केन्यालाई हराउँदै नामिबिया दोस्रो स्थानमा उक्लियो, भोलि नेपालले क्यानडालाई हराउनैपर्ने दबाब


केन्यामाथि ८ विकेटको रवाफिलो जित हात पार्दै घरेलु टोली नामिबिया आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु को दोस्रो स्थानमा उक्लिएको छ।

मंगलबार केन्याले दिएको १११ रनको लक्ष्य  नामिबियाले १६ ओभरमा २ विकेट गुमाउँदै पुरा गर्‍यो। जितसँगै ४ खेलबाट ६ अंक बटुलेको नामिबिया नेपाललाई रनरेटमा पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो।

अन्तिम खेल बाँकी हुँदा क्यानडा, नामिबिया र नेपालको समान ६-६ अंक छ। तर, रनरेटमा क्यानडा शीर्षा स्थानमा छ भने नेपाल तेस्रो स्थानमा झरेको छ।

अब नेपालले भोलि शीर्ष स्थानको क्यानडासँग खेल्दैछ। नामिबियाले चौथो स्थानको युएईसँग खेल्नेछ। यदि नेपालले शीर्ष दुईमा रहिरहने हो भने बुधबार क्यानडालाई हराउँनैपर्छ। वान डे विश्वकप कप क्वालिफायरमा स्थान बनाउनका लागि भोलिको खेल नेपालका लागि गर या मरको स्थितिमा रहनेछ। हारले नेपालको यात्रा डिभिजन टू मै यथावत रहने छ भने जितले विश्वकप छनोटसहित डिभिजन १ मा बढुवा हुनेछ।

यदि नेपाल क्यानडासँग पराजित भएमा युएईले नामिबियालाई हराउनुपर्नेछ र यस्तो अवस्थामा नेपाल, युएई र नामिबियाको समान ६ अंक हुनेछ अनि राम्रो रनरेट हुने शीर्ष दुई टिम छानिनेछन्।

अहिले नेपालको रनरेट अन्य टिमको भन्दा कम भएकाले नेपालले क्यानडालाई अन्तिम लिग खेलमा हराउनैपर्ने दबाब बढेको छ।

डिभिजन टु को शीर्ष दुई स्थानमा रहने टोली विश्वकप कप क्वालिफायरमा छनोट हुनेछ भने तेस्रो र चौथो स्थानमा रहने टोली डिभिजन टुमै यथावत रहनेछन्। पाँचौ र छैठौं स्थानमा रहने टोली डिभिजन तीनमा घटुवा हुनेछन्।

लगातार चार हारपछि अंकविहिन रहेको केन्या डिभिजन थ्री मा घटुवा भइसकेको छ। अब अन्तिम खेलमा नामिबियाले युएईलाई ठूलो अन्तरमा हराउने र ओमानले पनि केन्यालाई ठूलो अन्तरमा पराजित गर्न सके ओमान डिभिजन टू मै रहनेछ अन्यथा डिभिजन थ्री मा झर्नेछ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.