दसैंघर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज शनिबार मान्यजनबाट लगाइएको छ। टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चांग निर्णायक विकास समितिले बिहान ११ः३६ बजेको साइत उत्तम रहेको बताएको थियो।
घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट विधिपूर्वक अभिषेक गरी विजयादशमीको टीका लगाइन्छ।
आश्विन शुक्ल दशमीका दिन मनाइने विजयादशमी पर्व आज हर्षोल्लासका साथ मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा थापेर मनाइन्छ। आज नभ्याउनेले कोजाग्रत पूर्णिमाका अवसरमा अखिल बलि पूर्ति नभएसम्म मान्यजनबाट टीका ग्रहण गर्न सक्नेछन्।
घटस्थापनाका दिन विधिपूर्वक राखिएको पहेँलो जमरालाई समृद्धिको प्रतीक मानिन्छ। जमराले विभिन्न रोगव्याधिमा औषधिको काम गर्ने तथ्य वैज्ञानिक रूपमा पुष्टि भइसकेको छ।