नोबेल जिताउने ‘जैविक घडी’ जसले हाम्रो निद्रा, स्वभाव र यौन व्यवहार निर्धारण गर्छ

तस्बिरः लाइफह्याकर डट कम


घडी वैज्ञानिक यन्त्र हो? कि, हाम्रो जैविक अंग?

तपाईंलाई लाग्ला, यो कस्तो प्रश्न हो!

हामीले नाडीमा बाँधेर हिँड्ने वा भित्तामा झुन्ड्याउने घडी, जसले हामीलाई प्राकृतिक समयसँग डोरिन सघाउँछ, त्यो त निश्चित रूपमा वैज्ञानिक यन्त्र हो, डच वैज्ञानिक क्रिश्चियना ह्युगिन्सले १७ औं शताब्दीमा आविष्कार गरेको।

यस वर्ष चिकित्साशास्त्रतर्फ नोबेल पुरस्कार पाउने तीन वैज्ञानिकले भने यस्तो घडीबारे शोध गरेका छन्, जुन हाम्रो शरीरभित्र हुन्छ।

कहाँ हुन्छ त त्यो ‘जैविक’ घडी हाम्रो शरीरमा? के कुनै एक्सरे मेसिनले मुटु, कलेजो र फोक्सोजस्तै त्यसको स्वरुप उतार्न सक्छ? के हामी त्यसलाई छाम्न सक्छौं? त्यो हुनुको अनुभूति लिन सक्छौं?

नोबेल विजेतात्रय जेफ्री सी हल, माइकल रसब्यास र माइकल डब्लू यङले चर्चा गरेको त्यो ‘जैविक’ घडी खासमा हाम्रो शरीरभित्र हुन्छ पनि, र हुँदैन पनि।

हुन्छ यस कारण, किनकि हाम्रो जीवन पूर्ण रूपमा त्यही घडीले निर्देशित गर्छ। हाम्रो सम्पूर्ण क्रियाकलाप त्यही घडीको सुईअनुसार घुम्छ।

र, हुँदैन यस कारण, किनकि त्यो जैविक घडी न हामी नांगो आँखाले देख्न सक्छौं न त कुनै एक्सरे मेसिनले त्यसको स्वरुप प्रिन्ट गर्न सक्छ।

नोबेल विजेता वैज्ञानिकहरूले आफ्नो शोधमा चर्चा गरेको घडी वास्तवमा जैविक प्रक्रिया हो, जसले हाम्रो शरीरलाई निश्चित समयक्रममा बाँधेर राख्छ। जसरी घाम झुल्कनु, टन्टलापुर चर्किनु र बेलुकी शितलसँग अस्ताउनु प्राकृतिक समयक्रम हो, हाम्रो शरीरलाई त्यस्तै एउटा जैविक समयक्रमले निश्चित गतिमा घुमाइराख्छ। वैज्ञानिकहरूले यही प्रक्रियालाई ‘सरकाडियन रिदम’ भनेका छन्।

यो जैविक समयक्रम बुझ्न सबभन्दा पहिला हामीले आफैंलाई नियाल्नुपर्छ। अनि हामीले थाहा पाउनेछौं- हामीलाई लाग्ने निद्रा, रोग र हाम्रो यौन व्यवहार यो घडीले निर्धारण गर्छ।

तस्बिरः न्यू एटलास डट कम

सुरुआत हाम्रो निद्राबाट गरौं।

निद्राले आँखा झप्झपाउनु र केही घन्टाको सुताइपछि शरीर तंग्रिनु नियमित प्रक्रिया हो। सबै मान्छेको सुताइ एकनास हुँदैन। कोही बिहान चाँडै उठ्ने स्वभावको हुन्छ, कोही जति कोशिस गर्दा पनि सबेरै उठ्न सक्दैन। कोही राति दस बज्दा–नबज्दै आँखा झुपुझुपु बटारिएर झुल्न थाल्छ, कोही मध्यरातसम्म जाँगरिलो र फुर्तिलो रहन्छ। कसैले एकाध दिन आफूलाई बदल्न त सक्ला, तर केही समयपछि नियमित चक्र फर्किहाल्छ।

मान्छेको यो फरक–फरक सुताइ निर्देशित गर्ने त्यही ‘सरकाडियन रिदम’ ले हो– हाम्रो शरीरभित्र हुने अदृश्य जैविक घडीले।

