नेदरल्यान्ड्सविरूद्धको टी-२० खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ। नेपाल र नेदरल्यान्ड्सबीचको खेल स्कटल्यान्डको ग्लास्गोमा राति पौने आठ बजे सुरू हुनेछ।
घरेलु टोली स्कटल्यान्ड, नेपाल र नेदरल्यान्ड्सबीचको यो सिरिजको पहिलो खेलमा घरेलु टोली स्कटल्यान्ड्सले नेदरल्यान्ड्सलाई आइतबार पराजित गरेको थियो।
खेलमा ब्याटर किरणकुमार ठगुन्ना र अलराउन्डर रुपेश सिंहले टी-२० खेलमा डेब्यू गर्दैछन्। दुवैले टी-२० टोलीमा स्थान बनाए लगत्तै प्लेइङ-११ मा पनि स्थान पाएका छन्। यस्तै टी-२० टोलीकै लागि परेका लोकेश बम पनि नेदरल्यान्ड्सविरूद्ध मैदान उत्रिदैछन्।
नेपाली टोली – कुशल भुर्तेल, लोकेश बम, अनिल साह (विकेटकिपर), रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी, किरणकुमार ठगुन्ना, रुपेश सिंह, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी
नेपाल र नेदरल्यान्ड्सबीच टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिलेसम्म १३ खेलमा प्रतिस्पर्धा भइसकेको छ। जसमा नेपालले ५ खेल जित्दा ७ खेलमा नेदरल्यान्ड्स विजयी भएको छ। एक खेलमा नजिता आएको छैन।
पछिल्लो पटक नेपाल र नेदरल्यान्ड्सबीच गत वर्षको टी-२० विश्वकपमा प्रतिस्पर्धा भएको थियो। अमेरिकाको डलासमा भएको खेलमा नेदरल्यान्ड्सले नेपाललाई ६ विकेटले पराजित गरषेको थियो।
यो सिरिज आइसिसी विश्वकप २०२६ को छनोटका लागि तयारीको रुपमा नेपालले लिएको छ। एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका लागि यसअघि नै तयारी थालेको थियो। यसअघि नेपालले गत चैतमा हङकङमा भएको चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो।
जुलाईमा नेपाली टोलीले टी-२० विश्वकप छनोटकै तयारीका लागि भनेर श्रीलंका भ्रमण गर्ने कार्यक्रम सार्वजनिक भएको थियो। वर्षातको समय छल्न नेपाली टोली श्रीलंकामा गएर तयारी गर्ने क्यानको भनाइ छ।
त्यसपछि नेपाली टोली अस्ट्रेलिया पुग्नेछ। अस्ट्रेलियामा अगस्टमा नेपालले पाकिस्तान र बंगलादेशको ए टोलीसहित बिग ब्यासका खेलाडी सम्मिलित टोलीसँग अभ्यास खेल खेल्नेछ।
सेप्टेम्बरमा नेपाली टोली विश्वकपको तयारी गर्नका लागि युएई जानेछ। युएईमा नेपालले टेस्ट वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्नेछ।
त्यसपछि नेपालले अक्टोबरमा ओमानमा हुने विश्वकप छनोटमा प्रतिस्पर्धा गर्नेछ।
टी-२० विश्वकप २०२६ को एसिया र इस्ट एसिया प्यासिफिकको अन्तिम छनोट अक्टोबर १ देखि ओमानमा हुँदैछ। प्रतियोगितमा नेपालसहित नौ टोलीले भाग लिँदैछन्। भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्युगिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दैछन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलंकामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२६ मा पुग्नेछन्।