फिन एलेनले टी-२० विश्वकपमा बनाएको कीर्तिमानी ब्याटिङले न्युजिल्याण्ड फाइनलमा पुगेको छ। दक्षिण अफ्रिकामाथि नौ विकेटको जितसँगै विभिन्न रेकर्ड बनेका छन्।
न्युजिल्याण्डका ओपनिङ ब्याटर फिन एलेनले दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनल खेलमा विस्फोटक ब्याटिङ गर्दै क्रिकेट इतिहासमा धेरै नयाँ कीर्तिमानहरू कायम गरेका छन्।
१. विश्वकपको सबैभन्दा छिटो शतक
फिन एलेनले कोलकातामा भएको सेमिफाइनलमा दक्षिण अफ्रिकाविरुद्ध मात्र ३३ बलमा शतक पूरा गरे। यो पुरुष टी-२० विश्वकप इतिहासकै सबैभन्दा छिटो शतक हो। उनले क्रिस गेलको ४७ बलको पुरानो रेकर्डलाई १४ बलले पछि पारेका छन्।
२. महिला र पुरुष दुवैमा कीर्तिमान
एलेनको यो शतक पुरुष र महिला दुवै टी-२० विश्वकपमा सबैभन्दा छिटो हो। यसअघि महिलातर्फ वेस्ट इन्डिजकी डिएन्ड्रा डोटिनले ३८ बलमा शतक बनाएकी थिइन्।
३. न्युजिल्याण्डका लागि नयाँ रेकर्ड
यो न्यूजिल्याण्डका लागि पनि टी-२० अन्तर्राष्ट्रियमा सबैभन्दा छिटो शतक हो। यसअघि ग्लेन फिलिप्सले ४६ बलमा शतक बनाएका थिए। साथै, फिन एलेन न्युजिल्याण्डका लागि टी-२० मा ३ वटा शतक प्रहार गर्ने कोलिन मुन्रोसँगै पहिलो खेलाडी बनेका छन्।
४. नकआउट खेलमा पहिलो शतक
टी-२० विश्वकपको इतिहासमा सेमिफाइनल वा फाइनल (नकआउट) खेलमा शतक बनाउने फिन एलेन पहिलो खेलाडी बनेका छन्। यसअघि श्रीलंकाका तिलकरत्ने दिलशानको ९६ रन उच्च स्कोर थियो।
५. बाउन्ड्री र छक्काको वर्षा
• अर्धशतक: एलेनले मात्र १९ बलमा अर्धशतक पूरा गरे, जुन विश्वकपको नकआउट खेलमा सबैभन्दा छिटो हो।
• बाउन्ड्री: उनले आफ्नो इनिङ्समा १८ चौका र छक्का प्रहार गरे, जसले ब्रेन्डन म्याकुलमको रेकर्ड बराबरी गर्यो।
• छक्का: यसै विश्वकपमा एलेनले कुल २० वटा छक्का प्रहार गरिसकेका छन्, जुन एउटै विश्वकपमा कुनै पनि ब्याटरले हानेको सबैभन्दा धेरै छक्का हो।
६. ओपनिङ जोडीको कमाल
फिन एलेन र टिम सेफर्टले यस विश्वकपमा कुल ४६३ रनको साझेदारी गरे। यो कुनै पनि एउटा टी-२० सिरिज वा प्रतियोगितामा कुनै पनि जोडीले बनाएको सबैभन्दा धेरै रन हो।
७. न्युजिल्याण्डको ऐतिहासिक जित
• टी-२० विश्वकपको इतिहासमा न्यूजिल्याण्डले दक्षिण अफ्रिकालाई पहिलो पटक हराएको हो। यसअघिका पाँचै भेटमा न्यूजिल्याण्ड पराजित भएको थियो।
• न्यूजिल्याण्डले पावरप्ले (पहिलो ६ ओभर) मा बिना क्षति ८४ रन बनायो, जुन विश्वकपको नकआउट खेलमा अहिलेसम्मकै उच्च स्कोर हो।
८. दक्षिण अफ्रिकाको प्रदर्शन
दक्षिण अफ्रिकाका मार्को जेन्सेनले तल्लो क्रममा ब्याटिङ गर्दै ५५ रन बनाए, जुन उनको टोलीका लागि सातौँ नम्बर वा सोभन्दा मुनिको ब्याटिङमा उत्कृष्ट स्कोर हो। तर, दक्षिण अफ्रिकाको लगातार ७ खेलको जितको यात्रा यो हारसँगै टुङ्गिएको छ।