यो जैविक घडीको समयचक्र पृथ्वीको झैं २४ घन्टाकै हुन्छ, जसले यो अवधिभर हाम्रो शरीरमा हुने हरेक प्रक्रिया निर्धारण गर्छ। मान्छे मात्र होइन, बोटविरूवा, जनावरदेखि लेउ, च्याउसम्मलाई २४ घन्टाको निश्चित समयक्रममा बाँधेर राख्ने यही जैविक घडीले नै हो।

घामको प्रकाश र तापक्रमका आधारमा चलायमान हुने यो प्रक्रियाले खासमा पृथ्वीको घडीसँग हाम्रो शरीरको सन्तुलन कायम राख्न मद्दत गर्छ। मस्तिष्कको गतिविधि, हर्मोन उत्पादन र कोष निर्माण यही प्रक्रियासँग जोडिएका हुन्छन्। हाम्रो रक्तचाप, मुटुको धड्कन, शारीरिक सामर्थ्यका साथै खाने, पिउने, सुत्नेदेखि यौन व्यवहारसम्म यसैले तय गर्छ।

नोबेल विजेता वैज्ञानिकहरूले यो जैविक घडीलाई हाम्रो विभिन्न शारीरिक आनीबानीसँग छुट्टाछुट्टै व्याख्या गरेका छन्ः

निद्रा

निद्राका आधारमा मान्छेको जैविक घडी तीन किसिमले चल्छ।

पहिलो, कोही मान्छे बिहान चाँडो उठ्छ र दिनभर जाँगरिलो–फुर्तिलो रहन्छ, भँगेराभन्दा अलि ठूलो जातको ‘लार्क’ चराजस्तो, जसलाई नेपालीमा ‘भारद्वाज’ भनिन्छ।

दोस्रो, जो बिहान चाँडो उठ्न सक्दैन र साँझदेखि राति अबेरसम्म सक्रिय रहन सक्छ, उल्लूजस्तो।

तेस्रो खालका मान्छे पनि हुन्छन्, जसको निद्रा सामान्य हुन्छ। उनीहरूको स्वभाव भारद्वाज र उल्लू दुवैको बीचमा पर्छ।

बेलायतका निद्रा विशेषज्ञ जीम होर्नका अनुसार प्रत्येक ६ जनामा एक–एक जना भारद्वाज र उल्लू स्वभावका हुन्छन् भने बाँकी ४ जना यी दुवैको छेउछाउ पर्छन्।

मान्छेको यो गुण उसको जैविक समयचक्रसँग त जोडिएको हुन्छ, तर यो चक्रमा विभेद किन? किन फरक–फरक मान्छेको जैविक समयचक्र अलग हुन्छ?

मान्छेको जैविक समयचक्र ऊ जन्मिएको समयसँग सम्बन्धित हुने वैज्ञानिक शोधले देखाएको छ। अमेरिकामा गरिएको एक अनुसन्धानअनुसार बिहान जन्मिएका विद्यार्थीले बिहान लिइएको ‘आइक्यू’ परीक्षामा राम्रो नतिजा ल्याएका थिए भने दिउँसो वा साँझ जन्मेकाले दिउँसो राम्रो गरेका थिए।

यसै आधारमा वैज्ञानिकहरू भन्छन्, ‘शिशुको शरीरमा जुनबेला बाहिरी संसारको उज्यालो पर्छ, त्यहीबेला उसको शरीरको घडी तय हुन्छ।’

मान्छेलाई भारद्वाज, उल्लू वा सामान्य बनाउने यसैले हो।

तस्बिरः डेलिमेल डट कम

हृदयघात र मधुमेह

निद्रा मात्र होइन, हामीलाई लाग्ने कतिपय रोग जैविक घडीसँगै सम्बन्धित हुन्छन्। खासगरी हृदयघात र मधुमेहसँग जैविक घडीको निकट सम्बन्ध रहेको वैज्ञानिकहरूले बताएका छन्।

उनीहरूका अनुसार करिब ५० प्रतिशत मान्छेलाई बिहान ६ देखि मध्याह्न १२ बजेको बीचमा हृदयघात हुन्छ। रात छोटो हुने समयमा निद्रा नपुग्ने हुँदा यो सम्भावना अझ धेरै हुन्छ।

यसको कारण के त?

