मनसुनी वर्षाले विद्युत उत्पादन बढ्ने र त्यसपछि सेवा प्रवाहमा सुधार आउने नेपाल विद्युत प्राधिकरणको प्रतिबद्धता पूरा नभएको भन्दै सुनसरी मोरङ औद्योगिक करिडोरका उद्योगीहरूले सेवा सुधारको माग गरेका छन्।
बर्खा सुरू भएलगत्तै देखि ‘ट्रिपिङ’ ले दुःख दिएको भन्दै पूर्वका उद्योगीहरूले सेवा सुधारको माग गरेका हुन्।
यसपटक अरू बेलाभन्दा सरदर १५ दिन अघि नै जेठ १५ मा नेपालमा मनसुन भित्रियो। नियमित अन्तरमा मुलुकभर सामान्यदेखि भारी वर्षा भइरहेको छ।
विद्युत उत्पादन बढेको भनिएको यहीबेला झ्याप्प–झ्याप्प बिजुली जाने समस्यो बढेको उद्योगीहरूको गुनासो छ। प्राविधिक भाषामा ‘विद्युत ट्रिपिङ’ भनिने यो समस्याले आफूहरूले सास्ती सहनु परेको उद्योगीहरूको भनाइ छ।
पूर्वसूचनाबिना नै यसरी घरीघरी विद्युत सेवा अवरूद्ध हुँदा उद्योगहरूमा एकैपटक ठूलो क्षति हुने उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठी बताउँछन्।
अर्का उद्योगी प्रकाश मुन्दडाका अनुसार लोडसेडिङ हुँदा र ट्रिपिङ हुँदाको क्षति उद्योगहरूमा समान हुन थालेको छ।
‘उद्योगहरूमा विद्युत आपूर्ति अनियमित हुनु भनेको ठूलो क्षतिको विषय हुन्छ,’ मुन्दडाले भने, ‘मेसिनले आफ्नो काम एउटा गतिमा गरिरहेको हुन्छ। तर, काम चलिरहेकै बेला झ्याप्प–झ्याप्प बिजुली जान्छ। यस्तो हुँदा प्लाष्टिक उद्योगहरूले व्यहोर्ने क्षति अकल्पनीय छ। प्लाष्टिक उद्योगले मेसिनबाट हात्ती बनाउन खोजेको छ भने बिजुली काटिँदा त्यो गधा बनेर निस्कन्छ। यस्तो अवस्था आए के हुन्छ? ट्रिपिङले दिने सास्ती ठूलो छ।’
सुनसरी मोरङ औद्योगिक करिडोरमा साना–ठूला गरी पाँच सयभन्दा धेरै उद्योगधन्दा सञ्चालित छन्।
स्पिनिङ, आइरन, खाद्यान्न, प्लाष्टिक, वायर, साबुन, घिउ, दहलन, तेलहन, जुट, कपडा लगायतका धेरैथरी उद्योगहरू रहेको औद्योगिक करिडोरमा विद्युत आपूर्तिको अनियमितताले समस्या भएको उद्योगी बताउँछन्।
‘एकातिर नेपालमा उत्पादन हुने विद्युत भारत तथा बंगलादेश निर्यात गर्ने भनी प्राधिकरणले भनिरहँदा अर्कातिर स्वदेशी उद्योग व्यवसाय ट्रिपिङका कारण लामो समयसम्म हुने विद्युत कटौतीको मार खेप्न बाध्य छन्,’ उद्योग संगठन मोरङका अध्यक्ष राठीले भने, ‘दैनिक निरन्तर भइरहने ट्रिपिङले उद्योगको मिल मेसिनेरी बिग्रेको छ। उत्पादनको क्रममा रहेको कच्चा पदार्थ खेर गएको छ। श्रमिकको काम नभई त्यसै राख्नु परेको छ।’
उनका अनुसार जेनेरेटर सञ्चालन गर्नुपर्दा उत्पादन लागत वृद्धि भएको र उद्योगी व्यवसायीको गुनासो सम्वन्धित निकायलाई बारम्बार सुनाउँदा समेत समस्या समाधानमा ठोस पहल नभएको उनको गुनासो छ।
सुख्खायामा विद्युतको अभाव र वर्षायाममा ट्रिपिङको मारले गर्दा उद्योगले ठूलो आर्थिक नोक्सानी व्यर्होर्नु परिरहेको भन्दै विद्युत आपूर्तिमा देखिने समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न विद्युत प्राधिकरणलाई उनले आग्रह गरेका छन्।
नेपाल विद्युत प्राधिकरण भने प्राविधिक समस्याले कहिलेकाहीँ सेवा अवरूद्ध हुने गरेको बताउँछ।
प्राधिकरण विराटनगरका प्रमुख सरोज कुमारले शनिबारका लागि मर्मत सम्भार चल्ने र त्यसका लागि पूर्व सूचना गरिएको बताउँछन्।
कहिलेकाहीँ अधिक वर्षा वा हावाहुरीले विद्युत लाइनमा समस्या ल्याउने र त्यसेबला मर्मत गर्नुपर्ने भन्दै उनले प्राविधिक समस्याबाहेक अरू बेला सेवा नियमित रहेको दाबी गरेका छन्।