालले विश्वकप छनोट जितेर स्थान पक्का गरेको थियो। एघार वर्षअघिको उक्त विश्वकपमा नेपालले मुख्य चरणमा भने प्रतिस्पर्धा गर्न पाएको थिएन।
छनोट पार गरेका टोली र आइसिसीको तल्लो वरियतामा रहेका टोलीबीच पहिलो चरणमा प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा नेपालले आयोजक बंगलादेशसँगै अफगानिस्तान र हङकङसँग प्रतिस्पर्धा गरेको थियो।
सन् २०१४ को मार्च १८ मा हङकङविरूद्ध खेलेर नेपालले विश्वकपमा डेब्यू गरेको थियो। उक्त डेब्यू खेलमै नेपालले ८० रनको जित निकालेर विश्व क्रिकेट मञ्चमा आफ्नो उत्कृष्ट आगमनको संकेत गरेको थियो।
हङकङविरूद्ध पहिले ब्याटिङ गरेको नेपालले ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो। ब्याटिङमा ज्ञानेन्द्र मल्लले ४८ रन र पारस खड्काले ४१ रन बनाएका थिए।
बलिङतर्फ भने नेपालले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ १७ ओभरमा ६९ रनमै अलआउट भएको थियो। त्यसमा शक्ति गौचनले ३ विकेट लिँदा ९ रन मात्र खर्चिएका थिए। उनी टी–२० विश्वकपमा नेपालका लागि 'प्लेयर अफ दि म्याच' हुने पहिलो खेलाडी हुन्।
वसन्त रेग्मीले पनि ३ विकेट लिएका थिए भने सोमपाल कामीले २ विकेट हात पारेका थिए।
त्यति बेला विश्वकप खेलेका सोमपालले सन् २०२४ पनि विश्वकप खेलेका थिए। अर्को वर्ष भारतमा हुने विश्वकपमा खेल्दा सोमपाल नेपालका लागि तीन पटक विश्वकप खेल्ने एक्ला खेलाडी बन्दैछन्।
सन् २०१४ मा नेपालले दोस्रो खेलमा घरेलु टोली बंगलदेशसँग खेलेको थियो। तर उक्त खेलमा नेपाल ८ विकेटले पराजित भयो।
तेस्रो खेलमा नेपालले अफगानिस्तानविरूद्ध प्रतिस्पर्धा गर्यो। अफगानिस्तानलाई ९ रनको जित निकालेर नेपालले उत्कृष्ट प्रदर्शन गरेको थियो। टेस्ट राष्ट्रको मान्यता पाएको अफगानिस्तानलाई पराजित गरेको त्यो क्षण अहिले पनि धेरै नेपालीले सम्झने गर्छन्।
पहिले ब्याटिङ गरेको नेपालले ओपनर तथा विकेट–किपर सुवास खकुरेलको ५६ रनको मद्दतमा १४१ रन बनाएको थियो। खकुरेल विश्वकपमा नेपालका लागि अर्धशतक प्रहार गर्ने पहिलो ब्याटर बनेका थिए।
नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेटको क्षतिमा १३२ रन बनाएको थियो। अफगानिस्तानलाई अन्तिम २ ओभरमा ३० रन चाहिएको थियो। त्यसमा जितेन्द्र मुखियाले १९औं ओभरमा गरेको बलिङ अहिले पनि नेपाली क्रिकेटप्रेमीलाई रोमाञ्चित बनाउँछ।
तीव्र गतिका बलर मुखियाले उक्त ओभरमा एक विकेट लिँदा ६ रन मात्र दिएका थिए भने कुनै बाउन्ड्री दिएका थिएनन्।
खेलमा योर्कर बल फ्याँकेका कारण नेपाली योर्कर किङको उपनाम पाएका मुखियाले ३ विकेट लिएर १८ रन खर्चिएका थिए। अन्तिम ओभरमा सोमपाल कामीले १ विकेट लिँदा १४ रन खर्चिएका थिए। तर मुखियाले १९औं ओभरमा गरेको बलिङ नै नेपालको जितको आधार बनेको थियो।
यो जितबाट नेपालले घरेलु टोली बंगलादेशलाई दबाब दिएको थियो। अन्तिम खेलमा बंगलादेश हङकङसँग २ विकेटले पराजित भएको थियो। तर नेट रनरेटमा नेपाललाई पछि पारेर बंगलदेश अघिल्लो चरणमा पुगेको थियो।
पहिलो पटक विश्वकप खेलेपछि नेपाललाई दोस्रो पटक विश्वकप खेल्न १० वर्ष कुर्नुपर्यो। नेपालले गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा भएको आइसिसी टी-२० विश्वकप २०२४ मा प्रतिस्पर्धा गरेको थियो।
सन् २०२४ को विश्वकपमा नेपालले २०१४ जसरी पहिलो चरणमा भने खेल्न परेन। नेपालले समूह 'डी' मा दक्षिण अफ्रिका, बंगलादेश, श्रीलंका र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्ने मौका पायो।