निदाएपछि हाम्रो मुटुको चाल कम हुँदै जान्छ। त्यति बेला हाम्रो शरीरलाई धेरै रक्तसञ्चारको आवश्यकता पर्दैन। दिउँसो सामान्य अवस्थामा हाम्रो मुटु प्रतिमिनेट ७५ पटक धड्कन्छ भने राति निदाउँदा करिब ४५ पटक मात्र ढुकढुक गर्छ।

सुतिरहँदा कम भएको मुटुको चाल बिहान उठ्नुअघि बढ्न थाल्छ। यहाँनिर मस्तिष्कमा रहेको एउटा सानो अंग (सुप्राचियास्माटिक न्युक्लियस) ले काम गर्छ। मस्तिष्कको उक्त अंगले मिर्गौलाभन्दा माथिको ‘एड्रेनल ग्ल्यान्ड’ लाई हामी उठ्नुअघि नै निद्रा पुग्न लागेको सन्देश पठाउँछ। यो सन्देश प्राप्त भएपछि एड्रेनल ग्ल्यान्डले शरीरलाई ऊर्जा दिने हर्मोन ‘कोर्सिटोल’ उत्पादन गर्छ, जसले मुटुको चाल बढाउँछ। यसले रातभर शान्त शरीरमा एक्कासि रक्तचाप बढाउने र हृदयघातको सम्भावना हुने वैज्ञानिकहरूको भनाइ छ।

त्यही भएर आफ्नो नियमित निद्राचक्र बिगार्ने वा समय नमिलाएर कम सुत्नेहरूलाई हृदयघातको जोखिम बढ्छ भनी वैज्ञानिकहरूले भनेका हुन्।

बाथ र सर्रे विश्वविद्यालयका अनुसन्धानकर्ताले मधुमेहसँग पनि जैविक घडीको प्रत्यक्ष सम्बन्ध रहेको दाबी गरेका छन्। उनीहरूका अनुसार जैविक घडीका आधारमा शरीर चलेको छैन र मान्छे आवश्यकताभन्दा कम सुतेको छ भने मधुमेहको सम्भावना बढी हुन्छ।

स्वभाव

कुनै पनि मान्छेको स्वभाव (मुड) सधैं एकनास रहँदैन। कोही बेला ऊ सानो कुरामा खुसी हुन्छ, कोही बेला बिनासित्ति रिसाइरहन्छ। झट्ट हेर्दा बाह्य प्रभावले मान्छेको व्यवहारमा असर परेको देखिनसक्छ, तर केही न केही कारण जैविक घडीको पनि हुने वैज्ञानिकहरूले औंल्याएका छन्।

हाम्रो हर्मोन स्तर, शरीरको तापक्रम, मेटाबोलिजम र मुडमा हरेक दिन परिवर्तन भइरहेको हुन्छ। कहिलेकाहीँ शरीरमा भएका यस्ता परिवर्तन हामीलाई हेक्कै हुँदैन। थाहै नपाई हाम्रो शरीर र हामीले गर्ने व्यवहारमा बद्लाव आइसकेको हुन्छ। यी सबै हाम्रो जैविक घडीकै परिवर्तनले हो, जसले कुनै न कुनै रूपमा हाम्रो मुडलाई असर पार्छ।

जस्तो, जैविक घडीसँग दैनिक क्रियाकलापको समय मिलेको छैन भने मान्छेको स्वभाव असहज देखिनसक्छ। बिहान ढिलासम्म सुत्नुपर्ने मान्छे सबेरै उठेर कतै जानुपरे त्यो दिनभरि उसको जैविक घडी असामान्य भइदिन्छ। यसले उसको व्यवहारमा चिड्चिडाहट देखिनसक्छ। छिटो सुत्नुपर्ने मान्छेले राति अबेरसम्म काम गर्नुपर्दा पनि उसको शरीरमा यस्तै बद्लाव ल्याउनसक्छ।

शरीरको समयअनुसार हामीले खानपान र निद्रा मिलाउनुपर्छ भनेर वैज्ञानिकहरूले भनेको त्यही भएर हो।

तस्बिरः प्रिभेन्सन डट कम

यौन व्यवहार

‘सरकाडियन रिदम’ को सम्बन्ध मान्छेको यौन व्यवहारसँग पनि हुन्छ। महिला र पुरूषमा यौन सम्पर्क गर्ने चाहना फरक–फरक समयमा देखिनुले यो सम्बन्ध पुष्टि गर्छ।

