पूर्वराष्ट्रपति विद्या भण्डारीको घरमा आगजनी गरेको भनी केही दिनअघि पक्राउ परेका सोनाम थेबे 'चक्रे मिलन' भनिने मिलन गुरूङ निकट रहेको खुलेको छ।
प्रहरीले पूर्वराष्ट्रपति भण्डारीसहित अन्य व्यक्तिहरूको घरमा आगजनी गरेको आरोपमा थेबेलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
उनी आपराधिक पृष्ठभूमि रहेका चक्रे मिलनसँग नजिकको मानिस रहेको प्रहरी स्रोतले बतायो।
'पहिलेको गुण्डा नै हुन्। चक्रे मिलनको एकदमै नजिकैको मानिस हो,' उनले भने, 'आपराधिक पृष्ठभूमिका विवरणहरू निकाल्न पाइसकेका छैनौं।'
उनी नेकपा एमाले निकट रहेको पनि स्रोत बताउँछ।
एमालेको भ्रातृ संगठन युवा संघले भने उनी कुनै पनि तहको जिम्मेवारीमा संलग्न नरहेको बताएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सोनाम चार दिनदेखि हिरासतमा छन्। उनले अन्य व्यक्तिहरूको घरमा पनि आगजनी गरेको सिसिटिभी भिडिओहरूमा देखिएको प्रहरीले जनाएको छ।
भदौ २४ गते आन्दोलन क्रममा सरकारी, निजी संरचना निवाससँगै थुप्रै नेताहरूको घरमा आगजनी र तोडफोड भएको थियो।
प्रहरीले सिसिटिभी फुटेज, तस्बिर लगायत प्रमाणका आधारमा आगजनी र तोडफोडमा संलग्नहरूलाई पक्राउ गरेर अनुसन्धान थालेको गरिरहेको छ।