सीमावर्ति भारतीय राज्य बिहारमा अबको १० दिनपछि विधानसभा निर्वाचन हुँदैछ।
२४३ सदस्यीय बिहार विधानसभा निर्वाचन दुई चरणमा हुनेछ। पहिलो चरणको मतदान नोभेम्बर ६ (कात्तिक २० गते) मा र दोस्रो चरणको मतदान नोभेम्बर ११ (कात्तिक २५) मा हुनेछ।
मतगणना नोभेम्बर १४ (कात्तिक २८) मा हुनेछ। बिहारमा ७ करोड ४२ लाख मतदाता छन्।
अरू विभिन्न कारणसँगै यसपालिको बिहार विधानसभा निर्वाचन एउटा कारणले महत्त्वपूर्ण छ — यसपालि नौ पटक मुख्यमन्त्री भइसकेका ७४ वर्षीय नितिश कुमारलाई चुनौती दिँदै छन्, ३५ वर्षका युवा नेता तेजस्वी यादवले।
राष्ट्रिय जनता दल (आरजेडी) नेतृत्वको 'महागठबन्धन' ले तेजस्वीलाई भावी मुख्यमन्त्री घोषणा गरेको हो।
बिहारका बहुचर्चित नेता लालुप्रसाद यादवका कान्छा छोरा तेजस्वी पछिल्लो समय बिहारको प्रतिपक्षी दल आरजेडीका नेता हुन्।
यो गठबन्धनमा कंग्रेस, भारतीय कम्युनिस्ट पार्टी, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी), कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) र विकासशील इन्सान पार्टी सामेल छन्।
अर्कातिर, भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको 'एनडिए' गठबन्धनले जनता दल (युनाइटेड) का नितिश कुमारलाई आफ्नो तर्फबाट भावी मुख्यमन्त्री घोषणा गरेको छ।
उनी पछिल्लो पटक महागठबन्धन त्यागेर भाजपाकै समर्थनमा नवौं पटक मुख्यमन्त्री बनेका थिए। पटक पटक गठबन्धन फेरिरहने भएकाले उनलाई विपक्षीहरू 'पल्टुराम' भन्छन्।
यसबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार कर्पुरीग्रामबाट बिहार विधानसभा चुनावको औपचारिक प्रचार अभियान सुरू गरेका छन्।
उनले नितिश कुमारलाई भावी मुख्यमन्त्री घोषणा गर्दै भनेका थिए, 'नितिश कुमारको नेतृत्वमा रहेको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले यसपटक अभूतपूर्व जित हासिल गर्नेछ।'
नौ पटक मुख्यमन्त्री भइसकेका राजनीतिका पुराना खेलाडी नितिश कुमारलाई टक्कर दिन लागेका तेजस्वी यादवको यो तेस्रो विधानसभा चुनाव हो।
उनी दोस्रो पटक मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न लागेका हुन्।
तेजस्वीले आफ्नो राजनीतिक करिअर सन् २०१० मा सुरू गरेका थिए। उनी त्यति बेला आफ्ना बुबा लालुप्रसाद यादवका लागि आरजेडीको चुनाव प्रचारमा सामेल भएका थिए।
त्यसपछि सन् २०१५ मा उनी पहिलो पटक राघोपुर निर्वाचन क्षेत्रबाट बिहार विधानसभा सदस्य निर्वाचित भए।
त्यही चुनावपछि नितिश कुमार र लालु यादवबीच गठबन्धन बनेको थियो, जसलाई 'महागठबन्धन सरकार' भनिन्थ्यो।
तेजस्वी उक्त सरकारमा उपमुख्यमन्त्री बनेका थिए। त्यति बेला उनी २६ वर्षका थिए र बिहारको इतिहासकै सबभन्दा कान्छा उपमुख्यमन्त्री थिए। उनले सार्वजनिक निर्माण, वन तथा वातावरण मन्त्रालय पनि सम्हालेका थिए।
