एसिसी यू-१९ एसिया कपमा नेपालले समूहमा सबै खेल गुमाएको छ। दुबईमा भएको प्रतियोगिताको समूह ‘बी’ नेपालले तेस्रो खेलमा बुधबार अफगानिस्तानसँग ६ विकेटको हार ब्यहोरेको हो।
यसअघि नेपालले श्रीलंका र बंगलादेशसँग लगातार पराजय भोगेपछि समूह चरणबाटै बाहिरिएको थियो।
दुबईमा नेपालले दिएको १२५ रनको लक्ष्य अफगानिस्तानले २६.५ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो।
अफगानिस्तानका लागि ओपनर उस्मान सादतले २८ रन र उजारूल्लाह निजाइले ६१ रन बनाए।
बलिङमा नेपालका अभिषेक तिवारीले २ विकेट लिए भने विपिन शर्मा र चन्दन रामले १-१ विकेट हात पारे।
त्यसअघि टस जितेको अफगानिस्तानले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपाल ४६.४ ओभरमा १२४ रनमा अलआउट भयो।
नेपालका लागि दिलसाद अलीले ३२ रन बनाए। उनले ६८ बल खेलेर चार चौका प्रहार गर्न सके।
अभिषेक तिवारीले २० रन तथा चन्दन रामले २७ रन बनाए। रामले १० बलमा १ चौका र २ छक्का प्रहार गरे।
बलिङमा अफगानिस्तानका नूरिस्तानी ओर्माजाइ र सलाम खानले ३-३ विकेट लिए।