नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ (क्यान) अन्तर्गतको केन्द्रीय सम्झौतामा नबस्ने घोषणा गरेका छन्।
उनले नेपाली टोली आइसिसी विश्वकप लिग-२ का लागि युके जानुअघि सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफू क्यानको केन्द्रीय सम्झौतामा नरहने बताएका हुन्।
उनले यो कदम क्रिकेट र देशबाट अलग हुने कुरा नभएको पनि बताएका छन्। उनले निरन्तर सहयोगका लागि क्यानलाई धन्यवाद दिएका छन्।

सन्दीप क्यानको केन्द्रीय सम्झौतामा रहेका ३३ पुरुष खेलाडीमध्येका एक हुन्। उनी ‘ए’ ग्रेडमा रहेका पाँच खेलाडीमा रहेका थिए।यो ग्रेडका खेलाडीको तलब मासिक एक लाख रूपैयाँ छ।
ग्रेडमा सन्दीपसहित रोहितकुमार पौडेल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आशिफ शेख छन्।
पछिल्लो समय क्यानप्रति सन्दीप सन्तुष्ट भने छैनन्। उनले आफू सन्तुष्ट भएको संकेत दिने खेलका पोस्टहरु गर्दै आएका थिए।
गएको माघमा उनलाई क्यानले अनुशासनको कारबाही गरेको थियो। क्यानको आचारसंहिताविरूद्ध फेसबुकलगायत सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई तीन डिमेरिट अंक दिने निर्णय गरेकोथियो। यसको अर्थ क्यानले आयोजना गर्ने प्रतियोगितामा लामिछानेलाई एक खेल खेल्नबाट प्रतिबन्ध गरिएको हो। तर त्यसपछि उनले कुनै पनि घरेलु क्रिकेट खेलेका छैनन्।
म्याच रेफ्री र टेक्निकल कमिटीको निर्णयअनुसार उनलाई कारबाही गरिएको थियो। उनले क्यानको आचारसंहिताको २.७ को उल्लङ्घन गरेको पाइएकाले खेलमा प्रतिबन्ध (तीन डिमेरिट अंक दिने) लगाउने निर्णय गर्दै स्पष्टीकरणसमेत सोधिएको थियो
सन्दीपले माघ पहिलो साता सकिएको जय ट्रफी एलिट कपमा अम्पायरको निर्णयमा असन्तुष्टि जनाउँदै सामाजिक सञ्जालमा लेखेका थिए।
सन्दीपले जय ट्रफीमा बागमती प्रदेशको कप्तानी गरेका थिए। जनकपुरमा पुस २५ गते त्रिभुवन आर्मी क्लबविरूद्ध भएको खेलको विषयमा अम्पायरले गलत निर्णय गरेको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए।
खेलमा बागमतीका शुभ कंसाकार आउट भएलगत्तै दिनको खेल सकिएको घोषणा गरेको विषयमा सन्दीपले आपत्ति जनाएका थिए। खेलको अम्पायर विनयकुमार झा र हिरालाल राउत थिए।
विकेट लिएको पनि अंक जोडिने हुँदा आफ्नो विकेट गुमेपछि दिनको खेल समाप्ति घोषणा गर्दा उनले असन्तुष्टि पोखेका थिए भने मैदानमा अम्पायरहरूसँग वादविवाद गरेका थिए।
खेलको भोलिपल्ट उनले नेपालमा अम्पायरको स्तर सुधार हुन नसकेको, अम्पायरको विषयमा कदम नचालिए गलत निर्णय हुने र खेलाडीहरू पीडित बन्ने भनेर लेखेका थिए।
त्यसपछि म्याच अम्पायर र प्राविधिक समितिले सन्दीपले अनुशासन उल्लङ्घन गरेको भन्दै उनलाई तीन डिमेरिट अंक दिएका थिए। त्यसमा उनले असन्तुष्टि जनाएका थिए।
नियमअनुसार अम्पायरको निर्णय चित्त नबुझे लामिछानेले क्यान र टेक्निकल कमिटीमा अपिल गर्न पाउँछन्।
पछिल्लो समय सन्दीपले समाजिक सञ्जालमा सन्दर्भ प्रष्ट नहुने खालका पोस्टसमेत गर्ने गरेका छन्।
क्यानले स्पष्टीकरण सोध्दै एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेपछि सन्दीपले त्यतिबेला आफ्ना समर्थकलाई धन्यवाद दिएका थिए।
संसारभरका फ्रेञ्चाइज क्रिकेट लिग खेलेर चर्चा कमाएका सन्दीपले गत वर्षको जेठमा उच्च अदालत पाटनबाट बलात्कार कसुरमा सफाइ पाएका थिए।
त्यसअघि २०८० को पुसमा भने जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।
उच्च अदालतबाट सफाइ पाएपछि क्रिकेटमा आफ्नो पुरानो लय फर्काउने कोसिसमा रहेका सन्दीपले मैदानमा राम्रो प्रदर्शन गर्न सकेका छैनन्।
नेपाल प्रिमियर लिग (एनपिएल) मा उनले विराटनगर किंग्सको कप्तानी गरेका थिए। तर घरेलु फ्रेञ्चाइज प्रतियोगितामध्ये एनपिएल सन्दीपका लागि सबैभन्दा खराब बनेको थियो।
गत माघमा लामिछानेको अप्रेसन गरिएको थियो। उनको राइट डाइरेक्ट इङ्गुइनल हर्नियाको टोटल एक्स्ट्रा पेरिटोनियल (मास रिपेयर) गरिएको थियो। त्यसपछि आराम गरेका सन्दीपले नयाँ प्रशिक्षक स्टुअर्ट लले सञ्चालन गरेको कोर क्याम्पमा राम्रो प्रदर्शन गरेका थिए भने चार टोलीमध्ये एकको कप्तानी गरेका थिए।
क्यानले त्यसपछि रोहितकुमार पौडेलको कप्तानीमा टोली घोषणा गर्दा दीपेन्द्रसिंह ऐरी उपकप्तानको जिम्मेवारीमा फर्किएका थिए।
क्यानले यसअघि तत्कालिन कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान ऐरीलाई सेतोपाटीसँग गरेको कुराकानीको आधाारमा स्पष्टीकरण सोध्दै जिम्मेवारी खोसेको थियो। त्यसपछि सन्दीपलाई कप्तान बनाएको थियो।
पूर्वकप्तान सन्दीपलाई पनि यसपटक कुनै नेतृत्वको भूमिका दिइएको छैन। अदालतबाट सफाइ पाएपछि उनले स्वभाविक रुपमा नेतृत्वको मनासाय राखेका हुन सक्छन्। यसबाट पनि उनमा असन्तुष्टि बढेको देखिन्छ।