सन् २०१८ मा लालु यादव भ्रष्टाचार मुद्दामा जेल परेपछि तेजस्वीले आरजेडीको नेतृत्व सम्हाले।
सन् २०२० को बिहार विधानसभा चुनावमा उनी महागठबन्धनबाट मुख्यमन्त्री उम्मेदवारका रूपमा मैदानमा ओर्लिएका थिए। गठबन्धनले २४३ सिटमध्ये ११० सिट जित्यो, जसमा आरजेडी एक्लैले ७५ सिटमा विजय हासिल गर्यो।
बिहार विधानसभामा बहुमत ल्याउन १२२ सिट चाहिन्छ। न्यूनतम संख्या नपुग्दा गठबन्धनले सरकार गठन गर्न सकेन। तेजस्वी यादव विपक्षी नेता बने।
सन् २०२२ अगस्ट १० मा महागठबन्धन (आरजेडी, कंग्रेस र अन्य विपक्षी दल) को सहकार्यमा फेरि अर्को सरकार बन्यो, जसमा तेजस्वी उपमुख्यमन्त्री नियुक्त भए भने नितिश कुमार मुख्यमन्त्री बने।
तर २०२४ मा नितिश कुमार महागठबन्धन छाडेर भाजपासँग मिल्न गए। यसले नितिश त मुख्यमन्त्री कायम रहे, तेजस्वीको उपमुख्यमन्त्री कार्यकाल भने समाप्त भयो।
सन् २०२५ को आसन्न निर्वाचनमा तेजस्वी फेरि मुख्यमन्त्रीको उम्मेदवारका रूपमा प्रतिस्पर्धा गर्न लागेका छन्। तर यस पटकको परिदृश्य फरक छ।
उनी एक अनुभवी विपक्षी नेताका रूपमा चुनावी मैदानमा प्रस्तुत हुँदै छन्। र, उनका प्रतिद्वन्द्वी उही नितिश कुमार छन्, जोसँग कुनै बेला उनको साझेदारी थियो।
तेजस्वी अहिले युवा मतदातामाझ लोकप्रिय छन्। उनले बेरोजगारी, भ्रष्टाचार र सामाजिक असमानता जस्ता विषयलाई चुनावी एजेन्डा बनाएका छन्। उनको 'रोजगार र न्याय' अभियानले पुरानो राजनीतिक ढाँचालाई चुनौती दिइरहेको छ।
उता नितिश कुमार भने भारतीय राजनीतिका पुराना नेता हुन्। उनी जनता दल (युनाइटेड) का संस्थापक सदस्य हुन् र लामो समयदेखि बिहारको सत्ता केन्द्रमा छन्।
नितिशले आफ्नो राजनीतिक जीवन कृषि, शिक्षा र विकासका मुद्दा अघि राखेर अघि बढाएका थिए। उनले बिहारको मुख्यमन्त्री पद नौ पटक सम्हालिसकेका छन्।
एनडिए गठबन्धनमा भाजपासहित जनता दल, लोक जनशक्ति पार्टी (राम विलास), राष्ट्रिय लोक मोर्चा र हिन्दुस्तानी आवाम मोर्चा सामेल छन्।
आसन्न निर्वाचनमा एनडिए गठबन्धनबाट भारतीय जनता पार्टी र जनता दल (युनाइटेड) दुवैले १०१ सिटमा उम्मेदवारी दिएका छन् भने लोक जनशक्ति पार्टी (राम विलास) ले २९, राष्ट्रिय लोक मोर्चाले ६ र हिन्दुस्तानी आवाम मोर्चाले ६ सिटमा उम्मेदवार उठाएको छ।
महागठबन्धन तर्फबाट तेजस्वी नेतृत्वको आरजेडीले १४३ सिटमा उम्मेदवार उठाएको छ भने कांग्रेसले ६१, भारतीय कम्युनिस्ट पार्टीले ९, कम्युनिस्ट पार्टी अफ इन्डिया (मार्क्सवादी) ले ४, कम्युनिस्ट पार्टी अफ इन्डिया (माले) ले २० र विकासशील इन्सान पार्टीले १५ सिटमा उम्मेदवार उठाएको छ।