आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले पहिलो जित निकालेको छ।
शनिबार थाइल्यान्डमा नेपालले बहराइनलाई ९ विकेटले पराजित गर्यो।
वर्षाका कारण ५ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको बहराइनले १ विकेटको क्षतिमा ४१ रन बनायो।
४२ रनको लक्ष्य नेपालले ४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि सम्झना खड्काले १० बलमा नटआउट १३ रन, कविता कुँवरले ११ बलमा ४ चौका प्रहार गर्दै १८ रन र इन्दू बर्माले ५ बलमा नटआउट ७ रन जोडिन्।
यसअघि शुक्रबार नेपाल र हङकङबीचको खेल वर्षका कारण रद्द भएको थियो।
छनोटमा नेपाल समूह 'सी' मा छ। यो समूहमा नेपाल र हङकङसँगै बहराइन छ।
फेरि नेपालले वैशाख ३० मा हङकङ र जेठ १ मा बहराइनसँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा प्रतिस्पर्धा गरेपछि समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्।
एसियाबाट दुई टोली पुग्ने विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।
नेपालले विश्वकप एसिया छनोटका लागि दिल्लीमा तयारी गरेको थियो। जहाँ नेपालले दिल्लीको टोलीसँग पाँच वटा अभ्यास खेलको थियो।