न्युजिल्याण्ड क्रिकेट टोलीका पूर्वकप्तान रोस टेलरले ४१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्ने भएका छन्। यद्यपी उनले न्युजिल्याण्डबाट पुनरागमन गर्न लागेका भने होइनन्।
सन् २०२६ को टी-२० विश्वकपका लागि ओमानमा हुने एसिया-इस्ट एसिया-प्यासिफिक क्वालिफायरमा टेलरले सामोआका लागि खेल्नेछन्। सामोआले यसअघि भानुआटु, कुक आइल्याण्ड्स र फिजीलाई हराएर क्वालिफायरमा स्थान बनाएको थियो।
टेलरलाई सामोआले १५ सदस्यीय टोलीमा समावेश गरिएको छ।
सामोओको कप्तानी कालेब जासमाटले गर्नेछन्। टेलरले नयाँ अवसरका लागि आफू उत्साहित रहेको र आफ्नी आमाको जन्मभूमि देशको प्रतिनिधित्व गर्न पाउनु ठूलो कुरा भएको बताएका छन्। उनले आफ्नो आमाको समुदायलाई सधैं केही न केही तरिकाले सहयोग गर्न चाहेको पनि उल्लेख गरेका छन्।
टेलरले सन् २०२० को नोभेम्बरमा अन्तिम पटक टी-२० अन्तर्राष्ट्रिय खेलेका थिए र सन् २०२३ को डिसेम्बरपछि कुनै प्रतिस्पर्धी क्रिकेट खेलेका छैनन्। ४१ वर्षका टेलरले उमेर हिसाबले पहिले जस्तो फिट नभए पनि सामोआका लागि राम्रो प्रदर्शन गर्ने आशा व्यक्त गरे।
टोलीमा टेलरका साथै न्युजिल्याण्डका अनुभवी खेलाडी ३२ वर्षीय सिन सोलिया पनि सामेल छन्। ब्याटिङ लाइनअपमा डेरियस भिस्सर जस्ता खेलाडी पनि छन्, उनले भानुआटुका नलिन निपिकोविरुद्ध एकै ओभरमा ६ छक्कासहित ३९ रन बनाएर रेकर्ड बनाएका थिए।
क्वालिफायरमा सामोआ, पपुवा न्यू गिनी र जापानले इस्ट एसिया-प्यासिफिक क्षेत्रको प्रतिनिधित्व गर्नेछन् भने ओमान, नेपाल, कुवेत, मलेसिया, कतार र यूएई अन्य प्रतिस्पर्धी देशहरू हुनेछन्। पहिलो चरणमा समोआले पापुवा न्युगिनी र ओमानसँग खेल्नेछ।
ओमानमा ८ अक्टोबरदेखि हुने छनोटमा नेपालले पहिलो चरणमा जापान र कुवेतसँग खेल्नेछ। तीन समूहका शीर्ष दुई दुई टिम गरी छ टोलीबीच हुने सुपर-६ का शीर्ष तीन टोली अर्को वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा पुग्नेछन्। सुपर-६ मा कुनै एक टोलीले अर्को दुई समूहबाट आएका चार टोलीसँग प्रतिस्पर्धा गर्नेछ। यो अवस्थामा सामोआ र नेपालले आफ्नो समूहका शीर्ष स्थान हात पारे सुपर-६ मा एकअर्काविरूद्ध खेल्न सक्नेछन्।