आइसिसी टी-२० विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा घरेलु टोली भारतले इंग्ल्यान्डलाई २५४ रनको विशाल लक्ष्य दिएको छ।
मुम्बईको वानेखेडे र्शगालामा टस जितेको इंग्ल्यान्डले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा २५३ रनको विशाल योगफल खडा गर्यो।
भारतका लागि ओपनिङ ब्याटर सन्ज सामसनले ८९ रनको महत्वपूर्ण इनिङख खेले। उनले ४२ बलमा ८ कचौका र ७ छक्का प्रहार गरेका थिए।
अभिषेक शर्मा ९ रनमा आउट हुँदा इशान किशनले १८ बलमा ४ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए। शिवम दुबेले ४३ रन (२५ बल) बनाउने क्रममा १ चौका र ४ छक्का प्रहार गरे।
कप्तान सूर्यकुमार यादव ११ रन रनमा आउट हुँदा हार्दिक पाण्ड्याले १२ बलमा ३ चौका र २ छक्का प्रहार गर्दै २७ रन जोडे। तिलक बर्माले ७ बलमा ३ छक्का प्रहार गर्दै २१ रन बनाए।
सन्जु सामसन र इशान किशनबीच दोस्रो विकेटका लागि ९७ रन (४५ बल) साझेदारी हुँदा भारतको रनले गति लिएको थियो।
बलिङमा इंग्ल्यान्डका विल ज्याक्स र आदिल राशिदले २-२ विकेट लिए। जोफ्रा आर्चरले १ विकेट लिए पनि महँगो सावित भए। उनले ४ ओभरमा ६१ रन खर्चिएका थिए।
यो खेलको विजेताले उपाधिका लागि आइतबार न्युजिल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।