भारत र पाकिस्तानबीचको सीमा तनावका कारण प्रतियोगिता जारी राख्ने वा नराख्ने भन्ने निर्णय गर्न आइपिएल सरकारको निर्देशनको पर्खाइमा रहेको छ।
आइपिएल अध्यक्ष अरुण धुमलले अहिलेसम्म भने प्रतियोगिताका खेल निर्धारित तालिकाअुनसार हुने उनले बताए। उनले सरकारको निर्देशन कुरिरहेको पनि बताए।
‘हामी अहिले परिस्थितिको समिक्षा गरिरहेका छौं। यो विकसित हुँदै गएको अवस्था हो। हामीले सरकारबाट कुनै निर्देशन पाएका छैनौं। स्पष्ट रूपमा सबै कुरालाई ध्यानमा राखेर निर्णय लिइनेछ,’ धुमलले बिहीबार राति धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल १०.१ ओभर पछि रद्द भएपछि पीटीआईलाई भनेका छन्।
आइपिएलअन्तर्गत शुक्रबार लखनऊमा लखनऊ सुपर जायन्ट्स र रोयल च्यालेन्जर्स बेंगलुरुबीच हुँदैछ।
बिहीबार धर्मशालामा खेल रद्द भएपछि दुवै टोलीका खेलाडी र कर्मचारीहरूलाई धर्मशालाबाट लगभग ८५ किलोमिटर टाढा रहेको पठानकोटबाट विशेष रेलमार्फत दिल्ली लगिएको छ।
आइपिएल २०२५ मा हाल ५८ खेलहरू भइसकेको छ। समूह चरणमा खेल्न बाँकी १२ खेलहरू छन्। जसमध्ये लखनऊ (२), हैदराबाद, अहमदाबाद (३), दिल्ली, चेन्नई, बेंगलुरु (२), मुम्बई, जयपुरमा हुने तय छ। प्लेअफ हैदराबाद र कोलकातामा खेलिनेछन्।
यता पाकिस्तानमा सञ्चालन भइरहेको पाकिस्तान सुपर लिग (पिएसएल) भने सीमा तनावका कारण युएईमाा सारिएको छ। यो सिजन पिएसएलका आठ खेल बाँकी छन्।
बिहीबार कराँची किंग्स र पेशावर जाल्मीले रावलपिंडीमा खेल खेल्ने तय थियो। तर जुन आपतकालीन बैठकपछि यो खेल स्थगित गरिएको थियो।
पिएसएलमा आबद्ध विदेशी खेलाडीहरू पाकिस्तानबाट युएई गएका छन्। युएईमा सारिए पनि कुन स्थानमा पिएसएलका बाँकी खेल हुने विषयमा भनिएको छैन।
पिएसएलका चार खेल रावलपिंडीमा, एक मुल्तानमा र अन्तिम तीन लाहोरमा हुने तय थियो।