नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने हङकङ क्रिकेट सिक्सेसका लागि राष्ट्रिय टोली घोषणा गरेको छ।
प्रतियोगिताका लागि शरद भेसवाकरले कप्तानी गर्ने क्यानको भनाइ छ। यो प्रतियोगितापछि भेसवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने क्यानले जनाएको छ।
‘नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिममा लामो समयदेखि योगदान दिँदै आउनु भएका राष्ट्रिय क्रिकेट खेलाडी शरद भेसवाकरले यस प्रतियोगितामा नेपालको कप्तानको रूपमा टिममा नेतृत्व गर्नुहुनेछ भने प्रतियोगिता पश्चात् उहाँले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कार्यक्रम रहेको व्यहोरा समेत जानकारी गराउन चाहन्छौ,’ क्यानको भनाइ छ।
टोलीमा भेसवाकरसँग सन्दीप जोरा, आदिल अन्सारी, लोकेश बम, बसिर अहमद, रशिद खान र रुपेशकुमार सिंह रहेका छन्।
यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ। यो समूहमा अफगानिस्तान र दक्षिण अफ्रिका छन्। शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन्।
समूह ‘बी’ मा अस्ट्रेलिया, इंग्ल्यान्ड र युएई छन्। समूह ‘सी’ मा भारत, कुवेत र पाकिस्तान, समूह ‘डी’ मा बंगलदेश, हङकङ र श्रीलंका छन्।
नेपालले पहिलो खेल अफगानिस्तानसँग नोभेम्बर ७ र दोस्रो दक्षिण अफ्रिकासँग नोभेम्बर ८ मा हुनेछ।