सन् २०१४ मा दुई खेलमा जितेर चर्चा बटुलेको नेपालले २०२४ मा कुनै खेल त जित्न सकेन तर पछि फाइनल पुगेको दक्षिण अफ्रिका र बंगलदेशलाई आच्छुआच्छु परेको थियो। यी दुई खेलले क्रिकेट वृत्तमा नेपालले निकै चर्चा बटुल्यो।
त्यसको १० वर्षपछि विश्वकपमा फर्किँदा नेपालले पहिलो खेल अमेरिकाको टेक्सास राज्यस्थित डालासको ग्रान्ड प्रिएरी क्रिकेट रंगशालामा नेदरल्यान्ड्सविरूद्ध खेलेको थियो। यो खेल हेर्न ७ हजार दर्शक रंगशाला पुगेका थिए।
रंगशाला नै नेपाली दर्शकले भरिँदा नेपालले घरेलु मैदान अर्थात् कीर्तिपुरस्थित त्रिवि मैदानमा खेलेजस्तै दृश्य देखिएको थियो। यसले आइसिसीसँगै सारा क्रिकेटप्रेमीको ध्यान खिचेको थियो।
कप्तान रोहित पौडेलले त ग्रान्ड प्रियरीलाई 'अमेरिकाको त्रिवि मैदान' को संज्ञा दिएका थिए। खेलको नतिजा भने नेपालको पक्षमा आउन सकेन। नेपाल ६ विकेटले पराजित भएको थियो।
नेपालले श्रीलंकाविरूद्धको दोस्रो खेल पनि अमेरिकामै खेल्ने तय थियो। अमेरिकाको फ्लोरिडाको सेन्ट्रल ब्रोवार्ड रंगशालामा खेल हेर्न अमेरिकाभरबाट नेपाली समर्थक जम्मा भएका थिए। त्यस दिन बिहानैदेखि वर्षा हुँदा खेल प्रभावित भएको थियो।
खेल हेर्न अमेरिकाभर तथा अरू देशबाट फ्लोरिडा पुगेका हजारौं दर्शकका लागि पनि मौसमले खिन्न बनाएको थियो। केही समर्थक खेल सुरू हुनुभन्दा तीन घन्टा पहिले नै रंगशाला आइपुगेका थिए। तर खेल वर्षाका कारण सम्भव हुन नसक्दा रंगशाला पुगेका हजारौं नेपाली दर्शक खेल नहेरी फर्कन बाध्य भएका थिए।
तेस्रो र चौथो खेलका लागि नेपाल वेस्ट इन्डिजको सेन्ट भिसेन्ट पुगेको थियो। तेस्रो खेल नेपालले दक्षिण अफ्रिकाविरूद्ध खेलेको थियो। त्यसमा नेपालले अन्तर्राष्ट्रिय टी–२० खेलमा टेस्ट राष्ट्रलाई पराजित गर्ने अवसर गुमाएको थियो। अन्तिम बलमा दुई रन जोड्न नसक्दा नेपाल एक रनले पराजित भएको थियो।
११६ रनको सामान्य लक्ष्य पछ्याएको नेपाललाई अन्तिम ओभरमा जितका लागि आठ रन चाहिएको थियो। गुल्सन झा स्ट्राइकमा थिए भने उनीविरूद्ध दक्षिण अफ्रिकाका आर्टनियल बार्टम्यान बलिङमा थिए। पहिलो र दोस्रो बलमा गुल्सनले रन लिएनन्। तेस्रो बलमा वाइड योर्कर बल आए पनि गुल्सनले चौका प्रहार गरे।
चौथो बलमा दुई रन लिएपछि नेपालको पक्षमा खेल आएको थियो। दुई बलमा दुई रन चाहिएको स्थितिमा पाँचौं बलमा गुल्सनले रन लिन सकेनन्। अन्तिम बलमा दुई रन लिए जित र एक रन बनाए सुपर ओभर हुने स्थितिमा गुल्सन एक रन लिने क्रममा रनआउट हुन पुगे। अनि नेपाली खेलाडी तथा समर्थक स्तब्ध भए।
खेलको अधिकांश बलमा नेपाल हाबी भए पनि नेपालले अन्तिम एक बलको 'ब्याटल' गुमाएको थियो। अन्तिम बलकै 'ब्याटल' गुमाउदा खेल पनि नेपालको पक्षमा आउन सकेन।
त्यसअघि नेपालले उत्कृष्ट बलिङ गर्दा दक्षिण अफ्रिकाले ७ विकेटको क्षतिमा ११५ रन मात्र जोड्न सकेको थियो। दक्षिण अफ्रिका लागि ओपनर रिजा हेनरिक्सले सबभन्दा बढी ४३ रन जोडे। दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दा कुशल भुर्तेलले पनि साथ दिएका थिए। ऐरीले ४ ओभरमा २१ रन खर्चिँदा ३ विकेट लिए भने ४ ओभरमा १९ रन खर्चिँदा ४ विकेट लिन सफल भएका थिए।
सन् २०२४ को अन्तिम खेलमा नेपालले बंगलादेशविरूद्ध खेलेको थियो।
उक्त खेलमा नेपालले बंगलदेशलाई कडा टक्कर दिएको थियो। नेपालले बंगलादेशलाई १९.३ ओभरमा अल आउट गरी १०६ रनमै समेटेको थियो। जबाफी ब्याटिङ गरेको नेपालको ब्याटिङ भने राम्रो हुन सकेन।
सम्हालिएर ब्याटिङ नगर्दा नेपाल ४ बल खेल्न बाँकी छँदै ८५ रनमा अलआउट भएर २१ रनले पराजित भयो।
***