दक्षिण अफ्रिकी तीव्र गतिका बलर कागिसो रबाडा ‘रिक्रिएसनल ड्रग्स’ प्रयोग गरेको कारण निलम्बनमा परेको खुलेको छ।
यो कुरा स्वीकार गर्दै रबाडा आइपिएल २०२५ बाट व्यक्तिगत कारणले दक्षिण अफ्रिका फर्किएको बताएका थिए।
रबाडाले आइपिएल २०२५ मा गुजरात टाइटन्सका लागि दुई खेल खेलेका थिए भने दुई विकेट लिएका थिए।
जनवरी-फेब्रुअरीमा भएको एसए-२० लिगको दौरान उनले एमआई केप टाउनको प्रतिनिधित्व गरेका थिए। त्यहिँ क्रममा उनले उक्त ड्रग्स सेवन गरेको बताइएको छ।
क्रिकइन्फोका अनुसार रबाडाले ‘रिक्रिएसनल ड्रग्स’ प्रयोग गरेको पुष्टि भएको छ। उनले मार्च २९ पछि कुनै पनि खेल खेलेका छैनन्। उनको निलम्बनको अवधि स्पष्ट नभए पनि उनी हाल भारत फर्किएका छन् र चाँडै मैदानमा फर्कने अपेक्षा गरिएको छ।
दक्षिण अफ्रिकी क्रिकेटरको संघमार्फत जारी गरिएको वक्तव्यमा रबाडाले आफ्नो गल्तीको लागि माफी मागेका छन्। 'मैले हालै व्यक्तिगत कारणले आइपिएल छोडेर दक्षिण अफ्रिका फर्किएको थिएँ,' रबाडाले भने, 'यो मेरो ‘रिक्रिएसनल ड्रग्स’ प्रयोगको कारणले भएको थियो। यो गल्तीले धेरैलाई निराश बनाएकोमा दुखी छु। म क्रिकेट खेल्ने अवसरलाई कहिल्यै हल्का रूपमा लिने छैन।'
रबाडाले क्रिकेट दक्षिण अफ्रिका, गुजरात टाइटन्स, र आफ्ना परिवारजन तथा साथीलाई समर्थनको लागि धन्यवाद छन्।