इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ का लागि भएको मिनी अक्सनमा भारतका तीन जना अनक्याप्ड (राष्ट्रिय टोलीबाट नखेलेका) खेलाडी करोडौंमा बिक्री भएका छन्।
चेन्नई सुपर किंग्सले दुई जना अनक्याप्ड खेलाडीका लागि १४ करोड २० लाख भारू खर्च गरेको छ।
चेन्नईले उत्तर प्रदेशका बायाँ हाते स्पिनर प्रशान्त वीरका लागि १४ करोड २० लाख भारु खर्च गरेको छ। २० वर्षीय बलिङ अलराउन्डर प्रशान्तले पछिल्लो समय भारतको घरेलु टी-२० प्रतियोगिता मुस्ताक अली ट्रफी खेलेका थिए।
यस्तै चेन्नईले राजस्थानका विकेटकिपर ब्याटर कार्तिक शर्माका लागि पनि १४ करोड २० लाख भारू खर्च गरेको छ। १९ वर्षीय शर्माले अहिलेसम्म १२ वटा मात्र टी-२० खेलेका छन्।
यता दिल्ली क्यापिटल्सले अक्युब नाबीलाई ८ करोड ४० लाखमा भित्र्याएको छ। जम्बु काश्मिरका बलर नाबीले तल्लो क्रममा आक्रामक ब्याटिङ गर्नका लागि चिनिन्छन्। २९ वर्षीय नाबीले ४३ टी-२० खेल खेलेका छन्। जसमा उनले ४३ विकेट लिएका छन्।
यी तीन खेलाडी अहिलेसम्म बिक्री भएका शीर्ष पाँच खेलाडीको तेस्रो, चौथो र पाँचौ स्थानमा छन्। शीर्ष दुई स्थानमा कोलकताले भित्र्याएका दुई खेलाडी क्यामरन ग्रिन (२५.२० करोड भारु) र माथीशा पाथिराना (१८ करोड भारू) छन्।