फ्रान्सेली अनुसन्धानकर्ताहरूले धेरै समयअघि पुरूषको यौन हर्मोन (टेस्टोस्टेरेन) साँझ र बिहान सबभन्दा बढी सक्रिय र उच्च स्तरमा रहेको पत्ता लगाएका थिए। दिउँसो १२–१ बजेको समय पनि यो हर्मोन केही मात्रामा सक्रिय हुन्छ।

महिलाको यौन हर्मोन (ओस्ट्रोजन) भने बिहान सबभन्दा कम सक्रिय हुन्छ। दिन बित्दै जाँदा यसको स्तर विस्तारै बढ्दै जान्छ र राति १० बजेतिर सबभन्दा उच्च तहमा पुग्छ। त्यही भएर महिलामा बिहान र दिउँसो यौन सम्पर्कको चाहना तुलनात्मक कम हुन्छ भने राति बढी। जबकि, पुरुषहरू बिहान, बेलुकी र दिउँसोसमेत यौन सम्पर्कका लागि तयार रहन्छन्। र, यही गुणले जैविक घडी फरक परे पनि महिला र पुरुषको यौन चाहना सन्तुलनमा राख्छ।

वैज्ञानिकहरूका अनुसार पुरूषको यौन हर्मोन चौबीस घन्टामा कुनै पनि समय निश्चित स्तरभन्दा तल विरलै जान्छ। यसले उनीहरू सक्रिय भइरहन सक्छन् र आफ्नो महिला साथीको यौन हर्मोन बढेको समयसँग आफ्नो जैविक घडी मिलाउन सक्छन्।

खानपिन

खानपिन, निदाउने समय र मोटोपनाबीच वैज्ञानिकहरूले जुन सम्बन्ध पत्ता लगाएका छन्, त्यसलाई निर्धारण गर्ने पनि जैविक घडीले नै हो।

राति सुत्नुभन्दा केही समयअघि मात्र खाने मान्छेमा मोटोपना र पेट लाग्ने सम्भावना धेरै हुन्छ। त्यही भएर सुत्नुभन्दा कम्तिमा तीन घन्टाअघि नै खान उनीहरूले सुझाएका छन्। सुत्नु एक घन्टाअघि मात्र खाने मान्छेमा निद्रा हर्मोन (मेलाटोनिन) चाँडो उत्पादन हुने उनीहरूको भनाइ छ।

यहाँनिर जैविक घडीले कसरी काम गर्छ?

हाम्रो शरीर निद्राको चरणमा प्रवेश गरेपछि पाचन प्रक्रिया प्रभावकारी हुँदैन। राम्ररी नपचेको खाना बोसोका रूपमा जम्दै जान्छ र मोटोपना बढ्छ। त्यही भएर मान्छेको खानपिन र सुताइ दुवै जैविक घडीअनुसार हुनुपर्ने वैज्ञानिक बताउँछन्।

‘हाम्रो शरीरका सबै क्रियाकलाप जैविक घडीकै आधारमा तय हुन्छ,’ नोबेल विजेता तीन वैज्ञानिकमध्ये रसब्यास भन्छन्, ‘हामीले यो घडीको चाल बुझ्नुपर्छ र यसको इसारालाई सम्मान गर्नुपर्छ।’

जैविक घडीको गडबडीले कस्तो बिगार गर्छ भनी बुझ्ने सरल उदाहरण ‘जेट ल्याग’ हो। हामी जहाज चढेर कुनै एउटा देशबाट अर्कोमा जाँदा शरीर थाकेको महशुस गर्छौं। धेरैको निद्रा बिग्रन्छ। यसको कारण अरू केही होइन, पृथ्वीको समयचक्रसँग हाम्रो जैविक घडी नमिल्नु हो। हामी जुन देशमा बस्छौं, हाम्रो जैविक घडी त्यही देशको समयअनुसार चल्छ। जबकि, अर्को देशमा जाँदा हामी अर्कै समयचक्रमा पुग्छौं। हाम्रो जैविक घडीलाई त्यो समयचक्र पछ्याउन बेर लाग्छ।

‘जैविक घडीको संकेत नटेरी वा बाध्यतावश जुन पायो त्यही समयमा खाने, सुत्ने बानीले हाम्रो स्वास्थ्य जोखिम बढाउँछ,’ रसब्यासले भने।

(विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा आधारित)

यो पनि पढ्नुहोस्ः

आफ्ना लागि दैनिक १० मिनेट पनि नदिने?

Share:

प्रतिकृया दिनुहोस

© 2017 Setopati Sanchar Pvt. Ltd.