घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपालले दोस्रो जित निकालेको छ।
बिहीबार स्कटल्यान्डको ग्लास्गोमा भएको खेलमा नेपालले नेदरल्यान्ड्सलाई ६ विकेटले पराजित गर्यो।
जितसँगै तीन खेलबाट चार अंक जोड्दै नेपाल अंक तालिकको शीर्ष स्थानमा उक्लियो। चार खेलबाट चार अंक जोडेको नेदरल्यान्ड्स दोस्रो स्थानमा झर्यो। अन्तिम खेलअघि घरेलु टोली स्कटल्यान्डको २ अंक छ। अब नेपाल र स्कटल्यान्डबीच शुक्रबार अन्तिम खेल हुनेछ।
बिहीबार नेदरल्यान्ड्सले दिएको १७५ रनको लक्ष्य नेपालले २ बल खेल्न बाँकी छदा पूरा गर्यो।
अन्तिम ओभरमा लोकेश बमले पहिलो बल र चौथो बलमा छक्का हानेर जिताए। दीपेन्द्रसिंह ऐरीले १२ बलमा नटआउट १६ रन जोडे। उनले सबै रन चौका र छक्का नहनी दौडिएर ल्याए। दीपेन्द्र लगातार दुई लिन दौडिदा आरिफ शेख १९औं ओभरमा रिटायर्ड आउट हुन बाध्य भए। आरिफले त्यसअघि २३ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३९ रन बनाए।
ओपनर कुशल भुर्तेलले जोडेको ६५ रन नेपालको जितको आधार बन्यो। उनले ५१ बलमा ६ चौका प्रहार गरे। आसिफ शेख ७ रन र कप्तान रोहित पौडेल ५ रनमा आउट हुँदा भीम सार्कीले १६ बलमा २७ रन बनाए।
त्यसअघि स्कटल्यान्डको ग्लास्गोमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ७ विकेटको क्षतिमा १७४ रन जोड्यो।
नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले ८६ रन जोडे। उनले ५३ बलमा ६ चौका र ५ छक्का प्रहार गरे। त्यसपछिका चार ब्याटरले भने दोहोरो अंकमा रन जोड् नसकेनन्।
ओपनिङ ब्याटर विक्रमजित सिंह शून्य, ज्याच लायन ६ रन, कप्तान स्कट इडवार्ड २ रन र नाओ क्रोएस ५ रनमा आउट भएका थिए। उसले पावरप्लेमा ४ विकेट गुमाउँदा ४५ रन जोडेको थियो।
तर अन्त्यतिर भान डेर मार्वीले बिस्फोटक ब्यटिङ गरे। उनले २१ बलमा ४ चौका र १ छक्काको मद्दतमा नटआउट ३६ रन बनाए। आर्यन दत्तले १८ बलमा नटआउट १७ रन बनाए।
बलिङमा नेपालका करण केसीले २ विकेट लिए भने सन्दीप लामिछाने, रुपेश सिंह, ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट हात पारे।
सिरिजका यसअघिका दुई खेलमा नेपालले एक जित र एक हार ब्यहोरेको थियो। नेपालले घरेलु टोली स्कटल्यान्डलाई हराउँदा नेदरल्यान्ड्ससँग तीन वटा सुपर ओभर खेलेर पराजय भोगेको थियो।