आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा नेपाली टोलीले अहिले नेदरल्यान्ड्सविरूद्ध खेल्दैछ।
स्कटल्याण्डको डुन्डीस्थित फोर्टहिल क्रिकेट मैदानमा नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ रोजेको छ। पहिले ब्याटिङ गर्ने नेपाली टोलीमा तीन परिवर्तन गरिएको छ।
आजको खेलमा अनिल साह, बसिर अहमद र नन्दन यादवले खेल्दैछन्। विकेटकिपर एवं ओपनिङ ब्याटर आसिफ शेख, गुल्शन झा र सोमपाल कामी आजको टोलीमा छैनन्।
नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेल, दीपेन्द्रसिंह ऐरी, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, आरिफ शेख, नन्दन यादव, करण केसी, सन्दिप लामिछाने र ललित राजवंशी छन्।
पछिल्लो खेलमा नेपाल स्कटल्याण्डसँग दुई रनले पराजित भएको थियो। त्यसअघि नेपालले स्कटल्यान्डलाई एक र नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
नेदरल्यान्ड्स स्कटल्यान्डसँग ४४ रनले पराजित भएको थियो। नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ। नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ।
विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ। यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ।